18th August | 2018 | Saturday | 12:40:28 PM

अब उत्पादनमा लागौँ

  POSTED ON : Sunday, 13 May, 2018 (6:24:50 PM)

नेपालको व्यापारघाटा कहालीलाग्दो अवस्थामा छ । घाटाको दर वर्षेनी बढ्दो छ । पछिल्लो विवरणअनुसार सवा आठ खर्बभन्दा बढी छ । कुल वैदेशिक व्यापारमा करिब ९४ प्रतिशत आयात र करिब ६ प्रतिशत निर्यात छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कुल ८७४.८८ अर्ब रुपैयाँको आयात हुँदा ५९.६२ अर्बको निर्यात भएको छ । कुल वैदेशिक व्यापारमध्ये छिमेकी मुलुक भारतसँग दुई तिहाइभन्दा बढीको कारोबार छ र घाटाको मात्रा पनि त्यति नै छ । भारतसँग त घाटा बढ्दै गएकै छ, नाफाको व्यापार रहेका केही मुलुकसँग पनि घाटा हुन थालेको छ । यस्ता मुलुकमा अमेरिका, जर्मनी, फ्रान्स रहेका छन् । बंगलादेशसँग पनि व्यापारघाटा बढ्न थालेको छ ।

निराशाजनक अवस्था के छ भने व्यापारघाटा कम हुने कुनै पनि संकेत देखापरेको छैन । भारतसँगको घाटा कम गर्न नेपाल र भारतबीच भएका उच्चस्तरीय भ्रमणले पनि सघाउ पु¥याएनन् । बढ्दो व्यापारघाटा कम गर्न नेपालले प्रभावकारी उपाय अपनाउन सकेको छैन । भारतसँग पनि ठोस उपायको प्रस्तावसाथ कुरा हुन सकेको छैन । कृषिप्रधान मुलुक नेपालले आयात प्रतिस्थापन गर्न सक्ने वस्तुको उत्पादन बढाउन नसक्दा आयात बढ्दै गएको छ । चामल र खसीबोका आयात यस्तै एउटा ज्वलन्त उदाहरण हो जसमा आयात प्रतिस्थापन गर्न सकिन्थ्यो । कृषि उत्पादन बढाउन आवश्यक पूर्वाधार विकास हुन सकेको छैन । सिँचाइ, सडक, ऊर्जा जस्ता पूर्वाधारको अभाव छ । फलस्वरूप कृषि क्षेत्रमा आयात प्रतिस्थापन गर्ने क्षमता बढ्नै सकेन । 

व्यापारघाटा कम गर्ने एकमात्र उपाय उत्पादन वृद्धि हो । यसका लागि पूर्वाधार विकास हुनु प¥यो । लगानी बढाउनु प¥यो । लगानी सुरक्षाको वातावरण बनाउनु प¥यो । करिब दुई वर्षयता विद्युत ऊर्जामा प्रगति भएको छ । सरकारले चाँडै औद्योगिक क्षेत्रमा पनि लोडसेडिङ अन्त्य हुने बताएको छ तर आयात प्रतिस्थापन बढाउने गरी उत्पादन बढाउन विद्युत खपत बढ्नु पर्छ । मागअनुसारको विद्युत उत्पादन गर्दै उत्पादन क्षेत्रमा खपत बढाउन सकेमात्रै व्यापारघाटा कम गर्न सघाउ पुग्नेछ । तुलनात्मक लाभका र प्रतिस्पर्धी क्षमता भएका वस्तुको उत्पादन बढाउनु प¥यो । यसो भएमात्रै आयात घट्नेछ र निर्यात बढ्नेछ । गार्हस्थ विद्युतको खपत पनि बढाउन जरुरी छ । यसले गार्हस्थ इन्धनका लागि पेट्रोलियम आयात घटाउनेछ । 

सरकारले भन्दै आएको समृद्धि हासिल गर्न उत्पादन वृद्धि आवश्यक छ । प्रतिस्पर्धी वस्तुको उत्पादन बढाएर निर्यात वृद्धि र आयात प्रतिस्थापनबाट मात्र व्यापारघाटा कम हुन्छ । व्यापारघाटाको यो कहालीलाग्दो अवस्था रहेसम्म मुलुकले साँचो अर्थमा समृद्धि हासिल गर्न सक्दैन । सरकारको ध्यान यसतर्फ जानु आवश्यक छ । हाम्रो अधिकतम जनशक्ति स्वदेशमै उत्पादन वृद्धिका लागि परिचालन गर्न जरुरी छ । अब उत्पादनमा लागौँ, उत्पादनको युग सुरु गरौँ । 


सम्बन्धित सामग्री:

ज्ञवालीको कार्यभार

: Friday, 17 August, 2018 (3:16:59 PM)

दीर्घकालीन सोच चाहियो

: Thursday, 16 August, 2018 (3:24:03 PM)

सेवा बन्द गर्ने हठ

: Wednesday, 15 August, 2018 (4:34:36 PM)