18th November | 2018 | Sunday | 6:03:12 PM

धान दिवसको सार्थकता

  POSTED ON : Friday, 29 June, 2018 (12:54:21 PM)

धान दिवसको सार्थकता

यस वर्ष आज असार १५ गते ‘धान उत्पादनमा वृद्धि ः राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ पन्ध्रौँ राष्ट्रिय धान दिवस देशव्यापीरूपमा मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २००४ मा अन्तर्राष्ट्रिय धान वर्ष मनाइएपछि नेपालमा असार १५ गते राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन थालिएको हो । अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान संस्था (इरी) ले सन् २००४ मा नेपालले धान उत्पादनमा उच्च उपलव्धि हासिल गरेको (इयर एचिभ्स हाइ प्रोफाइल इन नेपाल) मूल्यांकन पनि गरेको थियो । वर्षमा दुई बाली हिँउदे र चैते धानखेती हुने गरेको छ । कुल धान उत्पादनमा चैते धानको हिस्सा करिब ७ प्रतिशत छ । कुल गार्हस्थ उत्पादनमा धानको योगदान करिब ७ प्रतिशत छ भने कृषि उत्पादनमा २१ प्रतिशत योगदान छ । हाम्रो देशमा करिब १५ लाख हेक्टर जमिनमा धान खेती हुने गरेको छ । मुख्य खाद्यान्न बालीमा मानिएका धान, मकै, गहुँ, कोदो, फापर र जौमध्ये धान मुख्य हो । बिहान–बेलुकाको मुख्य खानामा धानको चामल प्रयोग हुने गरेको छ । उत्पादन परिमाणको हिसाबले धान उत्पादन घटेको छैन तर बढ्दो जनसंख्याका लागि आन्तरिक माग हाम्रो उत्पादनले धान्न सकेको छैन । लक्ष्यअनुसार उत्पादकत्व बढ्न नसक्नु र खेतीको जमिन क्रमशः मासिँदै जानु यसका मुख्य कारणहरू हुन् । उत्पादकत्व नबढ्नुमा परम्परागत खेती प्रणाली र माटोको खस्कँदो गुणस्तर मुख्य कारकका रूपमा रहेका छन् । पर्याप्त सिँचाइ सुविधा नहुनु, व्यावसायिकीकरण हुन नसक्नु, गुणस्तरीय मल–बीउ लगायत आवश्यक कृषिसामग्री उपलव्ध नहुनु जस्ता कारणहरू पनि छन् ।

विज्ञहरूका आनुसार चैते धानको उत्पादकत्व बढी छ तर कुल धान उत्पादनमा चैते धान ७ प्रतिशत मात्रै छ । चैते धानको खेती विस्तार हुन नसक्नुमा सिँचाइ सुविधाको अभाव मुख्य कारण हो । सरकारले धान उत्पादनमा नीतिगत रूपमा जोड दिँदै आएको भए पनि किसानहरू भने धानखेतीको विकल्प खोज्न थालेका छन् । बढ्दो उत्पादन खर्चको तुलनामा व्यावसायिक लाभ सारै थोरै हुने भएकाले धानखेतीको विकल्प रोजिन थालेको हो । भण्डारण क्षमता नहुँदा कृषकहरू हतार गरेर व्यापारीकै भाउमा धान बेच्न बाध्य छन् । कृषकहरूले मल, बीउ, सिँचाइ, औजार÷उपकरण लगायतमा सहुलियत पाउने र उचित मूल्य पाउने हो भने धानखेतीमा आकर्षण बढ्न सक्छ । 

आउँदो पाँच वर्षमा कृषि उत्पादन दोब्बर बनाउने र खाद्यान्नमा आत्मनिर्भर हुने सरकारको लक्ष्य छ । हाल कृषिमा उपलब्ध सुविधाका आधारमा यो निकै महŒवाकांक्षी लक्ष्य हो । यो लक्ष्य हासिल गर्न आधुनिक प्रविधि विस्तार र सुविधा अनिवार्य छ । नेपालीको परम्परागत खाने बानीका आधारमा खाद्यान्न उत्पादनमा आत्मनिर्भर हुन धानको उत्पादन बढाउन आवश्यक छ । कृषिभूमि अनियन्त्रित ढंगले योजनाविनै घडेरीमा परिणत हुँदैछ । घट्दो कृषिभूमिमा परम्परागत खेती प्रणालीले खाद्यान्नमा आत्मनिर्भरता कठिन छ । यस्तो अवस्थामा खाद्य असुरक्षा बढ्नेछ, खाद्य संकट आउन सक्नेछ । यस्तो अवस्था हुन नदिन दीर्घकालीन नीतिका साथ योजनाबद्ध ढंगले कृषिक्षेत्रको विकासमा सरकार गम्भीर हुन आवश्यक छ । यसो भयो भनेमात्रै धान दिवस÷रोपाइँ महोत्सव सार्थक हुनेछ ।


Views: 17

सम्बन्धित सामग्री:

निरीह निगम

: Sunday, 18 November, 2018 (6:11:15 PM)

कर्मचारी खटनको सकस

: Friday, 16 November, 2018 (2:46:28 PM)

स्वरोजगार कर्जा

: Thursday, 15 November, 2018 (1:30:08 PM)