18th October | 2018 | Thursday | 5:55:58 AM

एकतामा विदेशी शक्तिको भ्रम

  POSTED ON : Thursday, 03 May, 2018 (2:24:33 PM)

एकतामा विदेशी शक्तिको भ्रम

दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको एकता प्रक्रिया अलमलमा परेको छ । एकता गर्छौं भनेर चुनावी गठबन्धन घोषणा गरेको सात महिना पूरा भएको छ । अस्थिर राजनीतिले हैरान जनताले एमाले र माओवादीको गठबन्धनलाई बहुमत दिए । यो बहुमत पार्टी एकताका लागि जनादेश पनि हो । त्यसैले नेताहरू एकता गर्नुपर्ने दवावमा छन् । ‘पार्टी एकता हुन्छ, पछाडि फर्किने बटो छैन, एकता कसैले रोक्न सक्दैन’ भन्ने नेताहरूको अभिव्यक्ति यही दवावको सूचक हो । एकताका लागि शीर्ष तहमा लगातार छलफल भइरहेको छ तर अन्तिम निर्णय आएको छैन । 

माओवादीले चलाएको ‘जनयुद्ध’ पार्टी विधानमा कसरी समावेश गर्ने, माओवादीले कति प्रतिशत भाग पाउने, शीर्ष दुई नेता केपी शर्मा ओली र पुष्पकमल दाहालको पदीय हैसियत र जिम्मेवारी के के हुने, महाधिवेशनमा नेताहरूको पद कसरी सुनिश्चित गर्ने, केन्द्रीय समिति र पोलिटब्युरो कुन आकारका हुने, केन्द्रदेखि तल्लो तहसम्म पार्टी र अन्य निकायहरू कसरी मिलाउने भन्ने नै विवाद र छलफलका विषय हुन् । यी विषयमा ठोस सहमति भएपछि मात्र एकता घोषणा हुनेछ । ओली र दाहालले कुनै पनि दिन एकता घोषणा हुन्छ भनेर आश्वस्त पार्दै आएका छन् ।  

एकता हुन्छ भन्ने आश्वस्त पार्ने प्रयाससँगै परस्पर विपरीत भनाइहरू पनि सार्वजनिक हुने गरेका छन् । एकातिर एकता कुनै पनि शक्तिले रोक्न सक्दैन भन्ने र अर्कातिर एकता भाँड्न देशी विदेशी शक्तिहरू सक्रिय छन् भन्ने अभिव्यक्ति आफैँमा विरोधाभाषयुक्त छ । दुवै पार्टीभित्रै पनि एकता नचाहनेहरू सक्रिय छन् भन्ने अभिव्यक्ति पनि आउने गरेको छ । पार्टीभित्र एकताका पक्ष–विपक्षमा विचारहरू हुनु सामान्य कुरा हो । फरक विचारहरूको मन्थनबाटै एकता प्रक्रिया टुंगो लाग्ने हो । फरक पृष्ठभूमिबाट राष्ट्रिय र राजनीतिको अग्रभागमा आएका दुई ठूला पार्टीको दिगो एकता सजिलो विषय होइन । यसले अनपेक्षितरूपमा अलिक लामो समय लिन पनि सक्ला वा एकता घोषणा भइहाल्न पनि सक्ला । 

नेताहरूले भनेझैँ एकताका विपक्षमा देशी विदेशी शक्तिहरू सक्रिय हुन सक्छन् । नेताहरूले यस्तो शक्तिलाई पराजित गर्ने दक्षता देखाउनु पर्छ । चुनावी गठबन्धनमा कुनै अमुक शक्तिको हात छैन र नेताहरू इमानदारीपूर्वक प्रयासरत छन् भने एकताको विपक्षमा रहेको शक्ति पराजित गर्न नेताहरू अवश्य सक्षम हुनेछन् । तर, ‘एकता भाँड्न विदेशी शक्ति सक्रिय रहेको’ भन्ने अभिव्यक्तिको बाक्लो पुनरावृत्ति कतै दोष पन्छाउन उपाय त होइन भन्ने शंका पनि हुन थालेको छ । विदेशी शक्तिको भ्रम सिर्जना गरेर बारम्बार प्रचार गर्नु उचित होइन । एकताको भविष्य नेताहरूको प्रतिबद्धताले निर्धारण गर्छ । 

 


Views: 4

सम्बन्धित सामग्री:

स्वस्थ मासुका लागि

: Monday, 15 October, 2018 (2:43:47 PM)