21st October | 2018 | Sunday | 6:54:17 AM

कांग्रेसको आपत्ति केमा !

  POSTED ON : Wednesday, 08 August, 2018 (4:01:24 PM)

कांग्रेसको आपत्ति केमा  !

विपक्षी दल नेपाली कांग्रेसले संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीश पदमा न्यायाधीश दीपकराज जोशीलाई अस्वीकृत गरेकोमा चर्को विरोध जनाएको छ । निर्णयका लागि मतदान हुने बैठक कांग्रेस सांसदहरूले बहिस्कार गरे । नेकपाका सांसदहरूले आधार र कारणविनै जोशीलाई अस्वीकृत गरेको कांग्रेस सांसद र कांग्रेस पार्टीको निष्कर्ष छ । मंगलबार भएको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले यस्तै निष्कर्ष निकालेको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसदहरूले सुनुवाइ समितिको निर्णयमा विरोध जनाए । सत्तापक्ष नेकपा सांसदहरूले जमेर प्रतिवाद गरे । उनीहरूले त कांग्रेस सांसदको भनाइ संविधानविपरीत भन्दै रेकर्डबाटै हटाउन माग गरे । पक्ष विपक्षमा चर्काचर्की भयो । 

कांग्रेसका अनुसार संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ अनुसार जोशी परिषदबाट सर्वसम्मत सिफारिस भएका हुन् । उक्त ऐनको दफा ५ को व्यवस्थाअनुसार प्रधानन्यायाधीश पदमा नियुक्त हुन संविधान तथा प्रचलित कानुनमा उल्लेख भएको योग्यता, उपयुक्तता र निजको सामाजिक प्रतिष्ठा, उच्च नैतिक चरित्र, इमानदारिता, निजप्रतिको जनभावना तथा पहिले गरेको सेवा र पेशागत अनुभव समेतलाई आधार मानेर संवैधानिक परिषदले प्रधानमन्त्रीको प्रस्तावमा सर्वसम्मतरूपमा नियुक्तिका लागि सिफारिस गरेको कांग्रेसको भनाइ छ । कांग्रेसको यो तर्कले सुनुवाइको औचित्यमाथि प्रश्न उठाउँछ । अर्थात, ऐनअनुसार संवैधानिक परिषदबाट सिफारिस भइसकेपछि सुनुवाइमा अस्वीकृत हुनु हुँदैन । 

सुनुवाइ समितिका सदस्य जुन पार्टीका भए पनि दुई तिहाइ बहुमतले अस्वीकार गर्ने नियमावलीको व्यवस्थाअनुसार समितिबाटै निर्णय भएको हो । यहाँ कांग्रेस केही प्रश्नहरूमा प्रष्ट हुन आवश्यक छ । संवैधानिक परिषदले सर्वसम्मत निर्णय गरेको व्यक्ति अस्वीकृत हुन नहुने हो ? कांग्रेसको आपत्ति केमा हो– अस्वीकृत भएकोमा हो कि सुनुवाइ समितिले पर्याप्त आधार र कारण पेश गरेन भन्नेमा हो ? ‘आधार र कारणविनै अस्वीकृत’ गरेको कांग्रेसको निष्कर्ष हो भने पर्याप्त आधार र कारण खोजी गर्न माग गर्नुप¥यो । अस्वीकृत गर्ने सांसदहरूले जोशीको शैक्षिक योग्यताको प्रमाण, उनले गरेको फैसला लगायतमा शंका प्रकट गरेका छन् । यो शंका निवारण गर्न माग गर्नुप¥यो । 

‘सर्वसम्मत सिफारिस भएको’ भन्ने कांग्रेसको तर्क मान्ने हो भने संसदीय सुनुवाइ केवल एक औपचारिकता वा कर्मकाण्ड बन्छ । राजदूतबाहे सुनुवाइ हुने सबै पदमा संवैधानिक परिषदबाटै सिफारिस भएको हुन्छ । जोशी अस्वीकृत भएकोमा कांग्रेसको विरोध अन्य पदमा पनि जोशी सरह लागु हुन्छ कि हुँदैन ? विरोध जोशी अस्वीकृत भएकोमा हो कि प्रधानन्यायाधीश पदको सुनुवाइमा अस्वीकृत भएकोमा हो ? अझ महŒवपूर्ण प्रश्न– विरोध नेकपाका सदस्यहरूले अस्वीकृत गरेकोमा हो कि निर्णयको आधार, कारण र प्रक्रियामा हो ? यस्ता प्रश्नहरूसँगै विरोधका कारण, आधार र सुनुवाइबारे कांग्रेस प्रष्ट हुन आवश्यक छ । कांग्रेस आफ्नो भनाइ र मागमा अस्पष्ट सुनिएको छ । 


Views: 5

सम्बन्धित सामग्री:

स्वस्थ मासुका लागि

: Monday, 15 October, 2018 (2:43:47 PM)