19th October | 2018 | Friday | 10:38:14 AM

संघीय बजेटको तयारी

  POSTED ON : Friday, 11 May, 2018 (2:04:18 PM)

संघीय बजेटको तयारी

संवैधानिक व्यवस्थाअनुसार अबको तीन साताभित्र, जेठ १५ गते, संघीय सरकारका अर्थमन्त्रीले संघीय संसद्मा राजस्व र व्ययको अनुमान (बजेट) पेश गर्नेछन् । अर्थमन्त्री युवराज खतिवडाले बजेटका सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव संसद्मा पेश गरेका छन्, प्रिबजेट छलफल चल्दैछ । अर्थमन्त्री बजेटको तयारीमा छन् । अर्थमन्त्री खतिवडाले गत महिना मुलुकको आर्थिक अवस्था समेटेर स्वेतपत्र जारी गरेका थिए । उनले स्वेतपत्रमा पूर्ववर्ती सरकारको आर्थिक अराजकताका कारण मुलुक गम्भीर अवस्थाबाट गुज्रिरहेको, वित्तीय अनुशासनका सीमाहरू निर्ममतार्पूक तोडिएको, अनौपचारिक अर्थतन्त्र मौलाएका कारण राजस्वको दायरा संकुचित भएको, समग्र आर्थिक सूचकांक नकारात्मक रहेको र राष्ट्रको ढुकुटी रित्तो रहेको जनाउँदै संकटग्रस्त अवस्थाको चित्रण गरेका थिए । 

स्वेतपत्रमा चित्रण गरिएअनुसार मुलुक आर्थिकरूपले संकटग्रस्त र निकै चुनौतीपूर्ण रहेको मान्नुपर्छ यद्यपि स्वेतपत्रले अतिरञ्जना गरेको भनेर आलोचना पनि भएको छ । गत वर्षको बजेट पेश हुँदा स्थानीय तहहरू गठन हुँदै थिए । प्रदेश सरकारहरू बनेका थिएनन् । यस वर्ष अवस्था फेरिएको छ । संविधान र कानुनले गरेको व्यवस्थाअनुसार पूर्णतः संघीय संरचनाअनुसार बजेट तयार गर्नु पर्नेछ । प्रदेश सरकारहरूले आआफ्ना ढंगले बजेट माग्न थालेका छन् । केही वर्षयता साधारण खर्च बढ्दै गएको छ । प्रारम्भिक चरणको संघीय संरचना व्यवस्थित गर्नुपर्ने कारणले साधारण खर्च अझ बढ्नेछ । सबै प्रदेश र स्थानीय तहहरूलाई समानुपातिकरूपले बजेट दिनुपर्नेछ । संघ, प्रदेश र स्थानीय तहमा आयका स्रोतहरू संविधानले बाँडफाँट गरिदिएको छ तर सो अनुसार सबै कानुुनी प्रबन्ध भइसकेको छैन । यस्तो अवस्थामा संविधान निर्माण चुनौतीपूर्ण छ । 

अर्थमन्त्री खतिवडाले स्वेतपत्रमा चित्रण गरेको अर्थतन्त्रको संकटपूर्ण अवस्थामा सुधार गर्न कदम चाल्नु पनि उनको जिम्मेवारी हो । सातवटा प्रदेशका राजधानीमा पूर्वाधार विकास र परिवर्तित सन्दर्भमा जनप्रतिनिधिहरूका पारिश्रमिक, कर्मचारी व्यवस्थापन, संविधानले व्यवस्था गरेका आयोग लगायतका संरचनाहरूको खर्च व्यवस्था गर्नुपर्नेछ । यससँगै सबैभन्दा महŒवपूर्ण पक्ष के छ भने एमाले र माओवादी केन्द्रको गठबन्धनले निर्वाचनमा गरेको वाचाअनुसारका काम सुरु गर्न बजेटले ध्यान दिनुपर्नेछ । अर्थमन्त्रीकै निष्कर्षअनुसार संकटग्रस्त अवस्थाबाट अर्थतन्त्र उकास्तै समृद्धितर्फ अघि बढ्नुछ । बजेटमा स्थानीय तह, प्रदेश र केन्द्रका आआफ्ना प्राथमिकताहरू छन् । सांसदहरूका आफ्नै चाहना र स्वार्थ छन् । बजेटबारे सत्तासाझेदारभित्रै चित्त दुःखाइ सुरु भएको छ । 

राजनीतिज्ञका असिमित सापनाहरू छन् जो उनीहरूले जनतालाई बाँडेका छन् । यही पृष्ठभूमिमा सांसदहरू आफ्नो तजविजमा खर्च गर्न पाउने बजेट माग गर्दैछन् । जनताका अपेक्षा पनि असिमित छ । अर्थमन्त्री खतिवडा बजेटमा राजनीतिज्ञका सपना, प्राथमिकता र वित्तीय व्यवस्थाका सीमाबारे भारी जानकार छन् । उनले यी सबै पक्षलाई सन्तुलित गर्दै पूर्ण वित्तीय अनुशासनका साथ बजेट पेश गर्नु पर्नेछ । विगतमा बजेटले भिœयाएका विकृति र विसंगतिहरू अन्त्य गर्न अर्थमन्त्री खतिवडा कठोर हुन जरुरी छ । उनले आफ्ना नेतालाई पनि दृढतापूर्वक बुझाउनु पर्नेछ । यस वर्ष पेश हुने बजेट आगामी वर्षहरूका लागि मार्ग निर्देशक हुनेछ । यही अनुसार बजेट तयारी गर्नुपर्छ ।  



Views: 4

सम्बन्धित सामग्री:

स्वस्थ मासुका लागि

: Monday, 15 October, 2018 (2:43:47 PM)