17th July | 2018 | Tuesday | 1:23:50 PM

प्लाष्टिक प्रयोग नियन्त्रण

  POSTED ON : Monday, 09 July, 2018 (3:24:20 PM)

प्लाष्टिक प्रयोग नियन्त्रण

प्लाष्टिक झोला प्रयोग नियन्त्रण गर्ने काम ओझेलमा परेको छ । शहरी क्षेत्रको फोहोरको मुख्य अंशमध्ये एक प्लाष्टिक हो । प्लाष्टिकको प्रयोग र उपयोग बहुआयामिक छ । आधुनिक प्रविधिमा असल कुचालकका रूपमा प्लाष्टिक प्रयोग अनिवार्य बनेको छ । व्यावहारिक सहजता, किफायती मूल्य र पानी छिर्न रोक्ने गुणका कारण प्लाष्टिकको व्यावसायिक प्रयोग बढ्दो छ । मानव जीवनमा प्लाष्टिक प्रयोग अनिवार्य बनेको छ । बढ्दो प्रयोगसँगै प्लाष्टिकले उत्पन्न गर्ने वातावरणीय प्रदूषणप्रति गम्भीर चिन्ता प्रकट हुँदै आएको छ । नकुहिने र बाल्दा मानव स्वास्थ्यमा हानिकारक धुवाँ निस्कने भएका कारणले प्लाष्टिकले जल, स्थल र वायु तीनै क्षेत्रमा अधिक प्रदूषण गराउँछ । 

दैनिक जनजीवनमा शहरी र ग्रामीण क्षेत्र सबैतिर प्लाष्टिक झोलाको प्रयोग धेरै हुने गरेको छ । साधारण घरायसी किनमेलमा प्लाष्टिकको झोलामा सामान ल्याउने चलन छ । यसो गर्दा घरमा एकैपटकमा धेरैवटा झोला भित्रिन्छन् । घरबाटै कपडाको वा अन्य कुनै जैविक वस्तुको झोला लिएर जाने हो भने घरमा प्लाष्टिक झोला भित्रिन कम हुन्छ । दैनिक जीवनमा प्लाष्टिकका झोला र प्लाष्टिकका अन्य सामग्री अनिवार्य नहुँदासम्म प्रयोग नगर्ने हो भने उत्पादन पनि स्वतः कम हुनेछ । जति बढी प्रयोग हुन्छ उति नै बढी उत्पादन हुने हो । अव्यवस्थित ढंगले फालिएको प्लाष्टिकले वातावरणमा पु¥याउने हानी दीर्घकालीन हुन्छ । मानिसलाई मात्रै होइन अन्य जीवजस्तु र वनस्पतिलाई पनि प्लाष्टिक प्रदूषणले हानी पु¥याउँछ । 

प्लाष्टिकको प्रयोगमा प्रतिबन्ध सम्भव छैन । दैनिक घरायसी जीवनमा पनि प्लाष्टिक धेरै हदसम्म अनिवार्य बनेको छ । धातुका वा जैविक सामानको बढ्दो मूल्यले प्लाष्टिकको उत्पादन र प्रयोग बढाएको छ । यसो भए पनि प्रयोगमा नियन्त्रण गर्न सकिने उपायहरू छन् । अनिवार्य अवस्थाबाहेक रिसाइकल गर्न सकिने प्लाष्टिकमात्रै उत्पादन र प्रयोग गर्न दिने हो भने धेरै हदसम्म नियन्त्रण हुनेछ । रिसाइकल प्लाष्टिक झोला तथा प्याकेजिङका लागि उत्पादन हुने प्लाष्टिकको मोटाइमा भर पर्छ । नेपाल सरकारले ३० माइक्रोनभन्दा कम मोटाइको प्लाष्टिक उत्पादन गर्न रोक लगाएको भए पनि पूर्ण नियन्त्रण भएको छैन । प्रयोग घटाउन चेतनामूलक कार्यक्रम पनि छैन । 

सरकारले २०७२ सालको आरम्भमा प्लाष्टिक झोला प्रयोगमा रोक लगाएको थियो र कार्यान्वयन पनि भएको थियो । वैशाख १२ को भूकम्पले सरकारको निर्णयमा नकारात्मक प्रभाव प¥यो, कार्यान्वयनले निरन्तरता पाएन । प्रयोग नगर्दा हुने हदसम्म उत्पादन र प्रयोग गर्न रोक लगाउने र कडाइका साथ अनुगमन गर्ने हो भने नियन्त्रण हुनसक्छ । केही स्थानीय तहहरूले नियन्त्रणको प्रयास गर्न थालेका छन् । प्लाष्टिकको प्रदूषण चारैतिर फैलिएको छ । स्थानीय तहहरूले नियमन गर्न सक्छन् । उनीहरूले यसमा कदम चाल्नुपर्छ, जनचेतना जगाउनुपर्छ । उत्पादन नियमन गर्न केन्द्र सरकारले ध्यान दिनुपर्छ । यसो भयो भने प्रदूषक प्लाष्टिकको प्रयोग कम हुनेछ ।


सम्बन्धित सामग्री:

गैँडा कूटनीति

: Friday, 13 July, 2018 (2:32:36 PM)