27th May | 2018 | Sunday | 6:25:28 AM

मन्त्रीका महत्वाकांक्षा

  POSTED ON : Wednesday, 09 May, 2018 (11:49:30 AM)

मन्त्रीका महत्वाकांक्षा

वर्तमान सरकारका मन्त्रीका कार्ययोजनाहरू धमाधम सार्वजनिक हुन थालेका छन् । मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आफ्नो कार्ययोजना सार्वजनिक गरे । यसअघि केही मन्त्रीहरूले आफ्ना मन्त्रालयका कार्ययोजना सुनाइसकेका छन् । मन्त्रीहरूका यस्ता कार्ययोजना निकै महŒवाकांक्षी हुने गरेका छन् । वर्तमान सरकारका मन्त्रीले मात्रै होइन पूर्ववर्ती सरकारका पनि सबैजसो मन्त्रीहरूले आफ्ना महत्वाकांक्षी योजनाहरू सुनाउने गरेका थिए । केही वर्षयता छिटोछिटो सरकार परिवर्तन हुने गरेकाले मन्त्रीका योजनाको कुनै महŒव थिएन । उनीहरू योजना सुनाउँथे र केही थालनी गरेको जस्तो गर्थे अनि यतिकैमा अर्को सरकार आउँथ्यो । मन्त्रीको योजना पनि सकिन्थ्यो । 

छोटो कार्यकालमा पनि केही मन्त्रीले जनहितमा राम्रो काम गरेका देखाएका हुन् । तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य सेवामा केही राम्रो सुरुआत गरे । उनले आम मानिसको स्वास्थ्य सेवामा सुधार गर्न केही राम्रा कदम चाले । उनका केही योजनामा दीर्घकालीन कार्यक्रम थालनी भयो । तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले विद्युत वितरणमा भइरहेको सिन्डिकेट तोडेर दिक्कलाग्दो लोडसेडिङको अवस्था अन्त्य गरिदिए । अन्य केही मन्त्रीहरूले पनि आफ्नो कार्यकालमा केही राम्रो थालनी गरे तर धेरैजसो मन्त्रीका योजना बढी प्रचारमुखी र देखावटी हुने गरेका थिए । योजना कार्यान्वयन गर्ने आर्थिक स्रोत र पूर्वाधार जस्ता आधारभूत विषयमा ध्यान नदिई प्रचारमात्रै गर्थे । परिणामरूप मन्त्रीको पदमुक्तिसँगै उनको योजना पनि सकिन्थ्यो । योजनामा संस्थागत हुँदैन थियो । 

वर्तमान सरकारका मन्त्रीहरूका पनि योजनाहरू आउन थालेका छन् । मन्त्रीले ल्याउने सरकारको नीति तथा कार्यक्रम र बजेटबाट पृथक हुँदैन, देशको पूर्वाधार र प्रविधबाट पृथक हुँदैन तथापि मन्त्रीले आफ्नो मन्त्रालयअन्तर्गत खास किसिमको योजना बनाउन सक्छन् । हाम्रो देशमा पूर्वाधार विकासमा जनसहभागिता अत्यन्तै न्युन छ । सरकारले योजना बनाएर थोपर्ने परम्परा छ । जनसहभागिता भएका योजना÷आयोजनाहरू सफल र दिगो भएका दृष्टान्तहरू छन् । मन्त्रीले आफ्नो कार्ययोजना प्रस्तुत गर्दा जनसहभागितामा आधारित बनाउन सके भने, यस्तो योजना तथा कार्यक्रम मन्त्रालय र सिंगो सरकारको कार्यक्रम बन्न सक्यो भने, संस्थागत स्वामित्व हुन सक्यो भनेमात्रै दिगो हुन्छ । 

वर्तमान सरकारका मन्त्रीहरूले आफ्नो महŒवाकांक्षा प्रस्तुत गर्नमात्रै होइन जनसहभागितामा आधारित दीर्घकालीन कार्यक्रम बनाउन सके भने साँच्चै समृद्धिको मार्गमा मुलुक अघि बढ्नेछ । भारी बहुमत रहेको एमाले–माओवादी केन्द्र गठबन्धनमा अनपेक्षित विग्रह नभए मन्त्रीहरूले आफ्ना योजनाहरू कार्यान्वयन गर्न सक्नेछन् । त्यसैले मन्त्रीहरूले यथार्थमा र जनसहभागितामा आधारित भएर योजना ल्याउनु पर्छ । मन्त्रीको प्रतिबद्धता र दृढ इच्छाशक्तिले ठूलो परिवर्तन गर्न सक्छ भन्ने पुष्टि भइसकेको छ । मन्त्रीहरू जति बढी सिर्जनशील हुन्छन्, सरकारले उति नै बढी काम गर्न सक्छ । वर्तमान सरकारसँगको अपेक्षा पनि यही हो । 

   


सम्बन्धित सामग्री: