19th October | 2018 | Friday | 8:39:35 PM

पुँजीगत खर्चमा सामथ्र्य बढाऔँ

  POSTED ON : Sunday, 10 June, 2018 (5:45:25 PM)

पुँजीगत खर्चमा सामथ्र्य बढाऔँ

मुलुकमा पुँजीगत खर्चको अवस्था केही वर्षयता निकै निराशाजनक छ । शान्ति प्रक्रियाको संक्रमणकालीन अवस्थामा अपवादबाहेक संसद्मा समयमा बजेट पेश नै हुन पाएन । बजेट पेश हुन नपाएर अविधेशन अन्य गर्नुपर्ने अवस्था सिर्जना भयो । बजेट पेश नभएर पेश्कि खर्चले काम चलाउनु प¥यो । संक्रमणकालको नाममा पुँजीगत बजेट आधाआधि मात्रै खर्च हुन सक्यो । लक्ष्य पूरा हुने त कुरै भएन । परिणामस्वरूप आर्थिक वर्षको अन्त्यमा जथाभावी खर्च गरेर बजेट  सक्ने, काम हुन नसकेको आयोजनाबाट पहुँचवालाले व्यक्तिगत र राजनीतिक स्वार्थका आधारमा रकमान्तर गर्ने विकृति फैलियो । सबै सरकारले आआफ्ना पालामा यसै गरे । वर्षान्तमा हतारमा खर्च गरिएको काममा गुणस्तरीय भएन । 

यस्तो विकृति अन्त्य गर्न राजनीतिक दलहरूले संसद्मा बजेट पेश हुने मिति नै तोकिदिए । यस अनुसार तेस्रोपटक बजेट पेश भएको छ । गत आर्थिक वर्षमा पनि पुँजीगत खर्चको अवस्था निराशाजनक नै रहृयो । चालु आर्थिक वर्षको अब एक महिना बाँकी छ । यस वर्ष पनि हालसम्मको अवस्था उत्साहजनक छैन । चलनअनुसार अन्तिम महिनातिर हतारमा बजेट खर्च गर्दा पनि लक्ष्यभन्दा निकै कम खर्च हुने देखिएको छ । समग्रमा हेर्दा पुँजीगत खर्चमा उपलव्धिमूलक बढोत्तरी भएको छैन । यसै पनि चालु खर्चको तुलनामा पुँजीगत खर्च बढ्दै गएको छ, त्यसमाथि विनियोजित बजेट खर्च हुन सकेको छैन । उपलव्धिमूलक ढंगले पुँजीगत बजेट खर्च हुन नसके विकास आयोजनाहरू निर्धारित समयमा पूरा हुँदैनन् । 

विगतमा पनि सरकारहरूले पुँजीगत खर्चको लक्ष्य पूरा गर्न प्रयास नगरेका होइनन् र अपेक्षित परिणाम हासिल हुन सकेन । वर्षको करिब आधा समय सकिएपछिमात्रै बजेट पठाउन सुरु हुने र यही बेलादेखि स्वार्थअनुसार रकमान्तरका लागि दाउ हेर्न थाल्ने कारणले गर्दा लक्ष्य कहिल्यै पूरा हुन सकेन । कुनै आयोजनामा अपेक्षित उपलव्धि हुने गरी खर्च हुनै नसक्ने अवस्था आयो भने खर्च गर्नै पर्छ भन्ने होइन र अर्को परिणाममुखी काममा रकमान्तर गर्नै नहुने पनि होइन तर यसमा विधि र प्रक्रिया लत्याएर स्वार्थ हावी भयो । यसले भ्रष्टाचार बढायो । बजेट खर्चको कतिपय प्रक्रिया झन्झटिलो भएकाले पनि असर परेको उच्च कर्मचारी र राजनीतिक नेतृत्वले बताउँदै आएका छन् तर यसमा सुधारको प्रयास भने भएको छैन ।

आगामी आर्थिक वर्षका लागि विनियोजित पुँजीगत खर्च पनि चालु खर्चभन्दा कम छ । लक्ष्यअनुसार खर्च हुन सकेन भने सरकारले भनेको समृद्धि भाषण र कागजमा सिमित हुनेछ । खर्चमा सुधार गर्न खर्च प्रणालीमा पनि सुधार गर्न आवश्यक छ । बजेटको अख्तियारी पाएका अधिकारीलाई जिम्मेवार र अख्तियार विश्वसनीय बनाउन आवश्यक छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असार १५ भित्रै कार्ययोजना पेश गर्न मन्त्रालयहरूलाई निर्देशन दिएका छन् । पुँजीगत बजेट लक्ष्यअनुसार खर्च गर्न नसक्नुमा सामथ्र्यको अभाव पनि एउटा कारण हो । संयन्त्रहरूको सामथ्र्य नबढाए अवस्था उही रहन सक्छ । सामथ्र्ययुक्त प्रणाली र बलियो अनुगमनले मात्रै पुँजीगत खर्चको उपलव्धि हासिल हुनेछ । 

 



Views: 6

सम्बन्धित सामग्री:

स्वस्थ मासुका लागि

: Monday, 15 October, 2018 (2:43:47 PM)