18th August | 2018 | Saturday | 12:39:09 PM

नखुम्चियोस् प्रेस स्वतन्त्रता

  POSTED ON : Friday, 04 May, 2018 (2:14:45 PM)

नखुम्चियोस् प्रेस स्वतन्त्रता

बिहीबार, मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो । विश्वमा समाचार लेखेका कारणले पत्रकार र सञ्चार संस्थामाथि हमलाका घटनाहरू हुने गरेका छन् । विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने साता अफगानिस्तानमा एकै ठाउँमा दशजना पत्रकार मारिए । यस वर्षको सबैभन्दा ठूलो र दुःखद घटना यही हो । रिपोर्टहरूका अनुसार एशियाली मुलुकहरूमा पत्रकार र सञ्चार संस्थामाथि हमलाका घटनाको तुलनात्मक रूपमा बढी छ । नेपालमा पछिल्ला पाँच वर्षमा सन् २०१७ मा प्रेस स्वतन्त्रता विरोधी घटना सबैभन्दा धेरै रहेको भन्ने रिपोर्ट सार्वजनिक भएको छ । पत्रकारको हत्या हुने, कुटपिट गर्ने, धम्की दिने, पक्राउ गर्ने, मुद्दा लगाउने र दवावबाट सेल्फ सेन्सरसिपका लागि बाध्य बनाउने घटनाहरू हुने गरेका छन् । सञ्चार माध्यममाथि अंकुश लगाउने घटनाहरू हुन थालेका छन् ।  

सशस्त्र द्वन्द्वकालको तुलनामा प्रेस स्वतन्त्रता हनन र हमलाका घटनाको संख्या कम भए पनि जोखिम उस्तै छ, उस्तै प्रकृतिको हनन् र हमाल कायम छ । हमालका घटनाहरूमा दोषीमाथि कारबाही भने निकै कम हुने गरेको छ । दोषीले उन्मुक्ति पाउने गरेका छन् । द्वन्द्वकालमा पत्रकार मारिएका घटनाका धेरै दोषीहरूले उन्मुक्ति पाएका छन् । राज्यबाट सूचना सम्प्रेषण तथा अभिव्यक्तिको स्वतन्त्रता कुण्ठित हुनेगरी घुमाउरो तरिकाले नियन्त्रणको संकेत देखापरेको छ । राज्यका निकायहरूबाट समाचारको स्रोतबारे जानकारी दिन दबाब दिने, समाचार नलेख्ने आदेश जारी गर्नेजस्ता घटनाहरू हुन थालेका छन् । जिम्मेवार बनाउने नाममा नियन्त्रण गर्ने प्रयास हुन थालेको छ ।

निश्चय नै, प्रेस स्वतन्त्रता निरपेक्ष स्वतन्त्रता होइन । प्रेस स्वतन्त्रताका विश्वव्यापी मान्यताहरू छन्, पत्रकारका लागि आचारसंहिताहरू छन् । पत्रकारका संस्थाहरूले बनाएका आचारसंहिताले पत्रकारलाई जिम्मेवार बनाएको छ । प्रेस स्वतन्त्रताको विश्वव्यापी मान्यता, संविधान र तदनुकुल बनेका कानुनहरूले पत्रकारलाई जिम्मेवार बनाउँछन् । उल्लंघन भएको अवस्थामा पत्रकार र सञ्चार संस्थामाथि कानुनी कारबाही हुन्छ । पत्रकारले आफ्ना लागि आफैँले बनाएको आचारसंहिता पालना गर्न बेवास्ता गरेको अवस्थामा प्रेस स्वतन्त्रता खुम्च्याउने प्रयास हुन्छ । यस्तो अवस्था आउन नदिन आचार संहिताको पूर्ण पालना अनिवार्य हुन्छ । आचार संहिता पालना नगरेको, गलत समाचार प्रकाशन÷प्रशारण गरेको अवस्थामा कारबाहीको प्रक्रिया छ । पत्रकार जिम्मेवार हुनुपर्छ, आचार संहिता र प्रचलित कानुनहरू पालना गर्नुपर्छ । कुनै घटना विशेषका आधारमा प्रेस स्वतन्त्रता विरोधी गतिविधि भने मान्य हुन सक्दैन ।   

   


सम्बन्धित सामग्री:

ज्ञवालीको कार्यभार

: Friday, 17 August, 2018 (3:16:59 PM)

दीर्घकालीन सोच चाहियो

: Thursday, 16 August, 2018 (3:24:03 PM)

सेवा बन्द गर्ने हठ

: Wednesday, 15 August, 2018 (4:34:36 PM)