16th December | 2018 | Sunday | 11:49:12 AM

सर्वसत्तावादको संकेत

  POSTED ON : Wednesday, 30 May, 2018 (3:16:38 PM)

सर्वसत्तावादको संकेत

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संघीय समाजवादी फोरम (संजफो) सँग अर्थपूर्ण सहमति गरेको छ । सहमतिअनुसार नेकपा ‘देश र जनताको पक्षमा आपसी सहमतिका आधारमा संविधान संशोधन गर्न’ सहमत भएको छ भने यही आधारमा संजफो संघीय सरकारमा सहभागी हुनेछ । प्रदेश २ मा संजफो र राजपा नेपालको संयुक्त सरकार छ । संसदीय निर्वाचनदेखिको सहयात्री राजपा नेपाललाई छाडेर संजफो एक्लै संघीय सरकारमा सहभागी हुने भएको छ । प्रदेश २ को सत्तामा संजफो र राजपा नेपालको गठबन्धन यथावत छ तर नेकपाले समर्थन फिर्ता लिएको छ । प्रदेशमा समर्थन फिर्ता र केन्द्रमा सहमति अर्थपूर्ण छ । 

प्रदेश २ मा नेकपाले समर्थन फिर्ता लिनुको कारण भने निकै अनौठो छ । प्रदेश २ मा तत्कालीन नेकपा एमाले तेस्रो दल थियो । सरकारलाई समर्थन गरे पनि तत्कालीन एमालेले मुख्य विपक्षी दलको मान्यता पाउन दाबी गरेको थियो । सरकारलाई समर्थन गरेर सत्तापक्ष पनि हुने तर पार्टी सरकारमा सहभागी नभएको जिकिर गरेर मुख्य विपक्षी दलमा दाबी गर्नु आपसमा विरोधाभासपूर्ण थियो । पार्टी एकीकरण भई नेकपा बनेकै दिन प्रदेश २ का सभामुखले नेपाली कांग्रेसलाई मुख्य विपक्षी दलको मान्यता दिएपछि नेकपाले सरकारबाट समर्थन फिर्ता ग¥यो । सभामुखको निर्णय संविधान विपरीत रहेको नेकपा नेताहरूको आरोप छ । सरकारले राम्रो काम गर्न सकेन भन्ने अर्को आरोप चाहिँ पूरकमात्रै हो । 

सरकारलाई समर्थन कायमै राखेर मुख्य विपक्षी दलको मान्यता खोज्नु र मान्यता नदिने सभामुखको निर्णय संविधान विपरीत हो भन्ने आरोप लगाउनु मिचाहा प्रवृत्ति हो । सरकारलाई समर्थन नगरेका दलहरू विपक्षी हुन् र यीमध्ये ठूलो दल मुख्य विपक्षी हो । प्रचलित मान्यता यही हो । संवैधानिक व्यवस्था पनि यही हो । प्रदेश २ मा नेकपाले मुख्य विपक्षी दलको मान्यता नपाएको विषयमा केन्द्रीय नेताहरूले पनि सभामुखको निर्णयलाई असंवैधानिक भनेका छन् । 

हामीले अवलम्बन गरेको संसदीय प्रणालीमा मुख्य विपक्षी दलको संवैधानिक मान्यता छ । मुख्य विपक्ष विपक्षीसत्ता हो । राज्यसत्ता र विपक्षी सत्तामा एउटै दल एकसाथ रहन सक्दैन । सरकारलाई समर्थन नदिएको दलमात्रै विपक्ष हो । सत्तापक्षमा रहेरै विपक्षीसत्ता दाबी गर्नु विपक्षीप्रति नेकपा अनुदार रहने सर्वसत्तावादको संकेत हो जो संदीय लोकतन्त्र विपरीत छ । सरकारमा सहभागिता, सरकारलाई समर्थन वा सत्ता गठबन्धनमा फेरबदल भइरहन सक्छ । यही प्रक्रिया अन्तर्गत हो संजफो केन्द्र सरकारमा सहभागी हुने सहमति । यो स्वाभाविक राजनीतिक प्रक्रिया हो तर राज्यसत्ता र विपक्षीसत्ता एउटै दलले दाबी गर्नु लोकतन्त्र होइन ।   


Views: 18

सम्बन्धित सामग्री:

अस्थिर शेयर बजार

: Thursday, 13 December, 2018 (2:07:34 PM)

प्रदेश परिषद् बैठक

: Tuesday, 11 December, 2018 (2:07:22 PM)