21st November | 2018 | Wednesday | 1:49:10 AM

बाढी पहिरोको क्षति न्युनीकरण

  POSTED ON : Thursday, 05 July, 2018 (12:26:45 PM)

बाढी पहिरोको क्षति न्युनीकरण

एक सातामा देशभर भएको वर्षाले ठाउँ ठाउँमा जनधनको क्षति गरेको छ । सरकारको पछिल्लो विवरणअनुसार पछिल्लो एक सातामा २५ जनाभन्दा बढीको मृत्यु भएको छ । मनसुनको समयमा पहाडी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा बाढीले क्षति पु¥याउँछ । अधिक वर्षा हुँदा प्राकृतिकरूपमै बाढी पहिरोका घटनाहरू हुन्छन् । सम्भावित घटनाको अनुमान गरेर सतर्कता अपनाउने परम्परागत अभ्यास छ । प्रविधिको विकासले कतिपय ठाउँमा पूर्वसूचना प्राप्त गर्ने सुविधा पनि छ । घटना भएको ठाउँमा उद्धार र राहतका लागि सरकारले जनशक्ति परिचालन गर्छ, बजेटको व्यवस्था गर्छ । वर्षातमा उद्धारको काम कठिन हुने भएकाले गम्भीरतापूर्वक पूर्वतयारी आवश्यक पर्छ । 

पहाडी क्षेत्रमा पहिरोबाट हुने मानवीय क्षति कम गर्न बढी जोखिमका ठाउँमा रहेका बस्तीको स्थानान्तरण गर्न ध्यान दिनु आवश्यक छ । हरेक वर्षजसो नीति तथा कार्यक्रममा बस्ती स्थानान्तरणको विषय पर्ने गरेको भए पनि कार्यान्वयन शुन्यप्रायः छ । लामो समयदेखिको बसोवास, गरिबी र जिविकाको समस्याजस्ता कारणले मानिसहरूले बसिआएको ठाउँ छाड्न नसक्ने हुन्छन् । सरकारले यस्तो बस्ती स्थानान्तरण गर्न मद्दत पु¥याउनु पर्छ । तुलनात्मक रूपमा सुरक्षित ठाउँमा एकीकृत बस्ती विकास गर्नसके खासगरी पहाडी क्षेत्रमा पहिरोबाट हुने क्षति कम गर्न सकिन्छ । तराई क्षेत्रमा बाढीले एकैपटक ठूलो क्षेत्रलाई प्रभाव पार्छ । विपन्न परिवारका बस्तीहरू बाढीबाट बढी प्रभावित हुन्छन् । क्षति न्युनीकरणका लागि पूर्वतयारी, उद्धार र राहत तत्कालीन विषय हो भने सुरक्षित बस्ती विकास दीर्घकालीन हो । 

प्रदेश र स्थानीय तहहरूले आआफ्नो क्षेत्राधिकार अनुसार सुरक्षित बसोबासका लागि दीर्घकालीन सोचका साथ कार्यक्रम कार्यान्वयन गर्नुपर्छ । स्थानीय तह, प्रदेश र केन्द्र सरकारले समन्वयात्मक ढंगले सुरक्षित बसोबासका लागि काम गर्नुपर्छ । बाढी पहिरोमा धेरैजसो क्षति अव्यवस्थित र असुरक्षित बसोवास र अवैज्ञानिक ढंगको विकास निर्माणका कारणले हुने गरेको छ । तराई क्षेत्रमा शहरको विस्तार र विकाससँगै वर्षातको पानीको प्राकृतिक वहाव अवरुद्ध हुन थालेको छ । परिणामस्वरूप डुबानले ढाक्ने क्षेत्र विस्तार भएको छ र डुबान अवधि पनि बढेको छ । यसले क्षति पनि बढाउँदै लगेको छ । यस्तो अवस्था प्राकृतिक कारणले मात्र नभई मानव गतिविधिका कारणले उत्पन्न भएको हो ।

यस्तो अवस्थाबारे ध्यान पु¥याएर वैज्ञानिक विधि नअपनाउने हो भने क्षति बढ्दै जानेछ । पूर्वदेखि पश्चिमसम्मै तराई क्षेत्रका सबैजसो शहरहरूमा डुबानको समस्या प्रत्येक वर्ष बढ्दैछ । दीर्घकालीन सोच र योजनाविना अनियन्त्रित ढंगले शहरीकरण बढ्दै जाँदा तराईमा डुबान पनि बढ्दै जान्छ । शहरीकरण र विकास निर्माणमा बाढी र डुबानको सम्भावित असर कम गर्ने उपायहरू अपनाउनु पर्छ । अब प्रदेश र स्थानीय सरकारहरूले यसतर्फ गम्भीरतापूर्वक ध्यान दिनुपर्छ । यसो गर्न नसके पहिरो, बाढी र डुबान विस्तार हुँदै जाने, क्षति बढ्दै जाने हुन्छ । यससँगै तीन वटै तहका सरकारको समन्वयनमा चुरेक्षेत्रको वातावरण संरक्षण उत्तिकै जरुरी छ ।  

 


Views: 18

सम्बन्धित सामग्री:

कपडा उद्योग संरक्षण

: Tuesday, 20 November, 2018 (2:55:25 PM)

कता जाँदैछ कांग्रेस !

: Monday, 19 November, 2018 (1:59:43 PM)

निरीह निगम

: Sunday, 18 November, 2018 (6:11:15 PM)