25th June | 2018 | Monday | 9:35:37 PM

बढ्दो वातावरण विनास

  POSTED ON : Wednesday, 06 June, 2018 (3:19:58 PM)

बढ्दो वातावरण विनास

यस वर्ष विश्व वातावरण दिवसमा सरकारले अलिक बढी चासो राख्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मन परेको फलफूलको विरुवा रोप्न आमनेपालीमा आहृवान गरे । उनले सिंहदरबार परिसरमा विरुवा रोपे । अरू मन्त्री पनि संलग्न भए । अंग्रेजी पात्रोअनुसार प्रत्येक वर्ष जुन ५ मा विश्व नेपालमा पनि वातावरण दिवस मनाउने गरिएको भए पनि प्रधानामन्त्री स्तरबाट चासो राखेर विरुवा रोप्न आहृवान गरिएको सम्भवतः यो पहिलो पटक हो । वर्षभरि मनाइने राष्ट्रिय–अन्तर्राष्ट्रिय दिवसहरू प्रायः औपचारिकतामा सिमित रहन्छन् । दिवसका अवसरमा ठोस परिवर्तन गर्ने किसिमको आहृवान गर्ने, कुनै नयाँ कामको थालनी गर्ने र आमरूपमा जनचेतना अभिवृद्धि गर्नेजस्ता काममा ध्यान जानुपर्ने भए पनि कर्मकण्डीमात्रै हुने गरेको छ । 

विश्व वातावरणको अवस्था निकै खस्केको छ । बढ्दो विश्वव्यापी तापमान र यसको परिणामस्वरूप हिँउ पग्लिने क्रम बढ्दो छ । नेपालको हिमाली क्षेत्रमा हिमरेखा माथितिर सर्दै गएको भन्ने रिपोर्ट आउन थालेको छ । हिमालहरू काला टाकुरामा परिणत हुने खतरा बढ्दो छ । समुद्र सतहको उचाइ बढ्दै जाँदा समुद्री किनारका शहरहरू खतरामा पर्न थालेका छन् । कार्बन डाइअक्साइड र अन्य औद्योगिक ग्यासको बढ्दो प्रयोगले वायुमण्डमा ओजोन तहको विनाश पनि बढ्दै गएको छ । वनजंगल र वन्यजन्तुहरू मासिने क्रममा छन् । जमिनमा बढेको प्रदूषणका कारणले कृषि उत्पादन घट्दो क्रममा छ । भूमिगत पानीको सतह झन् झन् गहिराइतिर जाँदैछ । बढ्दो वातावरण विनासले जैविक विविधतामा असर परेको छ । 

यो दृष्टान्तमात्रै हो । वातावरण विनासको क्षेत्र र प्रभाव व्यापक छ । विश्वव्यापी तापमान वृद्धि र वातावरण विनासमा नेपालजस्तो मुलुकको योगदान नगन्य छ । नेपालले वातावरण संरक्षणमा समग्रमा राम्रो काम गरेको छ । मुलुकको भूभागको एक तिहाइभन्दा बढी संरक्षित क्षेत्र छ । यसो भए पनि वातावरण विनासको क्रम भने बढ्दो छ । नेपाल दुई ठूला औद्योगिक मुलुक भारत र चीनको बीचमा रहेकोले यहाँको प्राकृतिक वातावरणमा ती मुलुकको औद्योगिक प्रदूषणको असर पर्छ । बढ्दो वातावरण विनासप्रति विश्वभर चिन्ता प्रकट भइरहेको छ । ओजोन तह विनास, तापमान वद्धि र जैविक विवधतामा बढ्दो ह्रास नियन्त्रण गर्न नसके मानव अस्तित्व नै गम्भीर संकटमा पर्ने चेतावनी विज्ञ अध्येताहरूले दिएका छन् । 

वातावरण संरक्षणको राष्ट्रिय कार्यक्रमसँगै जनस्तरको आधारभूत तहसम्म चेतना अभिवृद्धि अनिवार्य छ । जनसहभागिता नभई वातावरण संरक्षण सम्भव छैन । वातावरण संरक्षणका स्थानीय स्तरमै प्रयास हुनुपर्छ । सबै स्थानीय तहहरू र प्रदेश सरकारहरूले वातावरण संरक्षण र प्रदूषण नियन्त्रणका मापदण्डहरू बनाउनु पर्छ । मौजुदा कानुनहरूको कार्यान्वयन प्रभावकारी बनाउनुपर्छ । स्थानीय कानुन बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । वनक्षेत्र कति कायम राख्ने, कृषिभूमिको संरक्षण कसरी गर्ने, जैविक विविधता संरक्षणका लागि जनसहभागिता कसरी बढाउने जस्ता विषयमा गम्भीरतापूर्वक कार्यक्रमहरू कार्यान्वयन गर्नुपर्छ । वातावरण संरक्षणमा नेपालको अवस्था आशलाग्दो छ तर संरक्षण कार्य थप प्रभावकारी बनाउन भने आवश्यक छ । वातावरण संरक्षण एक दिनको नभई दैनिक जीवनको प्रक्रिया बन्नुपर्छ । 




सम्बन्धित सामग्री:

लेटर ग्रेडिङ र एसइइ

: Monday, 25 June, 2018 (12:22:42 PM)

दूध कृषकको विडम्बना

: Friday, 22 June, 2018 (1:08:35 PM)