23rd July | 2018 | Monday | 6:15:35 AM

लेटर ग्रेडिङ र एसइइ

  POSTED ON : Monday, 25 June, 2018 (12:22:42 PM)

लेटर ग्रेडिङ र एसइइ

परीक्षा नियन्त्रण कार्यालयले २०७४ सालको विद्यालय शिक्षा परीक्षा (एसइइ) को नतिजा सार्वजनिक ग¥यो । प्राविधिकतर्फ तेस्रोपटक र साधारण विद्यालयतर्फ दोस्रोपटक लेटर ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएको हो । नतिजापछि गत वर्षझैँ प्रतिक्रियाहरू सार्वजनिक भएका छन्– सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्कियो, लेटर ग्रेडिङ भनिए पनि शिक्षण उपलव्धि र परीक्षा प्रणालीमा सुधार भएन, उत्तरपुस्तिका परीक्षणमा विगतकै शैलीमा अंक दिएर अक्षरमा रूपान्तरण गरियो । यी प्रतिक्रियाहरू स्वाभाविक छन् । शिक्षण–सिकाइ पद्धति उही हो, परीक्षा र उत्तरपुस्तिका परीक्षण उही हो । केवल विद्यार्थीले पाएको अंकलाई लेटर ग्रेडमा रूपान्तरण गरिएको हो । लेटर ग्रेड अन्तर्राष्ट्रिय पद्धति हो भन्नेबाहेक नीति निर्माताले औचित्य बुझाउन सकेका छैनन् । 

लेटर ग्रेडिङले विद्यार्थी र अभिभावकलाई लाभ भएको छ । कुनै विषयमा उत्तीर्णाङ्क नपुगेर अल्झिनुपर्ने बाध्यताबाट विद्यार्थीलाई मुक्ति मिलेको छ । गणित, विज्ञान वा अंग्रेजीमा थोरै अंकले उनुत्तीर्ण भएर रोकिनु नपरेपछि उच्च शिक्षामा यी विषय नरोज्ने विद्यार्थीहरूले सिपमूलक प्राविधक वा अन्य साधारण विषय पढ्न पाउने भए । यससँगै उनुत्तीर्ण भइँदैन भन्ने भएपछि विद्यार्थीहरूमा मिहिनेत र प्रतिस्पर्धाको भावना घटेको कतिपय शिक्षकको गुनासो सुनिने गरेको छ । कतिपय विद्यार्थीले ए वा ए प्लस ल्याउँछु भनेर मिहिनेत गर्ने गरेको पनि शिक्षकहरू नै बताउँछन् । अनुत्तीर्ण भइँदैन भन्ने भावको सकारात्मक पक्ष पनि छ– उत्तीर्ण हुनै पर्ने दबाब कम हुँदा सिकाइ प्रक्रिया सहज भएको अनुभव सुनाउने शिक्षकहरू पनि छन् । 

लेटर ग्रेडिङ विद्यार्थीको सिकाइ क्षमता, उसले हासिल गरेको सिप र व्यक्तित्वको निरन्तर मूल्यांकन हो । जुन शिक्षकले पढाएको हो उसले नै मूल्यांकन गर्ने प्रक्रिया हो । हाम्रो परीक्षा प्रणाली भने यसअनुकूल छैन । पूर्णतः कापी–कलम परीक्षा प्रणालीमा वर्षभरिको मूल्यांकन एकैपटक हुने गरेको छ । लेख्न सक्ने विद्यार्थीले मात्रै राम्रो अंक वा उच्च ग्रेड हासिल गर्छ । हाम्रो प्रणालीले लेख्ने सिपबाहेक अभिव्यक्तिका अन्य क्षमताको मूल्यांकन गर्दैन । प्रयोगात्मक परीक्षा नाममात्रको छ, खासमा परीक्षा नै हुँदैन । यस्तो अवस्थामा लेटर ग्रेडिङ प्रणालीले काम गर्दैन । विद्यार्थीले मिहिनेत गर्न छाड्यो भने उसको दोष होइन, प्रणालीको वैज्ञानिक प्रयोग हुन नसक्नुको दोष हो । 

सामुदायिक वा संस्थागत (निजी) विद्यालयमा शिक्षण प्रक्रियामा आधारभूतरूपमा ठूलो भिन्नता छैन । मूल्यांकन प्रणाली उही हो । विद्यार्थीको सिकाइ र मिहिनेत उसको पारिवारिक अवस्थामा पनि केही हदसम्म भर पर्छ । सामुदायिक विद्यालयका शिक्षक मिहिनेती नभएको, उनीहरूले लापरबाही गरेको भन्ने एउटा पाटो अवश्य छ, यससँगै विद्यार्थीको नतिजामा शिक्षक विद्यार्थी र अभिभावक तीनै पक्षको सहभागिता हुनुपर्छ भन्ने बिर्सन मिल्दैन । लेटर ग्रेडिङ प्रणाली प्रभावकारी बनाउन शिक्षण–सिकाइ र विद्यार्थी मूल्यांकनमा सुधार गर्न आवश्यक छ । लेटर ग्रेडिङको अभ्यास प्रारम्भिक चरणमा छ । अहिले नै दोष देख्नु उपयुक्त छैन । शिक्षाका नीति निर्माता र शिक्षकको प्रयासबाट परिस्कृत गर्न सकिन्छ ।  


सम्बन्धित सामग्री:

सिन्डिकेटको चलखेल

: Sunday, 22 July, 2018 (6:57:05 PM)

डा. केसी नहारून्

: Friday, 20 July, 2018 (2:50:21 PM)