13th December | 2018 | Thursday | 11:37:35 AM

मेलम्चीबाट सिकौं

  POSTED ON : Thursday, 12 April, 2018 (8:46:59 PM)

लामो प्रतिक्षापछि मेलम्ची खानेपानी आयोजनाले आफ्नो कार्य अन्तिम चरणमा पु¥याएको छ । मेलम्चीको  सुरुङ निर्माण कार्य सम्पन्न भएकाले अब चाहिँ पानी आउँछ कि भन्ने आशा राजधानीबासीले लिएका छन् ।

सन् २००८ देखि नै यसको सुरुङ मार्ग निर्माणको कार्य थालिएकोमा बीचमा अनेकथरी विवादका कारण रोकिँदै र बन्दै आएको छ । त्यसैले यो आयोजना कतै गाउँ खाने कथाजस्तो मात्रै त हुँदैन भन्ने खालका आशंका  सर्वसाधारणमा थियो । यद्यपि अहिले भने सुरुङको कामनै सकिएकाले केही आशा पलाएको छ । 

अबको दशैंअघि मेलम्चीको पानी आउने राजधानीबासीले आशा गरेका छन् । हुन त अघिल्लो दशैं अघिनै मेलम्ची आउने भनेर त्यतिबेलाका मन्त्रीले नभनेका होइनन् । तर, उनका बाचा त्यतिबेला पूरा हुन सकेनन् । त्यसैले अझैपनि जनतामा शंका भने बाँकी छ ।

मेलम्चीको कुरा गर्दा सरकारले आगामी दिनमा यस्ता आयोजना सम्पन्न गर्दा अपनाउनुपर्ने पूर्वाधारका बारेमा पनि आवश्यक रणनीति बनाउन जरुरी हुन्छ । किनकि यस्ता आयोजनामा कहिले भेरिएसनको नाममा  हुने अनियमितता त कहिले मुआब्जा वितरणको नाममा हुने राजनीतिले अप्ठ्यारो पार्ने गरेको छ । त्यसमाथि दाताहरूका अनेकथरी शर्तका छुट्टै कथा हुने गरेका छन् । ती बाधा व्यवधानका बारेमा पहिचान नगरी र तिनलाई सम्बोधन नगरी यस्ता आयोजना अघि बढाइए फेरि पनि उस्तै खालका गाइजात्रा देखिने निश्चित छ, जुन मेलम्चीको ढिलाइमा कारक रहेका थिए । 

सन् २००८ मा मेलम्चीको सुरुङ बनाउने काम सुरु गरिए तापनि कागजी काम त्योभन्दा केही दशकनै सुरु भएको हो । तर, कार्यान्वयन सम्पन्न गर्न यति लामो समय लागेको छ । अझ त्यतिबेला राजधानीबासीलाई जति पानी चाहिने अपेक्षा गरिएको थियो अहिले जनसंख्याको वृद्धिले गर्दा मेलम्ची आएर पनि अर्को आयोजना ल्याउनुपर्ने अवस्था सिर्जना भइसकेको छ । त्यसका लागि आवश्यक तयारी गरिएको भएपनि आवश्यक परिपक्वता र सोही अनुरुपका नीति नियम अहिलेको आवश्यकता हो । 

मुलुकमा राजनीतिक मुद्दाको लगभग टुंगो लागेर  अहिले समृद्धिको चरणमा प्रवेश गरेको छ । यस्ता आयोजनाहरू देशैभरी सञ्चालन गर्नुपर्ने आवश्यकता छ । यस्ता आयोजनामा खानेपानी मात्रै होइन विद्युत्, सडक, रेलमार्गदेखि जलमार्गसम्मका कुरा हुन सक्छन् । तर, तिनलाई निर्धारित समयमा सम्पन्न गर्नका लागि आवश्यक तयारी गर्दै विगतमा भएका त्रुटि र कमीकमजोरीबाट सिकेर अघि बढ््न जरुरी रहेको छ । त्यसतर्फ सरकारी तहबाट हेक्का राखिनु पर्दछ ।

मेलम्ची आउन लागेकामा अहिले सरकारमा रहेका नेताहरूमा जस लिने होडबाजीजस्तो देखिएको छ । तर, यसलाई सम्पन्न गर्न धेरै थरीको योगदान रहेको कुरालाई बिर्सन मिल्दैन । 

त्यसैले, यस्ता होडबाजीतिर बढी समय खर्चनुभन्दा आगामी दिनमा चुस्त तुरुस्त रूपमा यस्ता खालका ठूला आयोजना सम्पन्न गर्नतर्फ सोचौं र सोही अनुसारका नीति निर्माण गर्नतर्फ ध्यान दिऔं । यस खालका राष्ट्रिय गौरवका थप  आयोजनाहरू तोकिएको समयमा सक्नेगरी कार्यतालिका निर्माण गरौं । मेलम्चीमा भएको ढिलाइबाट सिकौं । 


Views: 16

सम्बन्धित सामग्री:

प्रदेश परिषद् बैठक

: Tuesday, 11 December, 2018 (2:07:22 PM)

विद्रोही बहिष्कार

: Monday, 10 December, 2018 (2:29:51 PM)

वहसको निम्तो पो !

: Sunday, 09 December, 2018 (6:03:58 PM)