18th August | 2018 | Saturday | 12:38:58 PM

एन्फाको आगामी बाटो

  POSTED ON : Monday, 07 May, 2018 (5:39:01 PM)

एन्फाको आगामी बाटो

शनिबार सोह्रौँ साधारणसभाका क्रममा भएको निर्वाचनबाट संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) मा कर्माछिरिङ शेर्पा अध्यक्ष निर्वाचित भएपछि दुई दशदेखि नेतृत्वमा रहेको एकाधिकार तोडिएको छ । एन्फामा २०५२ सालदेखि गणेश थापाको नेतृत्व थियो । उनलाई फिफाले अनियमितताको आरोपमा दश वर्षका लागि व्यक्तिगत प्रतिबन्ध लगाए पनि उनकै छत्रछायाँको नेतृत्व थियो । निकै लामो समयदेखि एन्फा आन्तरिक विवादमा अल्झेको थियो । गत कात्तिकमै हुनुपर्ने निर्वाचन जिल्लामा चर्केको विवादका कारण हुन सकेको थिएन । नेतृत्व चयनको विवाद अदालतसम्म पुगेको थियो । अदालतबाट फुकुवा भएपछि भएको निर्वाचनले नयाँ नेतृत्व चयन गरेको छ । 

नेपाली खेलाडीहरूले आशलाग्दो प्रदर्शन गर्दै आए पनि नेतृत्व गर्ने खेल संस्थाहरू विवादमा अल्झिँदा खेलाडीहरू निराश हुने गरेका छन् । फुटबल होस् कि क्रिकेट, खेल संस्थाहरू आन्तरिक विवादमा अल्झिँदै आएका छन् । यसको असर सोझै खेलमा पर्ने गरेको छ । नेपाली फुटबलले अन्तर्राष्ट्रिय क्षेत्रमा क्रमशः प्रगति गर्दै गएको छ । नेतृत्वमा भएको खिचातानी र तीन वर्षअघिको भूकम्पपछि राष्ट्रियस्तरमा फुबटल खेल ओइलाएको छ । राष्ट्रिय लिग आयोजना हुन सकेको छैन । खेलाडी र प्रशिक्षकहरू बेरोजगार बनेका छन् । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरू हुन सकेका छैनन् । एन्फा एकेडमी विस्तारको काम रोकिएको छ । 

निर्वाचित नयाँ नेतृत्वले एन्फामा सुधार गर्दै फुटबल खेलको विकासका लागि कदम चाल्नु पर्छ । मनोनीत हुनुपर्ने पदहरू चाँडो पूर्ति गरेर कार्यसमितिलाई पूर्णता दिनुपर्छ । परिवर्तित राज्य संरचनाअनुसार एन्फाको विधान, नियमावलीहरू र अन्य आवश्यक प्रक्रियमा परिमार्जन र सुधार गर्दै एन्फालाई समयानुकुल सुदृढ बनाउन कदम चाल्नुपर्छ । संस्थागत सुदृढीकरणका साथ योजनाबद्ध ढंगले गाउँतहदेखि खेलको विकासका लागि काम थाल्नु आवश्यक छ । एन्फाको नयाँ नेतृत्व सबै सरोकारवालाहरूको सहयोग जुटाउँदै अघि बढ्न सक्यो भने नेपाली फुटबलले अन्तर्राष्ट्रिय स्तरमा गौरव स्थापित गर्न सक्छ । नयाँ नेतृत्व विवादहरू साम्य पार्दै अघि बढ्नु पर्छ । 

संघीय संरचनाअनुसार सबै तहका निर्वाचन सम्पन्न भई जनप्रतिनिधि संस्थाहरू क्रियाशील रहेको, तीनवटै तहमा निर्वाचित सरकारहरू बनेको अहिलको अवस्थामा एन्फाको नयाँ नेतृत्वले फुटबलमा ठूलो फड्को मार्न सक्छ । यसमा बाधक व्यक्तिगत स्वार्थ जोडिएका आन्तरिक विवादहरू मात्रै हुन् । विधिसम्मत निर्वाचित नेतृत्व विधिसम्मत र समन्वयात्मक ढंगले अघि बढ्नु पर्छ । यसो भयो भने नेपाली फुटबलको विकासको गति बढ्नेछ । नयाँ नेतृत्वलाई व्यक्तिगत स्वार्थमा नअल्झी कार्यदक्षता देखाउने अवसर छ । 




सम्बन्धित सामग्री:

ज्ञवालीको कार्यभार

: Friday, 17 August, 2018 (3:16:59 PM)

दीर्घकालीन सोच चाहियो

: Thursday, 16 August, 2018 (3:24:03 PM)

सेवा बन्द गर्ने हठ

: Wednesday, 15 August, 2018 (4:34:36 PM)