23rd July | 2018 | Monday | 6:10:49 AM

सुन तस्करीमा स्थलमार्ग

  POSTED ON : Tuesday, 03 July, 2018 (1:40:18 PM)

सुन तस्करीमा स्थलमार्ग

राजधानी काठमाडौंबाट बाहिरिने सबैभन्दा व्यस्ता नाका नागढुंगामा शनिबार र आइतबार लगातार दुई दिन तस्करीको सुन बरामद भयो । शनिबार भारतीय नम्बर प्लेटको गाडीमा तीन किलो र भोलिपल्ट नेपाली मोटरसाइकलमा छ किलो सुन बरामद भयो । गाडीमा सुन बरामद भएको घटनामा पक्राउ पर्नेमा भारतीय नागरिकहरू छन् । तस्करीको साढे तेत्तीस किलो सुन र त्यससँग जोडिएका घटनाहरूको अनुसन्धान चर्चामा छ । केही प्रहरी अधिकारी, व्यापारी र तस्करीमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन्, मुद्दा चलेको छ, अनुसन्धान जारी छ । सडक मार्गमा सुन बरामद भएको ताजा घटनाले सुन तस्करी चालु छ र तस्कहरूले फरक फरक उपायहरू अपनाउँदैछन् भन्ने देखाएको छ । 

नेपालको बाटो हुँदै तस्करी हुने सुन धेरैजसो भारत जाने गरेको घटनाका अनुसन्धानहरूले देखाएका छन् । ताजा घटनामा पनि भारतीय व्यक्ति समातिएका छन् । नेपाल र भारतबीचको खुला सीमानाका कारण भारत भिœयाउन सजिलो भएकैले तस्करहरूका लागि नेपालको मार्ग रोजाइमा परेको हुनुपर्छ । हवाई वा स्थलमार्ग दुवैमा नेपालको भूमि प्रयोग भएको छ । तस्करी अत्यन्त गोप्य ढंगले हुने भएकोले ओसारपसार भइरहेको थाहा पाउन बलियो सूचना संयन्त्र, सरकारी निकायबीच समन्वय र उच्च प्रविधिको प्रयोग आवश्यक पर्छ । सुरक्षा संयन्त्रमा रहेका उच्च अधिकारीहरूको संलग्नतामा मात्रै तस्करी सम्भव छ भन्ने कुरा साढे तेत्तीस किलो सुन प्रकरण र त्यसबाट खुलासा भएका तथ्यहरूले प्रमाणित गरेका छन् ।  

एउटै स्थल नाकामा फरक सवारी साधनबाट दुई दिन लगातार सुन बरामद भएको घटनाले तस्करीको जालो कति बलियो गरी फैलिएको छ भन्ने अनुमान गर्न सकिन्छ । सरकारले तस्करी नियन्त्रण गर्न आफ्ना सबै संयन्त्रहरू प्रभावकारी रूपमा परिचलान गर्न सक्नुपर्छ । सूचनाका आधारमा पछिल्लो बरामद भएको हो । तस्करीको जालो चिर्न साढे ३३ किलो प्रकरणमा गहिराइमा पुग्नुपर्छ र खुट्टा नकमाई कानुनी कारबाही गर्न सक्नुपर्छ । सुरक्षा अधिकारीहरू जति बढी इमानदार हुन्छन् तस्करी नियन्त्रणमा उति नै बढी सफलता मिल्छ । तस्कहरूले उपनाउने नयाँ तरिकाहरू बुझ्ने, सुरक्षा जाँच आधुनिकीकरणका साथ प्रभावकारी बनाउने जस्ता उपयाहरू अपनाउन जरुरी छ । सुन बरामदको ताजा घटनाले तस्करी नियन्त्रण भएको छैन भन्ने देखाएको छ । 



सम्बन्धित सामग्री:

सिन्डिकेटको चलखेल

: Sunday, 22 July, 2018 (6:57:05 PM)

डा. केसी नहारून्

: Friday, 20 July, 2018 (2:50:21 PM)