19th October | 2018 | Friday | 9:53:48 AM

परम्परागत भ्रमण

  POSTED ON : Monday, 14 May, 2018 (1:39:42 PM)

परम्परागत भ्रमण

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो पटकको नेपाल भ्रमण नेपाली जनताबीच भारतको छवि सुधार्ने प्रयासमा केन्द्रित रहृयो । मोदीले नाकाबन्दीको विषयमा केही न केही बोल्लान् भन्ने अपेक्षा र बोल्नुपर्छ भन्ने नेपाली विचारतर्फ ध्यान दिएनन् । उनले नेपालको संविधानअनुसार एक वर्षमा तीन तहको निर्वाचन सम्पन्न भएकोमा खुसी प्रकट गरे, नेताहरूलाई बधाई दिए जुन संविधानप्रति असन्तुष्टि प्रकट गर्न उनकै सरकारले नाकाबन्दी गरेको थियो । मोदीले नेपाल समृद्धितर्फ अघि बढेको भन्दै भारतको पूर्ण साथ रहने वचन दिए । यसरी मोदीले नाकाबन्दीको विषय राजनीतिक तहबाट टुंगो लागिसकेको भन्ने सन्देश दिन चाहे । नाकाबन्दीपछि नेपालका प्रधानमन्त्रीले चारपटक भारत भ्रमण गरिसकेका हुन् । र, यी सबै भ्रमणपछि हाम्रा प्रधानमन्त्रीहरूले ‘भ्रमण सफल भएको, सम्बन्ध थप प्रगाढ भएको र सम्बन्धमा नयाँ आयाम थपिएको’ बताएका हुन् । मोदीले पनि यसै गरे ।

यसपटक पनि भारतीय प्रधानमन्त्रीको भ्रमण परम्पराको तिरन्तरताकै रूपमा रहृयो । फरक के भयो भने मोदी काठमाडौंको साटो जनकपुर अवतरण गरे । यसो गर्नुको प्रष्टीकरण उनले ‘म प्रधानमन्त्री नभई प्रधानतीर्थयात्री हुँ’ भनेर दिए । सोहीअनुसार उनले प्रशिद्ध तीर्थस्थलहरू रामजानकी मन्दिर, मुक्तिनाथ र पशुपतिनाथमा पूजा अर्चना गरे । केही शिष्टाचार भेटवार्ता गरे । द्विपक्षीय भेटवार्तामा नयाँ विषय प्रवेश भएन । दुई देशबीचका साझा चासोका सधैँका विषयहरू नै रहे । राजनीतिक र जनस्तरको सम्बन्ध सामान्य रहेको, आफूले नेपाललाई उच्च प्राथमिकता दिएको, नेपालको उन्नति÷समृद्धि चाहेको र यसमा सहयोगका लागि तयार रहेको भन्ने सन्देश प्रवाह गर्नमै जोड दिए । जल कनेक्टिभिटी होस् वा रामायण सर्किट वा रेलमार्ग, यी सबैमा उनको सन्देश एउटै हो । उनी पूर्णतः भारत नेपाललाई सबै प्रकारको सहयोग गर्न तयार रहेको भन्ने सन्देश दिनमै केन्द्रित रहे । मोदीको यस प्रकारको नेपाल नीतिलाई उत्तरी छिमेकीसँगको सम्बन्धमा जोडेर हेर्नै पर्छ । चीनसँग नेपालले व्यापार र पारवहनमा गरेको युगान्तरकारी सम्झौता कतै पनि अलमलमा पर्नु हुँदैन । 

प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीको भ्रमणबारे संसदलाई जानकारी गराउँदै सफल र ऐतिहासिक रहेको बताए । दुई देशबीच बराबरीका आधारमा सम्बन्ध अघि बढेको र नाकाबन्दीका कारण उत्पन्न तिक्तता अन्त्य भएको बताए । नेपाल र भारतबीच प्रधानमन्त्रीस्तरको भ्रमणमा सधैँ ‘राष्ट्रघाती सन्धि सम्झौता नगर्न’ चेतावनी दिने र हाम्रा प्रधानमन्त्रीले त्यस्तो नगरेको भन्ने प्रष्टीकरण दिने आदत नै बसेको छ । यसपटक पनि त्यही भयो । प्रधानमन्त्री ओलीले ‘राष्ट्रघाती सन्धि सम्झौता नगरेको’ भन्दै प्रष्टीकरण दिए । देशको अहित हुनेगरी, राष्ट्रघात हुनेगरी कुनै पनि सन्धि÷सम्झौता वा समझदारी हुनु हुँदैन । र, राष्ट्रहित ध्यानमा राखेर द्विपक्षीय हित र सहयोगका क्षेत्रहरू विस्तार हुँदै जानुपर्छ । यस दृष्टिबाट भने दुई देशबीच प्रधानमन्त्री स्तरको भ्रमण परम्परा र औपचारिकतामै सिमित रहँदै आएको छ । सम्बन्ध थप मजबुत भयो भन्नमै सिमित रहँदै आएको छ । यसपटक पनि यस्तै भयो ।   


Views: 4

सम्बन्धित सामग्री:

स्वस्थ मासुका लागि

: Monday, 15 October, 2018 (2:43:47 PM)