21st November | 2018 | Wednesday | 1:45:40 AM

प्रधानमन्त्रीको बोलीको ओज

  POSTED ON : Wednesday, 11 July, 2018 (2:55:12 PM)

प्रधानमन्त्रीको बोलीको ओज

प्रधानमन्त्री मुलुकको सर्वोच्च कार्यकारी प्रमुख र जनप्रतिनिधि हो । प्रधानमन्त्री समष्टीगतरूपमा जनताको र सुक्ष्मरूपमा प्रत्येक व्यक्तिको प्रतिनिधि हो । प्रधानमन्त्रीको कार्यशैली, कार्यदक्षता, अभिव्यक्ति र समग्र व्यक्तित्वमा प्रत्येक व्यक्तिले आफूलाई खोजेको हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओली शासकीय शक्तिमा अभूतपूर्वरूपले शक्तिशाली छन् । लामो समयको अस्थिरताले अक्रान्त नेपाली जनता राजनीतिक स्थिरतासहितको विकासको पक्षमा छन् । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको चुनावी गठबन्धनका नेताका रूपमा ओलीले आम नेपाली जनतालाई आफ्नो व्यक्तित्वको परिचय दिए जसको खोजी भएको थियो । परिणमस्परूपमा उनी शक्तिशाली कार्यकारी प्रमुखका रूपमा प्रधानमन्त्री पदमा विराजमान छन् । 

नेतृत्व क्षमता र आत्मविश्वससहितको यति फराकिलो व्यक्तित्वका प्रधानमन्त्री ओली पछिल्ला केही अभिव्यक्तिहरूमा संकीर्ण देखिन थालेका छन् । यसमा पछिल्ला दुई वटा अभिव्यक्तिको दृष्टान्त काफी छ । एक ः नेपाल संस्कृति विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई विमानस्थलबाट फर्काएको घटनाको चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री ओलीले उनका विरुद्ध ‘उजुरीहरू परेको र तिनको छानविन हुने’ अभिव्यक्ति दिए । प्रष्ट छ, उपकुलपति कोइरालामाथि दुव्र्यवहार गरेको भनेर आलोचना भएपछि आएको प्रधानमन्त्रीको अभिव्यक्ति विरोधी स्वरमाथि मुखबुजो लगाउने प्रयास हो । उजुरी छानविन र उनलाई विमानस्थलबाट फर्काइएको घटना जोड्ने प्रधानमन्त्रीको अभिव्यक्ति क्रोधको संकेत हो । 

दुई ः डाक्टरलाई जुम्लामा भोकै सुत्न लगाएर काठमाडौंमा कराउनेहरू केही दिनमा आफैँ चुप लाग्छन् भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति सार्वजनिक भएको छ । यो अभिव्यक्तिमा विरोधको स्वर सुन्न नचाहने वा जति विरोध गरे पनि केही अर्थ छैन भन्ने प्रधानमन्त्रीको हठ झल्किएको छ । यस्तो अभिव्यक्ति दिँदा प्रधानमन्त्री प्रत्येक व्यक्तिको प्रतिनिधि हो र उसले प्रधानमन्त्रीमा आफूलाई खोजेको हुन्छ भन्ने कुरा बिर्सेका छन् । आवाज मधुरो होला तर डा. केसी एक्लै छैनन् भन्ने कुरा पनि प्रधानमन्त्रीले बेवास्ता गर्न खोजेका छन् । उनको यस्तो शैलीले पहिलोपटक प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सहृमालेको समयमा र निर्वाचन अभियानका क्रममा आर्जन गरेको व्यक्तित्वको उचाइ क्षय हुँदै जान्छ ।

संकीर्ण, क्रोधी र प्रतिशोधी अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमा र प्रधानमन्त्रीको बोलीको ओजको सम्मान गर्न सक्दैन । प्रधानमन्त्रीका काम र निर्णयको पक्षमा जनमत सिर्जना गर्न राज्यका निकायहरू क्रियाशील छन् । प्रत्येकमा प्रधानमन्त्री आफैँ जवाफका लगि अग्रसर हुनु पर्दैन । उनको यस्तो शैलीले आफ्नो टिमप्रति उनको अविश्वास पनि झल्काउँछ । प्रधानमन्त्रीको बोली समस्याहरूको समाधानका लागि हुनुपर्छ, भ्रम चिर्नका लागि हुनुपर्छ तर ओलीका अभिव्यक्तिको परिणाम यसको विपरीत हुन थालेको देखिँदैछ । यसले प्रधानमन्त्रीको बोलीको ओज घटाउँछ । सर्वोच्च पदको गरिमामा क्षति पु¥याउँछ । प्रधानमन्त्री ओलीले यसतर्फ गम्भीर हुनु उचित हुनेछ । 

 


Views: 13

सम्बन्धित सामग्री:

कपडा उद्योग संरक्षण

: Tuesday, 20 November, 2018 (2:55:25 PM)

कता जाँदैछ कांग्रेस !

: Monday, 19 November, 2018 (1:59:43 PM)

निरीह निगम

: Sunday, 18 November, 2018 (6:11:15 PM)