21st August | 2018 | Tuesday | 3:26:17 PM

सार्क र बिमस्टेकको औचित्य

  POSTED ON : Tuesday, 05 June, 2018 (2:38:58 PM)

सार्क र बिमस्टेकको औचित्य

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) र बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (बिमस्टेक) स्थापनाको उद्देश्यअनुरूप चल्न नसकेको चर्चा बारम्बार भइरहेको छ । क्षेत्रीय सहयोगलाई प्रवद्र्धन गर्ने उद्देश्यबाट स्थापना भएका यी दुवै संगठनको गति कछुवाको जस्तो छ ।

नेपाल अहिले यी दुवै संगठनको अध्यक्ष राष्ट्र हो । पाकिस्तानमा हुनुपर्ने सार्कको अठारौं शिखर सम्मेलन कहिले हुने तिथी अझैं तय हुन नसके पनि बिमस्टेक बैठकको मिति भने नेपालले प्रस्ताव गरेको छ । बिमस्टेकको चौथो शिखर सम्मेलन आगामी भदौमा काठमाडौंमा आयोजना गर्न नेपालले सदस्य राष्ट्रसँग प्रस्ताव गरेको छ । मन्त्रिपरिषद्को गत आइतबारको बैठकले बिमस्टेकको चौथो शिखर सम्मेलन आगामी भदौ १४ देखि १५ वा २१ देखि २२ गते नेपालमा आयोजना गर्न सम्बन्धित सदस्य राष्ट्रसमक्ष प्रस्ताव गर्ने निर्णय गरेको हो । 

सन् १९९७ जुलाईमा स्थापना भएको बिमस्टेकका सदस्य राष्ट्रमा नेपाल, बंगलादेश, भारत, म्यान्मार, श्रीलंका, थाइल्याण्ड र भुटान छन् । बिमस्टेकको नामबाटै आर्थिक र प्राविधिक सहयोग सामुहिक प्रयास गर्ने कुरा खुल्दछ । तर, के कति अहिलेसम्म सहयोग आदानप्रदान गरिए, त्यसबाट सदस्य राष्ट्रहरू कति लाभान्वित भए भन्ने ठोस जानकारी हुन सकेको छैन । 

अर्कातर्फ सन् १९८५ को डिसेम्बरमा स्थापना भएको सार्कको बडापत्र अनुसार हरेक वर्ष शिखर सम्मेलन हुनुपर्नेमा त्यसो हुन सकेको छैन । स्थापनाको करिब ३३ वर्ष भइसक्दा १८ वटा शिखर सम्मेलन हुन नसक्नुले यसको गतिलाई सहजै अनुमान गर्न सकिन्छ । काठमाडौंमा सार्कको सचिवालय रहेकाले नेपाल यस संगठनको राजधानी हो भन्दा अतिशयोक्ति हुँदैन । 

युरोपका राष्ट्रहरू मिलेर युरोपेली संघ (इयु) स्थापना भएपछि त्यस खालका क्षेत्रीय संगठनबाट भएको प्रगति र प्राप्त बललाई ध्यान दिँदै दक्षिण एशियाका तत्कालीन नेताहरूले सार्कको अवधारणा ल्याएका हुन् । खुला सीमा, स्वतन्त्र व्यापार र साझा मुद्राको लक्षसम्बन्धी अवधारणा त्यतैको सिको गरिएको हो । तर, युरोपेली संघ (इयु) बाट बेलायत बाहिरिने अवस्थामा पुगेको पछिल्लो अवस्थामा इयुको सिको गर्दै स्थापना भएको सार्कको औचित्यतामाथि प्रश्न नउठेको होइन । त्यसैले सार्कलाई जिउँदो जाग्दो रूपमा राख्ने हो भने आफ्ना गतिविधि यस क्षेत्रका जनताको समसामयिक समस्यामा केन्द्रित गर्न जरुरी छ । त्यसो गर्न नसके यो संगठन औचित्यहीन संगठनमा रूपान्तरण हुने खतरा बढ्न जान्छ । 

सार्कका दुई सदस्य राष्ट्र भारत र पाकिस्तानबीच निरन्तर हुने खिचातानीले सार्क शिखर सम्मेलन नियमित रूपमा नहुन नसकेका हुन् । उनीहरूले यो विषय आफैंले बुझ्नुपर्ने हो । तर, नुबझिदिँदा यो संगठनको औचित्यतामाथि प्रश्न उब्जन पुगेको छ । केही दिनअघि सञ्चारकर्मीहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल सार्कको विकल्प खोज्ने पक्षमा नरहेको बताएका थिए । तर, विकल्प नखोज्ने हो भने यसलाई सही ढंगले सञ्चालन गर्न सक्नुप¥यो । सकिँदैन भने सधंै अल्झेर बसेरमात्रै नहोला । 

वर्षमा एक पटक भए पनि क्षेत्रीय नेताहरू भेट्ने वातावरण बन्नु ठूलो कुरा हुन्छ । सधैं झगडामात्रै गर्ने र वनभोज गएजस्तो मात्रै गर्ने तर, उपलब्धि शून्य हुने हो भने संगठनलाई काँध थापेर हिँड्ने कि नहिँड्ने भन्ने कुरामा गम्भीरतापूर्वक सोचौं । संगठन नै नहुनुभन्दा हुनु राम्रो हो । तर, तिनलाई चुस्त, दुरुस्त राखौं ताकि क्षेत्रीय समस्या समाधानमा औषधिको काम गर्ने वातावरण बन्न सकोस् । 


सम्बन्धित सामग्री:

सरकारका ६ महिना

: Monday, 20 August, 2018 (4:43:22 PM)

मुलुकी ऐनमा सरोकार

: Sunday, 19 August, 2018 (7:13:04 PM)