22nd July | 2018 | Sunday | 2:49:34 AM

जनताका मुद्दा ओझेलमा नपार

  POSTED ON : Tuesday, 17 April, 2018 (1:52:53 PM)

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच यही वैशाख ९ गते हुने भनिएको पार्टी एकता अझै पनि निश्चित भइसकेको छैन । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सोमबारको एकान्त वार्तापछि दुई पार्टीबीचको एकताले मूर्तरूप लिने आँकलन भने गरिएको छ । तथापि आज मंगलबार बस्ने बैठकले त्यसको निक्र्यौल गर्ने सम्बद्ध नेताहरूले बताएका छन् । 

दुई पार्टीले एकता गरेर मुलुकलाई स्थिरता दिने भनेर विगतको संघीय चुनावमा मत मागेका थिए । तर, अहिले भने कहिले कुन नेता रिसोर्टतिर हिँडेका, कुन नेता रिसाएकाजस्ता खबर दैनिक आइरहेका छन् । यस्तो हुनु भनेको ती दलले निर्वाचनका बेलामा व्यक्त गरेका प्रतिबद्धतामाथि हिलो छ्याप्नु हो । 

मुलुकले अहिले स्थिरता र विकास खोजेको छ । त्यसका लागि आवश्यक कार्यक्रम बनाएर मुलुक अघि बढी सक्नुपर्नेमा प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको करीब दुई महिनाको समय मातहतका निकायलाई निर्देशन दिँदैमा बितेको छ । 

काठमाडौंको धूलो उस्तै छ, अन्यत्रका त कुरै छोडौं राजधानीका नदीनाला र पोखरीहरूको हालत झन् नाजुक छ । तिनको सफाई गर्नेतिर कागजीबाहेक अरू काम भएका छैनन् । 

कर्मचारीतन्त्रमा बेथितिले जरो गाडेको छ । सरकारले अहिलेसम्म कसरी के गर्ने भनेर कार्यक्रम बनाएर अघि बढी सक्नुपथ्र्यो तर त्यो पाइएन । हुन त दुई महिनाको समय लामो होइन । सय दिनसम्म नयाँ सरकारलाई ‘हनिमुन’ को समय दिने चलन पनि छ । तथापि जनताले विगतमा अस्थिर सरकार हुँदाभन्दा अहिले स्थिर सरकार हुँदा के चाहिँ सुख सुविधा पाए त भनेर औँलाले गन्दा अहिलेसम्म केही भेटिने अवस्था बनेको छैन । 

यसले गर्दा सत्तारुढ दलहरूको एकताका बारेमा अनावश्यक रूपमा हौवा फैलाएर ती दलले कतै जनताको ध्यान विकेन्द्रीत गर्न खोजेका त होइनन् भन्ने आशंका जनस्तरमा उठ्न थालेको छ । यस्तो अवस्था आउनुु राम्रो होइन ।दलहरूबीच एकता हुनु राम्रो हो तर मिल्नै नसक्ने अवस्था हो भने पनि धोखाधडी नगरी जनस्तरमा यो–यो कारणले मिल्न सकिएन भनेर भन्न जरुरी रहेको छ । देशलाई भ्रममा पारेर मुलुकको विकास र समृद्धिका कार्यलाई ओझेलमा पार्न पाइँदैन । यतातर्फ सम्बद्ध दलहरूले बेलैमा विचार पु¥याउन जरुरी हुन्छ ।

एकताका बारेमा दुई दलका कार्यदललाई कति दिन लाग्छ त्यति दिन समय दिएर आन्तरिक कुरा मिलाऊन् । नमिल्ने हो भने यो कारणले नमिल्ने भनेर भनून् । तर, मुलुकको अति महŒवपूर्ण समय उनीहरूको हौवाका पछाडि नलगाइयोस् । 

नेताहरूले पार्टीगत झगडाभन्दा पनि एकमात्र लक्ष्य विकास र समृद्धिलाई बनाएर सोही अनुसारको मन्तव्य दिने गरौं । अहिले त कस्तो देखिएको छ भने सत्ता गठबन्धनका नेताहरू मुलुकमा अरू केही कामनै नभएजस्तो गरेर ‘कोही वैशाख ९ गते एकता हुन्छ’ भन्दै हिँडेका छन् भने अर्काथरी ‘अझै भन्न सकिँदैन’ भन्दै हिँडिरहेका छन् । यो विषय पार्टीगत हिसाबले उनीहरूका लागि ठूलो मुद्दा होला तर, सर्वसाधारणका लागि यो कुनै महŒवको विषय होइन् । सर्वसाधारणलाई बिहान खाए बेलुका खाने कुरा कसरी जुटाउने भन्ने कुरा महŒवपूर्ण हो । बालबालिकालाई कसरी शिक्षा दिने भन्ने विषय महŒवपूर्ण हो । स्वास्थ्योपचार कसरी गर्ने, धुलो र हिलोको मारबाट कहिले पार पाउने, धारामा पानी कहिलेबाट निरन्तर आऊला, कहिलेबाट बत्ती झ्यापझ्याप अघोषित रूपमा बन्द हुने क्रम रोकिएला, कहिलेबाट पिच नगरिएका बाटो घाटोमा पिच होला, कहिलेबाट रेल चढेर सुपथ यात्रा गर्न पाइएला र कहिलेबाट कालोबजारीको अन्त्य होला ? जस्ता कुरामा जनताको चासो छ । त्यसैले पार्टीगत क्रियाकलापलाई आन्तरिकरूपमा टुंगो लगाइयोस् त्यसले मुलुक र सर्वसाधारण जनताले पाउनुपर्ने सरकारको समय नखोसोस् ।