27th May | 2018 | Sunday | 6:23:48 AM

मोदीको भ्रमणमा नेपाली एजेन्डा

  POSTED ON : Thursday, 10 May, 2018 (4:04:01 PM)

मोदीको भ्रमणमा नेपाली एजेन्डा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि नेपालको दुई दिवसीय भ्रमणमा आउँदैछन् । मोदीको यो भ्रमण चौतर्फी चासोको विषय भएको छ । मोदी हाम्रा प्रधानमन्त्रीको निमन्त्रणामा राजकीय भ्रमणमा आउन लागेका हुन् । उनी हाम्रा आमन्त्रित पाहुना हुन् । हार्दिकतापूर्वक पाहुनाको स्वागत गर्ने हाम्रो परम्पराअनुसार निकट छिमेकी भारतका प्रधानमन्त्रीको पनि स्वागत हुने नै छ । सोही अनुसार तयारी पनि भइरहेको छ । नागरिक अभिनन्दन हुनेछ । उनले रामजानकी मन्दिर र मुक्तिनाथमा पूजाअर्चना गर्नेछन् । जनकपुरमा रामायण सर्किटको उद्घाटन हुनेछ । सिधै जनकपुर अवतरण गर्न लागेका मोदीको यो भ्रमण राजनीतिक भन्दा बढी धार्मिक जस्तो देखिएको छ । 

यो भ्रमण द्विपक्षीय हित र आआफ्ना सरोकारका विषयहरू के के हुन्, वार्ता कुन कुन विषयमा हुनुपर्छ, टुंगो लगाउनु पर्ने र नयाँ थालनी गर्नु पर्ने विषयहरू के के हुन् भन्नेमा भन्दा मोदीको स्वागतका विषयमा बढी चर्चा र चासो देखिएको छ । नेपालको जनप्रतिनिधि संविधानसभाले जारी गरेको संविधानमा असन्तुष्टि जनाएर विनाशकारी भूकम्पबाट थला परेका नेपालीले भोग्नु परेको नकाबन्दीको प्रतिक्रिया मोदीको भ्रमणका विषयमा अभिव्यक्त भइरहेको छ । एकथरीले नागरिक अभिनन्दन हुन लागेकोमा असन्तोष प्रकट गरेका छन्, मोदीले माफी माग्नुपर्छ भन्ने आवाज उठाएका छन् । अपेक्षा गरौँ मोदीले नेपाली भावनाको कदर गर्नेछन् तर भ्रमणलाई यही सन्दर्भमा मात्रै सिमित गर्नु  गर्नु हुँदैन । 

भारत र नेपालबीच आपसी हित र आआफ्नो चासोका विषयहरू छन् । हाम्रो वैदेशिक व्यापारको ठूलो हिस्सा भारतसँग छ र सोही अनुसारको व्यापारघाटा छ । यो व्यापारघाटा कम गर्न भारतले गर्नसक्ने सहयोग नेपालको चासोको विषय हो । धेरै ठाउँमा सीमा अतिक्रमणका घटनाहरू छन् । भारतले सीमानजिकै बनाएका बाँधहरूका कारणले धेरै ठाउँमा नेपाली भूमि डुबानमा पर्ने गरेको छ । केही सन्धि सम्झौताहरूको पुनरावलोकनको विषय छ । भारतीय सहयोगमा सञ्चालित भइरहेका र हुने आयोजनाहरू छन् । भारतले वचन दिएका तर कार्यान्वयन हुुन नसकेका विषयहरू छन् । सहकार्यका नयाँ सम्भवनाहरू छन् । यस्ता धेरै विषयहरूमा उच्चस्तरीय वार्ता आवश्यक छ । नेपालको ध्यान यी विषयहरूमा जानुपर्छ । 

द्विपक्षीय चासोका अनेक विषयहरूमाझ अक्सर नेपाल–भारत उच्चस्तरीय भ्रमण सद्भावना भ्रमण भन्ने औपचारिकतामा सिमित हुने गरेको छ । नेपाल सरकारले कुन कुन विषयमा वार्ता हुँदैछ, हाम्रा चासोका मुख्य विषयहरू के के हुन् भन्ने प्रष्ट पार्ने गरेको छैन । बुधबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मोदीको भ्रमणबारे संसदलाई जानकारी गराए तर त्यसमा वार्ताका विषयहरू समावेश छैनन् । यस्तो उच्चस्तरीय भ्रमण अधिकतम उपलव्धि हासिल गर्ने, द्विपक्षीय चासोहरू सम्बोधन गर्ने, आपसी शंकाहरू हटाएर सद्भाव अभिवृद्धि गर्ने र नयाँ थालनी गर्ने विषयमा केन्द्रित हुनुपर्छ । भ्रमण ठोस एजेन्डामा आधारित हुनुपर्छ । दुई देशबीच खुला छलफल हुनुपर्छ । मोदीको यो भ्रमण दुवै देशका लागि महŒवपूर्ण छ ।


सम्बन्धित सामग्री: