21st September | 2018 | Friday | 5:15:07 PM

राजधानीका सडकको दुर्दशा

  POSTED ON : Thursday, 12 July, 2018 (3:22:22 PM)

राजधानीका सडकको दुर्दशा

राजधानीका सडकको दुर्दशा असिमित छ । धेरैठाउँमा मुख्य सडकहरू विस्तारका नाममा भताभुंग बनाइएका छन् । कलंकी–थानकोटको सडक, बौद्ध–जोरपाटी र नाराणयटार हुँदै साँखु जाने सडक हेरे राजधानीका सडकको अवस्था छर्लङ्ग हुन्छ । अरू धेरै सडकहरू भत्काइएका छन् । भित्री सडकहरूको अवस्था झन् भयावह छ । थोरै वर्षाले हिलाम्मे हुनु र घाम चर्केपछि धुलाम्मे हुनु राजधानीका सडकको परिचय भएको छ । हिलो र धुलो दुवै अवस्थामा यात्रुले हदैसम्मको सास्ती खेप्नुपरेको छ । मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने क्रममा भत्काइएका धेरै ठाउँमा पिच गरिएको छैन । असिमित धुलो राजधानीका सडकको मुख्य समस्या हो जसले जनस्वास्थ्यमा गम्भीर असर पु¥याएको छ ।

ढल निकासको समुचित व्यवस्था नहुँदा राजधानी सहरको केन्द्रीय भागका सडकहरू खोलो जस्ता देखिन्छन् । टाडा जानै पर्दैन, जमल, त्रिपुरेश्वर, पुतलीसडक, थापाथली जस्ता क्षेत्रमै केही बेरको वर्षामै खोलो बग्छ । गत वर्ष सामाखुसी क्षेत्रमा विद्यालयबाट फर्किरहेकी एक बालिका ढलमा परेकी थिइन् । यो घटनापछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनभित्र सडकका सबै खाल्टा पुर्न निर्देशन दिए । निर्देशनअनुसार खाल्टा त पुरिएनन् नै उल्टै खाल्टा थपिँदै गए । मर्मतसम्भार, विस्तार र निर्माणका काममा सडक भत्काउने तर समयमा काम नसक्ने लापरबाहीपूर्ण प्रवृत्तिले राजधानीका सडकको दुर्दशा भएको हो । अझ अर्को हेपाहा प्रवृत्ति के छ भने नागरिकको असुविधाका लागि राज्यले ध्यान दिनुपर्ने नै ठान्दैन ।  

नागरिकहरूको न्युनतम सुविधाका लागि राज्य संवेदनशील नभएपछि सडकको दुरावस्था, हिलो, धुलोजस्ता समस्या सामान्य मानिने गर्छन् । आममानिसको हितलाई ध्यानमा राखेर सडकको न्युनतम गुणस्तर कायम राख्न सरकारले काम गर्नुपर्ने हो । सवारीसाधन गुड्न सकस भएका सडकको काम सम्पन्न नहुन्जेल सहज सडक बनाउने उपाय गर्नुपर्ने हो । खाल्टा पुरेर केही सजिलो बनाउन सकिन्छ । यसतर्फ ध्यान पुगेको देखिँदैन । निर्माण, मर्मतसम्भारको काम छिनभरमै सकिने होइन तर त्यस क्रममा उत्पन्न हुने कठिनाइ कम गर्न अपनाउनु पर्ने उपायमा ध्यान दिएको देखिँदैन । निर्माण हुँदै गरेको भन्ने वहानामा अकर्मन्यता ढाकछोप गर्ने प्रयास हुने गरेको छ । राजधानीका सडकको दुरावस्था यही अकर्मन्यता र गैरविम्मेवार प्रवृत्तिको परिणाम हो । 

राजधानीका सडकको हिलो र धुलो न्युनीकरण गर्न अधिकतम प्रयास गर्नु जरुरी छ । सडकको दुरावस्थाले हिलो, धुलो र खाल्टाको समस्यामात्रै बेहोर्नु परेको छैन, असिमित ट्राफिक जाम र समयको बर्बादी पनि बेहोर्नु परेको छ । रातारात सबै समस्या समाधान हुने होइन तर सम्भव उपायहरू अपनाउँदा समस्या कम गर्न सकिन्छ । राजधानीका सडकको सास्ती कम गर्न सरकारको ध्यान जानुपर्छ । ध्यान नदिनु जनताको समस्या बेवास्ता गर्नु हो । जनस्वास्थ्य र सडकको न्युनतम सुविधाका लागि काम गर्नैपर्छ । सडकको दुर्दशा कम गर्नुपर्छ । निर्धारित समयमा काम सक्ने वातावरण बनाउन सके समस्या लामो समय थाती रहने थिएन । 

Views: 0

सम्बन्धित सामग्री:

मधेशका दलको विरोधाभास

: Friday, 21 September, 2018 (3:10:35 PM)

मधेशका दलको विरोधाभास

: Friday, 21 September, 2018 (3:10:26 PM)