19th October | 2018 | Friday | 9:54:02 AM

अवसरको दुरुपयोग

  POSTED ON : Tuesday, 15 May, 2018 (1:52:01 PM)

अवसरको दुरुपयोग

गत साता जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालको संविधान ‘विभेदकारी’ रहेको र ‘प्रादेशिक अधिकारका लागि संघर्ष जारी रहेको’ बताए । मधेश केन्द्रित भनिने दलहरूले आरम्भदेखि नै संविधानमा असन्तुष्टि जनाएका हुन् । संविधान जारी भएपछि उनीहरूले आन्दोलन गरे । संविधाअनुसार भएका निर्वाचनहरूमा सहभागी भई संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश २ मा सरकार बनाएका छन् । संविधानका केही प्रावधानमा उनीहरूको असहमति कायमै छ र संशोधनको माग गर्दै आएका छन् । उनीहरूले संविधान नमानेका होइनन्, केही प्रावधानमा फरक विचार राखेका हुन् र यो मुलुकको आन्तरिक विषय हो ।  

मुख्यमन्त्री राउतले आफ्नो असहमति प्रकट गर्न पाउँछन्, उनले संविधान संशोधनको माग गर्न पाउँछन् । सभामा बोल्न पनि पाउँछन् । यसका लागि यसपटक उनले रोजेको अवसर भने उचित होइन । भारतीय प्रधानमन्त्री मोदी प्रधानमन्त्रीको निमन्त्रणामा देशको पाहुना बनेर आएका थिए । जनकपुरमा आयोजित सभा उनको नागरिक अभिनन्दनका लागि थियो । संविधान वा कुनै पनि आन्तरिक मामिलामा गुनासो गर्ने सभा त्यो थिएन । संविधान मुलुकको आन्तरिक विषय हो । अभिनन्दनका लागि मञ्चमा विराजमान पाहुनासामु अभिनन्दनकर्ताले नै आफ्नै संविधानको विरोध हुने अभिव्यक्ति दिनु वा गुनासो प्रकट गर्नु शिष्टाचार र कूटनीतिक मर्यादा अनुकुल होइन । सभाको दुरुपयोग हो । 

प्रदेश २ मात्रै होइन मुलुकका धेरै ठाउँहरू आर्थिकरूपले पिछडिएका छन् । बेरोजगारी र गरिबी व्याप्त छ । शोषण, उत्पीडन छ, अभाव छ । यस्तो अवस्थामा सुधार ल्याउने हामी आफैँले हो । केन्द्रीकृत राज्य प्रणालीमा राजनीतिक अधिकार पनि केन्द्रीकृत भयो, मुलुकको समानुपातिक विकास हुन पाएन भनेरै संघीय प्रणाली अपनाइएको हो र यो प्रारम्भिक अभ्यासमा छ । मधेश केन्द्रित दलहरूले केही प्रावधानमा संशोधनको माग गरेका छन् । संशोधन प्रक्रिया संविधानमै छ । विभेद अन्त्य गर्ने हामी आफैँले हो । यसका लागि संघर्ष पनि आफैँले गर्ने हो । विदेशी हस्तक्षेप वा दबाब आवश्यक छैन ।

संविधानअनुसार परराष्ट्र तथा कूटनीतिक मामिला र अन्तर्राष्ट्रिय सम्बन्ध संघीय सरकारको अधिकार क्षेत्रमा पर्छ । विदेशी पाहुनासँग प्रस्तुत गर्ने विषय संघीय सरकारले निर्धारण गरेअनुसार हुन्छ । प्रदेश २ का मुख्यमन्त्रीलाई पराराष्ट्र मन्त्रालयले यस विषयमा जानकारी गराएको थियो कि थिएन, आफ्नो मन्तव्यका विषयमा मुख्यमन्त्रीले परराष्ट्र मन्त्रालयसँग परामर्श गरेका थिए कि थिएनन्, यसमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको नैतिक जिम्मेवारी हुन्छ । प्रधानमन्त्री ओलीले संसदमा मुख्यमन्त्रीको भनाइ ‘कूटनीतिक मर्यादा अनुकुल नरहेको’ बताएका छन् । पराष्ट्रमन्त्री ज्ञवालीले पनि प्रधानमन्त्रीकै अभिव्यक्ति दाहो¥याएका छन् । आगामी दिनमा यस किसिमको कमजोरी हुन नदिन नीतिगत रूपमा सुधार गर्नुपर्छ । 

नेपाल सरकारले भाजपा सांसद कीर्ति आजादको ‘मिथिला राजधानी जनकपुर भारतले फिर्ता लिनुपर्छ’ भन्ने अभिव्यक्तिमा पनि कूटनीतिक स्तरमा भारत सरकारसमक्ष विरोध जनाउनु पर्छ । 


Views: 6

सम्बन्धित सामग्री:

स्वस्थ मासुका लागि

: Monday, 15 October, 2018 (2:43:47 PM)