19th October | 2018 | Friday | 9:43:35 PM

नियमावली अल्मल्याउने नियत

  POSTED ON : Friday, 08 June, 2018 (1:16:42 PM)

नियमावली अल्मल्याउने नियत

प्रतिनिधिसभाले आफ्नो नियमावली बनाउन सकेको छैन । तीन महिना बितिसक्दा समेत अन्तरिम नियमावलीका भरमा बैठक सञ्चालन हुँदै आएको छ । नयाँ नियमावली नबन्दा संसदीय समितिहरू गठन हुन सकेका छैनन् । फौजदारी अभियोग लागेको सांसदलाई नियमावलीले निलम्बन गर्ने कि नगर्ने भन्ने विवाद सत्तापक्ष र विपक्षका बीचमा छ । मुख्य विपक्षी दल नेपाली कांग्रेसले बैठकको अनुशासन र मर्यादा कायम राख्ने बाहेकका अभियोगमा नियमावलीले सांसदलाई निलम्बन गर्न नहुने अडान लिएको छ । फौजदारी अभियोगमा सांसदलाई नियमावलीले नभई कानुनी आधारमा निलम्बन गर्नुपर्ने तर्क गरेको छ । सत्तापक्ष कांग्रेसको तर्कमा सहमत छैन । यही विवादले नियमावली अल्झेको छ । 

संसदमा सरकारले विपक्षी दलसँग सहमति बनाएर अघि बढ्ने प्रयास गर्नु सकारात्मक हो । सत्तापक्षका नेताहरूले सहमतिमै नियमावली बनाउन चाहेको बताउँदै आएका छन् तर नियमावलीमा सांसद निलम्बन हुने व्यवस्था हुनुपर्ने उनीहरूको अडान छ । दुवै पक्ष आफ्ना अडानमा छन् । निलम्बनका विषयमा सत्तापक्षमै पनि एकमत छैन । एकीकरण भएर नेकपा बन्नुअघिका दुई दल एमाले र माओवादी केन्द्रकै बीचमा भिन्न मत थियो । माओवादी खेमा कांग्रेसको धारणासँग नजिक थियो । मधेश केन्द्रित दलहरू पनि कांग्रेसको धारणासँग नजिक छन् । सत्तापक्षले नियमावलीको दुरुपयोग गर्न सक्ने शंका कांग्रेसलाई छ । यसैले कांग्रेस नियमावलीअनुसार नभई कानुनअनुसार सांसदमाथि कारबाही होस् भन्ने पक्षमा देखिएको छ ।

प्रश्न उठ्छ, सहमति नभए प्रतिनिधिसभाले आफ्नो नियमावली बनाउँदैन ? नेकपा एक्लैसँग सुविधाजनक बहुमत छ । सत्तापक्षसँग दुई तिहाइभन्दा बढी मत छ । सहमति नभए बहुमतबाट नियमावली पारित गर्न सत्तापक्षलाई केले अवरोध गरेको छ ? निश्चयन नै, सहमतिको प्रयास सकारात्मक हो तर सहमतिका गर्ने नियमावली नबनाउनु कतै अझै पर सार्दै जाने सत्तापक्षको नियत त होइन भन्ने प्रश्न उठ्नु स्वाभाविक हुन्छ । संसदीय सुनुवाई समिति गठन नहुँदा प्रधानन्यायाधीशको नियुक्ति हुन सकेको छैन । अख्तियार दुरुपयोग अनुसान्धान आयोग पनि कार्यवहाकका भरमा छ । यी नियुक्तिहरूको निर्णय गर्ने संवैधानिक परिषदको बैठक राख्न प्रधानमन्त्री केपी शर्मा ओली उदासीन देखिएका छन् । 

सहमति नभए बहुमतबाट विधिसम्मत निर्णय गरेर अवरुद्ध प्रक्रियाहरू फुकाउन सत्ताक्ष तयार हुनुपर्छ । विपक्षलाई देखाएर अलमल गर्नु या त सत्तापक्षको अर्कमन्यता हो या अरुचि । यसबाहेक प्रतिनिधिसभा नियमावली पारित गर्न सत्तापक्ष अलमलिनु पर्ने अर्को कारण छैन ।  

 


Views: 2

सम्बन्धित सामग्री:

स्वस्थ मासुका लागि

: Monday, 15 October, 2018 (2:43:47 PM)