19th October | 2018 | Friday | 11:39:46 AM

लोड सेडिङमुक्त मुलुक

  POSTED ON : Wednesday, 16 May, 2018 (1:53:59 PM)

लोड सेडिङमुक्त मुलुक

नेपाल विद्युत प्राधिकरणले मुलुक लोड सेडिङमुक्त भएको घोषणा गरेको छ । प्राधिकरणका अनुसार विद्युतसेवा उपलव्ध भएका ठाउँहरूमा अब प्राविधिक कारणबाहेक विद्युत आपूर्ति बन्द हुनेछैन । प्राधिकरणले २०७३ कात्तिकमा काठमाडौं उपत्यकाबाट लोड सेडिङ अन्त्यको सुरुआत गरेको थियो । त्यसअघि औद्योगिक क्षेत्रलाई विद्युत दिएर आमउपभोक्ताका लागि दैनिक १४ घण्टासम्म विद्युत कटौति हुन्थ्यो । तत्कालीन ऊर्जा मन्त्रालयमा जनार्दन शर्मा मन्त्री र उनकै पहलमा विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा कुलमान घिसिङ आएपछि विद्युत आपूर्तिमा सुधार भएको हो । प्राधिकरणले औद्योगिक क्षेत्रमा कामको समय व्यवस्थापन गरी केही घण्टा विद्युत कटौति गरेर आमउपभोक्तालाई दियो । चुहावट नियन्त्रण र वितरण व्यवस्थापनका कडाइ ग¥यो । अन्ततः औद्योगिक क्षेत्रले पनि चौबीसै घण्टा विद्युत पाउन थालेको छ । 

हाल विद्युतसेवा पुगका क्षेत्र लोड सेडिङमुक्त भए पनि विद्युत खपत अत्यन्त थोरै छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल कुल १०७३ मेगावाट क्षमताका विद्युत आयोजनाहरू राष्ट्रिय प्रणालीमा आबद्ध छन् । अझै राष्ट्रिय प्रणालीमा उच्चतम माग १३०० मेगावाट छ । आन्तरिक उत्पादनले माग पूरा गर्दैन । हाल भारतबाट ४५० मेगावाट आयत गरिएको छ । अझै पनि विद्युत सेवा नपाउने जनसंख्या ठूलो छ । अझै पनि दाउरामा खाना पकाउने जनसंख्या करिब ७० प्रतिशत छ । धेरै ग्रामीण क्षेत्रमा विद्युत पुगेको छैन । राष्ट्रिय प्रसारण नपुगेका धरै ठाउँमा स्थानीय उत्पादनले केही उज्यालो दिएको छ । सबै जनसंख्याले विद्युत उपभोग गर्न पाएपछि मात्रै साँचो अर्थमा लोड सेडिङ अन्त्य हुनेछ । 

विद्युत उत्पादनमा आशलाग्दो अवस्था छ । दश वर्षमा १५ हजार मेगावाट भन्नेजस्तो महŒवाकांक्षा पूरा भए वा नभए पनि निर्माणाधीन आयोजनाहरू निर्धारित समयमा सम्पन्न हुन सके करिब दुई वर्षमा हालको माग आन्तरिक उत्पादनले नै पूरा गर्न सक्नेछ । त्यसपछि क्रमशः बढ्ने माग पनि आन्तरिक उत्पादनले पूरा गर्दै जानेछ । धेरै उत्पादन केन्द्रहरू ‘रन अफ रिभर’ प्रणालीमा आधारित रहेकाले पानीको वहाव घट्दा उत्पादन घट्ने र वहाव बढ्दा पूरा खपत नहुने अवस्था हुन्छ । प्रसारण लाइनहरूको स्तरोन्नति र तिनको पूर्ण क्षमतामा उपयोग, चुहावट नियन्त्रण लगायतबाट विद्युत आपूर्ति नियमित भएपछि खपत बढ्दै जान्छ । विद्युतसेवा विस्तार गर्ने र प्रयोग बढाउनेतर्फ सरकार अघि बढ्नु पर्छ । 

नियमित आपूर्तिका लागि माग अनुसारको उत्पादन आवश्यक पर्छ । यससँगै कुशल व्यवस्थापन क्षमता कति महŒवपूर्ण हुँदोरहेछ भन्ने तथ्य विद्युत प्राधिकरणको वर्तमान व्यवस्थापनले गरेर देखाएको छ । हालका ग्राहकका लागि लोड सेडिङ नहुने गरी आपूर्तिको प्रबन्ध भएको छ । प्रणालीमा देखापर्ने प्राविधिक समस्या लगायतका कारणले समय समयमा अचानक आपूर्ति बन्द हुने समस्या छ । यस्तो समस्या हुन नदिन प्रसारण प्रणालीमा सुधार गर्दै जानु आवश्यक छ । लोड सेडिङ नहुनुसँगै प्रसारण प्रणाली चुस्त हुनु पनि उत्तिकै आवश्यक छ । यसले नै खपत पनि बढाउने छ । गार्हस्थ उपभोग वृद्धिले पेट्रोलियम इन्धन र दाउराको खपत घटाउने छ । नियमित आपूर्तिले औद्योगिक क्षेत्र विस्तार हुनेछ । जसले वस्तु उत्पादन वृद्धिसँगै निर्यात बढ्नेछ, आयात प्रतिस्थापन हुनेछ । 


Views: 7

सम्बन्धित सामग्री:

स्वस्थ मासुका लागि

: Monday, 15 October, 2018 (2:43:47 PM)