18th October | 2018 | Thursday | 5:58:48 AM

मोदीलाई हार्दिक स्वागत गरौँ

  POSTED ON : Wednesday, 02 May, 2018 (2:25:15 PM)

मोदीलाई हार्दिक स्वागत गरौँ

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यही वैशाख २८ गते नेपालको दुई दिवसीय भ्रमणका लागि आउँदैछन् । दुई देशबीच परस्पर उच्चस्तरीय भ्रमणका क्रममा मोदी नेपाल आउन लागेका हुन् । गत महिना प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको राजकीय भ्रमणका क्रममा मोदीलाई नेपाल आउन निम्तो दिएका थिए । यसपटक मोदीको भ्रमण राजनीतिकमात्रै नभई धार्मिक पनि हुने भएको छ । पछिल्लो जानकारी अनुसार मोदी भारतबाट सोझै प्रशिद्ध तीर्थस्थल रामजानकी मन्दिर रहेको जनकपुर आउनेछन् । उनी मुस्ताङको मुक्तिनाथ पनि पुग्नेछन् । मोदीले यी तीर्थस्थल पुग्ने चाहना यसअघिकै भ्रमणका क्रममा गरेका भए पनि सम्भव भएको थिएन । उनको यो धार्मिक यात्रा नेपालका लागि महŒवपूर्ण हुनेछ । 

यस पटकसहित एक कार्यकालमा मोदीको यो तेस्रो भ्रमण हुनेछ । पहिलो पटक उनी सार्क सम्मेलनमा भाग लिन आएका थिए । दोस्रो पटक उनी राजकीय भ्रमणमा आए । सडकमा सर्वसाधारणसँग हात मिलाउँदै हिँडे । उनले आम नेपालीको मन जिते । यी दुई भ्रमणका समयमा नेपाल संविधानसभाबाट संविधान बनाउने क्रममा थियो । उनले नेपालको संसदलाई सम्बोधन गरे । संविधान निर्माणबारे केही सुझाव पनि दिए । संविधानसभाले संविधान बनायो तर मोदी सरकारले असन्तोष प्रकट गरेर नेपालमाथि नाकाबन्दी लगायो । यसबाट नेपाली जनताले ठूलो हैरानी बेहोर्नु प¥यो । भारतको व्यवहारबाट नेपालीको मन दुख्यो । 

नाकाबन्दीपछि समय धेरै अघि बढेको छ । नेपालका चार प्रधानमन्त्रीले भारतको राजकीय भ्रमण गरिसके । भारतले नेपालको संविधानमाथिको धारणा परिवर्तन ग¥यो, संविधानको स्वागत ग¥यो । संविधानअनुसार निर्वाचनहरू सम्पन्न भएकोमा खुसी प्रकट ग¥यो । भारतले नेपाली प्रधानमन्त्रीहरूको उच्च स्वागत गरेर, संविधानको स्वागत गरेर ‘कोर्स करेक्सन’ को जनाउ दियो । तैपनि नाकाबन्दीबाट नेपालीको मन दुखेको पृष्ठभूमिमा मोदी नेपाल आउँदैछन् । मोदीको भ्रमणमा असहमतिको स्वर पनि सुनिन थालेको छ । सरकारले उनको स्वागतको तयारी सुरु गरेको छ । जनकपुरमा उनको अभिनन्दन हुने तयारी हुँदैछ । स्वाभाविक रूपमा मोदीको हार्दिकतापूर्वक स्वागत हुनेछ । 

झण्डै दुई दशकदेखि भारतबाट नेपालमा प्रधानमन्त्रीको भ्रमण हुन सकेको थिएन । दुई देशबीचको सम्बन्ध कर्मचारीस्तरमा सीमित हुन थालेको थियो । मोदीले यो अवस्थाको अन्त्य गरेर करिब चार वर्षअघि, सन् २०१४ मा, नेपालको भ्रमण गरे । त्यसपछिका आपसी भ्रमणहरूबाट सम्बन्ध उच्चस्तरीय राजनीतिक तहमा फर्कियो । नेपाल र भारतबीच सम्बन्धका सामाजिक, सांस्कृतिक, राजनीतिक र अन्य विविध आयामहरू छन् । जनस्तरमा प्रगाढ सम्बन्ध छ । सम्बन्धका आयामहरू जति बढी हुन्छन् उति नै उतारचढाव पनि देखापर्छन् । यसले यदाकदा तिक्तता पनि सिर्जना गर्छ । नाकाबन्दी यस्तै एउटा घटना थियो । परिस्थिति फेरिइसकेको छ । मोदीको भव्य स्वागत गर्ने र सम्बन्धका आयामहरू सुदृढ गर्न तत्पर रहने पालो नेपालको हो । यसमा कुनै पनि कमी हुन दिनु हुँदैन । 


Views: 5

सम्बन्धित सामग्री:

स्वस्थ मासुका लागि

: Monday, 15 October, 2018 (2:43:47 PM)