16th December | 2018 | Sunday | 12:32:01 PM

विश्व शान्तिमा नयाँ आयाम

  POSTED ON : Thursday, 14 June, 2018 (5:55:31 PM)

विश्व शान्तिमा नयाँ आयाम


विश्व समुदायका लागि मंगलबार ऐतिहासिक दिन बनेको छ । अमेरिका र उत्तर कोरियाका लागि उक्त दिनले नयाँ इतिहास नै रचेको छ । परस्पर शत्रुतापूर्ण सम्बन्ध रहँदै आएका यी दुई मुलुकका राष्ट्रप्रमुखस्तरमा मंगलबार पहिलोपटक भएको भेटवार्ताले विश्व शान्तिको दिशामा नयाँ आशा सञ्चार भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा भएको शिखर वार्ता ४ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेर सम्पन्न भएको छ । साथै, कोरियाली प्रायद्वीपलाई परमाणु निशस्त्रीकरण गर्ने दिशामा महŒवपूर्ण समझदारी भएको छ ।

दुई मुलुकले शान्ति र समृद्धिका लागि दुवै देशका जनताको चाहनाबमोजिम नयाँ अमेरिकी–उत्तर कोरियाली सम्बन्ध स्थापना गर्ने, कोरियाली प्रायद्वीपमा दिगो र स्थायी शान्ति निर्माण गर्न आपसी प्रयासलाई एकताबद्ध तुल्याउने तथा सन् २०१८ को अप्रिल २७ मा भएको पाम्मुन्जम घोषणापत्रप्रति समर्थन जनाउँदै कोरियाली प्रायद्वीपलाई पूर्ण परमाणु निशस्त्रीकरणका दिशामा काम गर्ने प्रतिबद्धता जनाएका छन् । अमेरिका र उत्तर कोरियाले युद्धबन्दी र लडाइँका क्रममा बेपत्ता भएकाहरूको अवशेष खोजी गर्ने र पहिचान भइसकेका पार्थिव अवशेष सम्बन्धित देशमा तत्काल पठाउन पनि प्रतिबद्धता जनाएका छन् ।

यो शिखरवार्ता र सहमतिबारे विश्व समुदायले खुशी व्यक्त गरेको छ । १२ जुनका लागि एक महिनाअघि नै निर्धारित शिखरवार्ता आपसी असमझदारीका कारण बीचमा अनिश्चित बनेको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले नै वार्ता स्थगित भएको घोषणा गरेका थिए । तर, नाटकीय रूपमा परिस्थितिले कोल्टे फे¥यो । उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनबीच एक महिनामै दोस्रोपटक भएको भेटवार्ताले अमेरिका–उत्तर कोरिया शिखर वार्ता सुनिश्चितमात्र गरेन, बहुप्रतीक्षित वार्ता सफल तुल्याउन महŒवपूर्ण धरातल निर्माण गरिदियो ।

आधुनिक शस्त्रको भीडमा पनि शक्तिशाली मुलुकहरूबीच छलफल तथा वार्ताबाटै समस्याको निकाश सम्भव छ भन्ने तथ्य उत्तर कोरिया–अमेरिका शिखर वार्ताले पुष्टि गरेको छ । कुनै पनि मुलुक सदाका लागि कसैको स्थायी शत्रु हुँदैन भन्ने दृष्टिकोण पनि यो शिखर वार्ताले अझ प्रष्ट र सार्थक तुल्याएको छ । मंगलबारको वार्तापछि अन्तर्राष्ट्रिय शक्ति सन्तुलन तथा सामरिक प्रतिस्पर्धामा नयाँ समीकरण निर्माण भएको छ । यी दुई मुलुकले यसरी एक अर्कालाई मित्रवत व्यवहार गरेको परिदृश्यले विश्वमा अब कुनै पनि बहानामा युद्धको औचित्य साँघुरिँदै गएको गतिलो उदाहरण पेश गरेको छ । 

ट्रम्प र किम चाँडै अर्को चरणको वार्तामा बस्न राजी भएका छन् । आगामी दिनमा हुने वार्ताले मंगलबार भएको चार बुँदे सहमतिको दायरा अझ फराकिलो तुल्याउँदै कोरियाली प्रायद्वीप युद्धको छायाँबाट सदाका लागि मुक्त भएको विश्वासिलो आधार निर्माण गर्ने अपेक्षा गरिएको छ । अमेरिका र उत्तर कोरियाबीच शिखर वार्ताका लागि चीन र दक्षिण कोरियाले निर्वाह गरेको सहयोगी भूमिका महŒवपूर्ण छ । एक्काइसौं शताब्दीलाई परमाणु हतियारको त्रासबाट मुक्त तुल्याई विश्वलाई सुरक्षित महसुस गराउन सबै मुलुक, खासगरी शक्ति राष्ट्रहरूले संयम, संवाद र सहकार्यको भावनालाई नै बढी जोड दिनु अमेरिका–उत्तर कोरिया शिखर वार्ताको सन्देश हो । अमेरिका र उत्तर कोरियाले मात्र नभई अन्य सहयोगी मुलुकले समेत मंगलबार भएको शिखर वार्ताका उपलब्धिको रक्षा गर्र्दै विश्व शान्तिको दायरा फराकिलो तुल्याउन आआफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्छ ।  


Views: 21

सम्बन्धित सामग्री:

अस्थिर शेयर बजार

: Thursday, 13 December, 2018 (2:07:34 PM)

प्रदेश परिषद् बैठक

: Tuesday, 11 December, 2018 (2:07:22 PM)