20th September | 2018 | Thursday | 5:02:10 AM

सत्ताशक्तिको दुरुपयोग

  POSTED ON : Tuesday, 10 July, 2018 (3:32:25 PM)

सत्ताशक्तिको दुरुपयोग

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइराला १७ औँ विश्व संस्कृत सम्मेलनमा भाग लिन क्यानडाका लागि उड्न तयार परेकै बेला उनलाई विमानस्थलबाटै फर्काएर प्रधानमन्त्री निवास पु¥याइयो । प्रधानमन्त्रीले भेट्न चाहेको भनेर प्रहरीको गाडीमा बालुवाटार पु¥याइएका उपकुलपति कोइरालालाई एक घण्टा एउटा कोठामा राखेर घर पठाइयो । प्रधानमन्त्रीसँग उनको भेट भएन । यात्रा रोकिएको कुरा उनले आफूलाई बालुवाटार पु¥याइएको प्रक्रियाबाट थाहा पाए, औपचारिक जानकारी पाएनन् । यस विषयमा प्रश्न उठेपछि गृहमन्त्री र शिक्षामन्त्रीले विदा स्वीकृत नगराएकोले उनलाई रोक्नुपरेको भनेका छन् । विश्वविद्यालयको कुलपतिलाई फौजदारी अभियुक्त जसरी अपहरणको शैलीमा समातेर पूर्वनिर्धारित भ्रमणबाट रोक्नु सिंगो प्राज्ञिक क्षेत्रको मानमर्दन, दुव्र्यवहार र सत्ताशक्तिको दुरुपयोग हो । 

उपकुलपति कोइरालाले आफूले एघार दिनअघि नै विदाको निवदेन दिएको भनेका छन् र निवदेनको दर्ता नम्बर सार्वजनिक गरेका छन् । उनको भ्रमण निजी थिएन, विश्व संस्कृत सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्न लागेका थिए । उक्त सम्मेलनमा सहभागिता राष्ट्रको पनि गौरवको कुरा थियो । उपकुलपतिले भ्रमण स्वीकृत गराउनुपर्ने नियम पालना गर्नुपर्नेमा विवाद होइन तर प्रश्न के हो भने एघार दिनअघिको निवेदनमा शिक्षा मन्त्रालयले किन कुनै कारवाही चलाएन, भ्रमण स्वीकृत नभएको जानकारी किन गराएन ? र, अन्तिम समयमा विमानस्थलबाट फर्काउन किन आवश्यक ठानियो ? यस्ता प्रश्नहरूको हाजिरी जवाफ विश्वविद्यालयका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीसँग अवश्य पनि छ तर त्यसले प्राज्ञिक क्षेत्रको मानमर्दन, राजनीतिक हस्तक्षेप र सत्ताशक्ति दुरुपयोगको क्षतिपूर्ति गर्दैन । 

गृहमन्त्री र शिक्षामन्त्रीभन्दा एक कदम अघि बढेर प्रधानमन्त्री ओलीले उपकुलपति कोइरालाबारे ‘थुप्रै उजुरीहरू परेको र तिनको छानविन हुने’ अभिव्यक्ति दिएको भन्ने समाचार पनि सार्वजनिक भएको छ । उजुरीहरू छन् भने, अनियमितता गरेका छन् भने विधिसम्मत छानविन हुनुपर्छ, दोषी देखिए कारबाही हुनुपर्छ । विदेश जानबाट रोकिएको विषयमा उत्पन्न प्रतिक्रिया र प्रश्नको जवाफमा प्रधानमन्त्रीले उजुरीको अस्त्र सार्वजनिक गरेका हुन् भने यो अझ बढी गरैरजिम्मेवार अभिव्यक्ति हो, प्रधानमन्त्रीको असहिष्णुता हो, सत्ताशक्तिको दुरुपयोग हो । विदा स्वीकृत नगराएका कारणले विमानस्थलबाट अपमानजनक ढंगले फर्काएर प्रधानमन्त्री निवासमै थुनिएको हो भने यस्तो गतिविधि खराब नियतको र प्रतिशोधात्मक हो । प्रधानमन्त्री नै राज्यका पदाधिकारीमाथि प्रतिशोधात्मक कारबाहीमा उत्रिन थाल्ने हो भने त्यसले निरंकुशता विजारोपण गर्नेछ । 

विधिको पालना अनिवार्य छ । राज्यका निकायका पदाधिकारीहरू त विधि पालना गर्ने गराउने जिम्मेवारीका अधिकारी हुन् । प्रधानमन्त्रीको आदेश पनि विधिसम्मत नै हुनुपर्छ । विधि र प्रक्रियाअनुसार समयमै काम भए कोही पनि अपमानित हुनु पर्दैन । एघार दिनअघिको निवेदनमा सरकारले निर्णय लिएर जानकारी गराएको भए उपकुलपति अपमानित हुनुपर्ने थिएन । ऐन÷नियम उल्लंघन गर्नेलाई तदनुकूल कारबाही गर्ने अधिकार राज्य÷सरकारसँग छ तर कुनै सार्वजनिक पदाधिकारी वा साधारण व्यक्तिलाई अपमानित गर्ने छुट छैन । सरकारका पछिल्ला केही गतिविधिले विधि पालनाका नाममा सरकारले सत्ताशक्तिको डण्डा वर्षाएर प्रतिशोधी कारबाही गर्न खोजेको हो कि भन्ने शंका गर्ने आधार प्रदान गरेका छन् । 



Views: 0

सम्बन्धित सामग्री: