16th December | 2018 | Sunday | 10:56:07 AM

अब दृढतापूर्वक कार्यान्वयन

  POSTED ON : Thursday, 31 May, 2018 (1:16:28 PM)

अब दृढतापूर्वक कार्यान्वयन

अर्थमन्त्री डा. युवराज खतिवडाले विगतका कम्युनिष्ट अर्थमन्त्रीको तुलनामा बढी यथार्थपरक रूपमा राजश्व र व्ययको अनुमान (वार्षिक बजेट) पेश गरेका छन् । आर्थिक वर्ष २०७५÷७६ का लागि प्रस्तुत यो बजेटलाई अर्थमन्त्रीले सुखी नेपाली र समृद्ध नेपाल बनाउने प्रस्थानबिन्दु भनेका छन् । बजेटमा नीति तथा कार्यक्रमा प्रस्तुत भएका केही महŒवाकांक्षा पूरा गर्नेतर्फ कदम चाल्ने प्रयास गरिएको छ तर अर्थमन्त्रीले ठूलो जोखिम उठाउन खोजेका छैनन् । एक बहुमतले पाँच वर्ष कार्यकाल पक्का रहेको ठानिएको सरकारका प्रधानमन्त्रीका लागि मतदाता खुसी पार्नुपर्ने बाध्यता नरहेकोले होला बजेट लयबद्ध नाराबाट मुक्त छ । सम्भवतः अर्थमन्त्रीले ठूलो जोखिम उठाउनु पर्ने लोकरिझ्याइँ गर्नै पर्ने आवश्यकता देखेनन् । 

बजेटले शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणमा विशेष जोड दिएको छ । रोजगारी अभिवृद्धिका कार्यक्रमहरू पुरानै हुनु, केही परिमार्जनमात्रै गरिएको छ । आकर्षक सुनिने ती कार्यक्रमले युवा जमातलाई कति आकर्षण गर्नसक्छ, त्यो कुरा बजेट कार्यान्वयनमा सरकारको प्रतिबद्धतामा भर पर्नेछ । उत्पादन वृद्धिका घोषणाहरू कसरी पूरा हुन्छन् भन्ने आधार बजेटले दिँदैन । पाँच वर्षमा कृषि उत्पादन दोब्बर बनाउने घोषणा छ र यही अवधिमा सिँचाइयोग्य सबै भूमिमा सिँचाइ पु¥याउने लक्ष्य छ । लक्ष्य पूरा गर्न प्रत्येक वर्ष हासिल हुने प्रगति निर्धारण गरेर कार्यान्वयन गर्नुपर्नेछ । अहिलेको अवस्थामा एक वर्षमा आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य निकै महŒवाकांक्षी छ । 

राजश्वका करिब एक तिहाइ स्रोतहरू प्रदेश सरकारमा गएका छन् । यी स्रोतहरू राष्ट्रिय बजेटमा नपरेपछि स्वाभाविकरूपमा राष्ट्रिय बजेटको आकार चालु आर्थिक वर्षको तुलनामा करिब ३७ अर्बले मात्रै बढी छ । आकार सानै देखिए पनि राजस्वको लक्ष्य भने सानो होइन । वैदेशिक ऋण÷सहायता र आन्तरिक ऋण उठाउने लक्ष्य पनि धेरै सहज छैन । विगत वर्षहरूमा राजस्व लक्ष्य भेटाउन कठिन नभए पनि न्यूनपूर्तिमा समस्या देखिने गरेको छ । स्वेतपत्रमा अर्थतन्त्रको जुन भयावह चित्र देखाइएको थियो, बजेटमा प्रस्तुत तथ्यांक र लक्ष्यहरूले अर्थमन्त्रीको भाष्यमा विचलनको आभास दिएको छ । चौतर्फी आलोचना भएको निर्वाचन क्षेत्रमा सांसदको तजविजमा खर्च हुने बजेट अर्थमन्त्रीले रोक्न सकेनन् यद्यपि उनले खर्च गर्ने प्रक्रियामा भने कडाइ गरेका छन् । 

राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष भइसकेका, राष्ट्रबैंकमा गभर्नर भइसकेका जानेमानेका अर्थमन्त्री डा खतिवडाले बजेटमा वित्तीय अनुशासन कायम गर्न निकै जोड दिएका छन् । बजेट आफैँ एउटा आर्थिक दस्तावेज हो, यसमा विज्ञ अर्थशास्त्री अर्थमन्त्रीले प्राविधिक पक्षमा जोड दिएका छन् । कार्यक्रमका हिसाबले बजेट नौलो छैन, नयाँ कार्यक्रमहरू धेरै छैनन् र अर्थमन्त्री कार्यान्वयनमा निकै सतर्क देखिएका छन् । राजनीतिक पहुँचका आधारमा विचलित नभई कार्यान्वयनमा अर्थमन्त्री खरो उत्रिन सके भने आर्थिक वर्ष ०७५÷७६ त्यसपछिका लागि आधार वर्ष हुनसक्नेछ । कार्यान्वयनमा विचलन आए, पहुँचका भरमा रकमान्तर हुनथाले अनि भ्रष्टाचार र ढिलासुस्तीमा नियन्त्रण नभए यो बजेटले सुखी नेपाली र समृद्ध नेपालका लागि फड्को मार्नेछैन ।   

 


Views: 17

सम्बन्धित सामग्री:

अस्थिर शेयर बजार

: Thursday, 13 December, 2018 (2:07:34 PM)

प्रदेश परिषद् बैठक

: Tuesday, 11 December, 2018 (2:07:22 PM)