21st October | 2018 | Sunday | 6:52:29 AM

नेपाली क्रिकेटको शान

  POSTED ON : Thursday, 02 August, 2018 (3:09:15 PM)

नेपाली क्रिकेटको शान

चार वर्षका लागि एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) बाट मान्यता पाएको नेपालले बुधबार नयाँ अध्याय सुरु गरेको छ । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो पाइला टेक्दै नेपालले इतिहास रचेको हो । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन थालेको २२ वर्षपछि नेपाली क्रिकेट आइसीसीको मान्यतामा पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागी भएकोे हो ।

नेपाल क्रिकेट संघ आइसीसीबाट निलम्बनमा परेकै बेला व्यवस्थापकीय तथा प्रशासनिक अस्तव्यस्तताका बीच नेपाली टोलीले एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गर्दै नयाँ अनुभव बटुल्न पाउनु खेलाडीहरूको जुझारुपन र उच्च मनोबलकै परिणाम हो । खेलका लागि आवश्यक पूर्वाधार विकास, खेलाडीको क्षमता अभिवृद्धिलगायतमा सरकारले खासै ध्यान नदिए पनि नेपाली क्रिकेटका शुभचिन्तक, दर्शक र क्रिकेटप्रेमीको अपार स्नेहबाट ऊर्जा प्राप्त गरेर खेलाडीहरूले नेपाली क्रिकेटलाई यो उचाइमा पु¥याएका हुन् । नेपाली क्रिकेट टिमका कप्तान पारश खड्काकै भनाइलाई आधार मान्ने हो भने खेलाडीहरूमा जागेको सफलताको भोकले नै नेपाललाई एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाएको हो । यस्तो भोक अब टेस्ट क्रिकेटको मान्यता हासिल गर्ने तहसम्म पुगेको छ । 

नेपाल क्रिकेट संघ दुई वर्षयता निष्क्रिय छ । आन्तरिक विवाद र अपारदर्शिताजस्ता कारणले आइसीसीले निलम्बन गरेको संघको सक्रियता अझै अन्योलमै छ । हरेक क्षेत्रमा राजनीतिक हस्तक्षेपको परिणामस्वरूप क्रिकेट संघको विवादलाई पनि सरकार र राजनीतिक दलहरूले आआफ्नो स्वार्थका आधारबाट हेरेकाले सुधारको प्रयास शिथिल देखिन्छ । क्रिकेट संघभित्रको विवाद र आइसीसीको कारबाहीले नेपाली खेलाडीमा भने खासै असर देखिएको छैन । बरु, खेलको स्तर सुधार्दै एकजुट भएर नेपाली क्रिकेटलाई उचाइ दिइरहेका छन् । आफ्नो क्षमताकै बलमा इन्डियन प्रिमियर लिगलगायतका व्यावसायिक प्रतियोगितामा नेपाली खेलाडीले स्थान पाउन थालेका छन् । यसले आगामी दिनमा नेपाली क्रिकेटले अझ सुखद नजिता निकाल्न सक्छ भन्ने आशा जगाएको छ ।

दक्षिण एसिया क्रिकेटको उर्बर भूमि मानिन्छ । भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशजस्ता मुलुकले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो प्रभाव जमाइसकेका छन् । अफगानिस्तानले पनि फड्को मारिसकेको छ । दक्षिण एसियाका यी पाँच मुलुकसँगै नेपालले पनि अन्तर्राष्ट्रिय क्रिकेटमा प्रभाव जमाउन नसक्ने होइन तर यसका लागि सरकारी स्तरबाट उल्लेख्य सुधार हुन जरुरी छ । घरेलु प्रतियोगिता नियमित गर्ने र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन आवश्यक वातावरण सिर्जना गर्ने दिशामा सरकारको भूमिका सहयोगी हुनुपर्छ । अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि आवश्यक स्टेडियम बनाउने, प्रदेशस्तरमा घरेलु प्रतियोगिताहरू गराई खेलाडीहरूलाई अभ्यस्त बनाउने र नयाँ प्रतिभा खोजी गर्नेजस्ता काममा राज्यले पर्याप्त ध्यान दिएको छैन ।

नेपाल क्रिकेट संघको निष्क्रियता अन्त्य हुन जरुरी छ । व्यक्तिगत र दलगत÷गुटगत स्वार्थका आधारमा नेपाली क्रिकेटको भविष्य कसैले पनि अन्योलमा धकेल्नु हुँदैन । अनेक प्रतिकूलताका बाबजुद खेलाडीले देखाएको जोस, सफलताको भोक अन्ततः राष्ट्रको गौरवसँग जोडिएको छ । यो रफ्तार कायम राख्दै नेपाली क्रिकेटको स्तरवृद्धिमा सरकारले ध्यान दिने हो भने अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको उपस्थिति सार्थक हुने दिन टाढा छैन । 


Views: 5

सम्बन्धित सामग्री:

स्वस्थ मासुका लागि

: Monday, 15 October, 2018 (2:43:47 PM)