21st October | 2018 | Sunday | 7:39:41 AM

सडकमा कांग्रेस

  POSTED ON : Friday, 03 August, 2018 (3:19:12 PM)

सडकमा कांग्रेस

मुख्य विपक्षी दल नेपाली कांग्रेसले यसै साता सरकारका गतिविधिको विरोधमा देशव्यापी प्रदर्शन ग¥यो । सरकार बनेको पाँच महिना पूरा भएको छ । यतिबेला सातवटै प्रदेशसभा र संघीय संसदका बैठक चालु छन् । विपक्षी दलले सरकारका काम कारबाहीमा निगरानी राख्नुपर्छ । गलत भएको ठाउँमा विरोध गर्नुपर्छ र आमजनताको आवाज मुखरित गर्नुपर्छ । यसको सबैभन्दा पहिलो थलो संसद हो । विपक्षी दलले संसदलाई नै जनताको आवाज मुखरित गर्ने मुख्य थलो बनाउनुपर्छ । संसदमै सरकारको जवाफ माग्नुपर्छ । संसदबाटै निर्णय गराउनुपर्छ । हामीले अंगीकार गरेको बहुदलीय संसदीय प्रणालीमा संसद नै समस्या समाधानको र सरकारलाई सही मार्गमा हिँड्न बाध्य बनाउने थलो हो । 

सरकार संसदको आवाज सुन्दैन भने जनताको थलो हो सडक । सडकमा जनताको नेतृत्व राजनीतिक दलहरूले गर्छन् । जब सरकार जनविरोधी काममा लाग्छ, सडक स्वतः सक्रिय हुन्छ । हालैको उदाहरण हेरौँ– डा. गोविन्द कसीको अनशनको सुनुवाई नहुने लक्षण देखिएपछि मध्य बर्खामा पनि सडक आफैँ तात्न थाल्यो । मुलुकको प्रबुद्ध समुदाय सडकमा निस्क्यो । सामूहिक सत्याग्रह भयो । विपक्षी दल नेपाली कांग्रेसले संसदबाट दबाब दियो । अन्ततः सरकार माग सम्बोधन गर्न बाध्य भयो । यसरी जनसरोकारको विषयले कहिलेकाँही सडक माग गर्छ र त्यसले एउटा आकार लिन्छ । सडकबाट मात्रै सरकारले जनताको आवाज सुनुवाई गरेका धेरै दृष्टान्तहरू छन् ।

विपक्षी दल कांग्रेसले अहिले उठाएका विषयहरूका लागि सडक तयार भइसकेको देखिँदैन । संसदलाई सबै किसिमका समस्या समाधानको मूल थलो मान्ने दल नेपाली कांग्रेसको संसदमा अधिकतम सक्रियता आवश्यक छ । संसद चालु रहेको अवस्थामा विपक्षी दलले संसदलाई मुख्य माध्यम मान्नुपर्छ । संसदलाई निर्णायक बनाउनुपर्छ । संसदमा सरकार सुन्दैन भने सडक स्वतः तयार हुन्छ । संसदमा बलियो स्थापित भएको विषय सडकमा पनि बलियो हुन्छ । यति बेला संसद क्रियाशील छ । विपक्षी दलले आफूलाई संसदमै बढी क्रियाशील राख्नुपर्छ । प्रारम्भिक अवस्थामा रहेको संविधान कार्यान्वयन प्रभावकारी बनाउन विपक्षी दलको भूमिका सरकार÷सत्तापक्षको भन्दा कम हुँदैन । कांग्रेसले यसतर्फ विचार पु¥याउन सकेन भने दोषको भागी ऊ पनि हुनेछ । 

अहिलेका राजनीतिक, आर्थिक र सामाजिक विषयहरू विपक्षीको सडक प्रदर्शनका लागि परिपक्व भइसकेका देखिँदैनन् । यस्तो अवस्थामा सडक आन्दोलन बेमौसमी बाजा बन्न सक्छ । बमौसमीबाजा सुन्न श्रोता वर्ग तयार हुँदैन । संसदमा भूमिका प्रभावकारी बनाउने समयमा सडकमा जानुअघि कांग्रेसले मुद्दाहरूका विषय पर्याप्त बहस र छलफल चलाउनुपर्छ । विपक्ष कमजोर भयो बहुदलीय लोकतान्त्रिक प्रणाली कमजोर हुन्छ । विपक्षले सबैभन्दा पहिले आफूलाई संसदमा प्रभावकारी बनाउनुपर्छ तब मात्रै विपक्षका लागि सडक तयार हुन्छ ।  


Views: 3

सम्बन्धित सामग्री:

स्वस्थ मासुका लागि

: Monday, 15 October, 2018 (2:43:47 PM)