18th October | 2018 | Thursday | 5:57:35 AM

अधोगतिमा कांग्रेस

  POSTED ON : Tuesday, 01 May, 2018 (1:47:57 PM)

अधोगतिमा कांग्रेस

मुख्य विपक्षी दल नेपाली कांग्रेसभित्रको भाँडभैलो छताछुल्ल भएको छ । निर्वाचनमा भएको करारी हारमा केन्द्रीय कार्यसमिति जिम्मेवार हुने भएपछि असहमति पदाधिकारी मनोनयनमा प्रतिविम्बित भएको छ । हारको जिम्मेवारी कसले लिने भन्नेमा बैठक नै अवरुद्ध भयो । नेतृत्वको हैसियतमा हारको जिम्मेवारी सभापति शेरबहादुर देउवाले लिनुपर्ने भन्ने अडान पदाधिकारी मनोयनतिर सरेको छ । परस्पर विपरित अडानले सोमबार बिहानका लागि बेलाइएको बैठक नै हुन सकेन । एक महिनाभन्दा लामो समयदेखि चलेको बैठक मुख्य विषयहरूमै निष्कर्षमा पुग्न सकेको छैन । प्रस्तुत भएका लिखित तथा अलिखित धारणाहरूबाट एउटै साझा धारणा बनाउन बैठक लगभग असफल भएको छ । 

सभापति देउवा विधानअनुसार चल्न सकेका छैनन् । विधानतः महाधिवेशन सम्पन्न भएको दुई महिनामा मनोयन भइसक्नुपर्ने पदहरू दुई वर्ष बितिसक्दा पनि रिक्त छन् । विभागहरू गठन हुन सकेका छैनन् । पार्टीमा नेताहरू छन् तर संरचनाहरू ध्वस्त छन् । निर्णयमा संस्थागत जिम्मेवारी कमजोर हुँदै गएको छ । पार्टी नेतृत्व निर्णय र परिणामको नैतिक जिम्मेवारी लिन साहस नगर्ने र विपक्षी समूह जिम्मेवारीबाट पन्छिने अलोकतान्त्रिक प्रवृत्ति कांग्रेसमा देखापरेको छ । केही युवा नेताहरू पार्टीलाई परिवर्तित राज्य संरचनाअनुसारको ढाँचाबाट क्रियाशील बनाएर शाख फर्काउन उत्साहित देखिएका छन् । शीर्ष नेताहरू भने आपसी दोषारोपणमा अल्झेका छन् ।

कांग्रेसमा हारको जिम्मेवारी कसको हो भन्ने विवाद अधोगतिको लक्षण हो । निर्वाचनका समयमा भए गरेका कमीकमजोरीको समीक्षा गर्दै संस्थागत  सुदृढीकरणका लागि अघि बढ्नुपर्नेमा एक महिनादेखि नेताहरूको ऊर्जा हारको जिम्मेवार पदाधिकारी खोज्नमै खर्च भएको छ । कांग्रेसको यो अवस्थाले हारेका सैनिक आपसमा लड्छन् भन्ने आहान स्मरण गराएको छ । विवादहरू किनारा लगाउँदै सामुन्नेका हाँक स्वीकार गरेर अघि बढ्ने तयारी गर्नमा कांग्रेस चुक्न थालेको छ । केन्द्रीय समितिको चालु बैठकले यही संकेत गरेको छ । बैठकमा गम्भीरतापूर्वक प्रस्तुत भएका धारणाहरू शीर्ष नेताहरूको विवादको छायाँमा परेका छन् । 

कांग्रेसको यो अधोगतिमा चासो किन प्रकट गर्नु परेको हो भने, कांग्रेस मुख्य विपक्षी दल हो । संसदीय लोमा बलियो विपक्ष अपेक्षित हुन्छ, जति बलियो विपक्ष उति नै सुदृढ लोकतन्त्र भनिन्छ । सिद्धान्ततः नेपाली कांग्रेस बलियो विपक्षसहितको संसदीय लोकतन्त्रमा विश्वास राख्छ । व्यवहारमा भने कांग्रेस उल्टो गतिमा देखापर्न थालेको छ । तीन तहका निर्वाचनमा भएको हारको अवस्थाबाट पार्टी अघि बढाउन चालु बैठकले सबै तहका नेता–कार्यकर्ताहरूमा ऊर्जा सञ्चार गर्न सक्नुपर्ने हो । बैठकमा उत्पन्न पछिल्ला विवादहरू भने निराशाजनक छन् । यस्तो अवस्थाले कांग्रेसलाई त कमजोर बनाउँदै लैजाने नै छ त्यसको असर लोकतान्त्रिक प्रणालीमा पर्नेछ । 


Views: 3

सम्बन्धित सामग्री:

स्वस्थ मासुका लागि

: Monday, 15 October, 2018 (2:43:47 PM)