11th December | 2018 | Tuesday | 6:36:28 PM

प्रहरीको भर र विश्वास

  POSTED ON : Thursday, 09 August, 2018 (3:50:58 PM)

प्रहरीको भर र विश्वास

राजधानीमा यो साता चिनेकै मान्छेबाट एक बालकको अपहरण र हत्या भयो । अपहरणको खबर पाएपछि प्रहरी शीघ्रताका साथ परिचालित भयो । अपहरण गरेर राखेको ठाउँ पत्ता लगायो तर अपहरणकारीले बालकको हत्या गरिसकेछन् । अपहरणकारी भनिएका दुई युवक प्रहरीद्वारा मारिए जसलाई प्रहरीले इन्काउन्ट र अर्थात मुठभेडमा मारिएको भनेको छ । प्रहरीका अनुसार जंगलमा भाग्दै गरेका अपहरणकारी प्रहरीमाथि जाइलागेपछि जवाफी कारबाहीमा उनीहरू मारिए । प्रहरीले भनेको यो मुठभेडमा शंका उत्पन्न भएको छ । प्रहरीले समातेर मारेको भन्ने घटना विवरणहरू समाचारमा आएका छन् । मुठभेडमा मारिए भन्ने विज्ञप्ति जारी गर्नुबाहेक प्रहरीले शंका निवारणको अन्य कुनै प्रयास गरेको छैन । 

अपहरणको यो जघन्य अपराधमा प्रहरी बालकको खोजीमा जुन गतिमा सक्रिय भयो त्यसअनुसार सफलता पाएन, अपहृतलाई कुशलै उद्धार गर्न सकेन । प्रहरीले फेला पार्नुअघि बालकको हत्या भयो, अपहरणकारी भनिएका व्यक्ति  सबै प्रमाण नष्ट हुनेगरी प्रहरीद्वारा मारिए । अपहरणकारी मारिनै पर्ने अवस्था कसरी सिर्जना भयो भनेर उत्पन्न शंका प्रहरीले निवारण गर्नुपर्छ । प्रहरी सबैको सुरक्षाकर्मी हो, अपराधीको पनि सुरक्षा गर्ने काम प्रहरीकै हो । अभियुक्त÷अपराधीबाट प्रहरीमाथि नै आक्रमण भएको र प्रहरीले आत्मरक्षा गर्नुपर्ने अवस्थामा भएकोमा गोली चलाएर पक्राउ गर्न गर्न सक्छ । यो पछिल्लो घटनामा प्रहरीले आत्मरक्षा गर्नुपर्ने अवस्था सिर्जना भएको हो कि होइन भन्नेमै प्रश्न उठेको छ ।  

प्रहरी कारबाहीमाथि शंका उत्पन्न हुँदा प्रहरीमाथि अविश्वास बढ्छ । प्रत्येक व्यक्तिले मेरो सामुन्ने प्रहरी छ, म प्रहरी नियन्त्रणमा रहेकोले मेरो ज्यान सुरक्षित छ भन्ने विश्वास गर्ने अवस्था हुनुपर्छ । अपराधीलाई पनि प्रहरी नियन्त्रणमा आफ्नो ज्यान सुरक्षित रहेको विश्वास हुनुपर्छ । किनभने, प्रहरी सबैको सुरक्षाकर्मी हो । मुठभेडमा अपहरणकारी मारिएको भन्ने यो पछिल्लो घटनाको छानिवन र समीक्षा गर्नुपर्छ । प्रहरी कारबाहीका सम्बन्धमा व्याप्त शंका निवारण गर्न र कमीकमजोरी भएको भए फेरि दोहोरिन नदिन पनि गम्भीरताप्रर्वक समीक्षा हुन आवश्यक छ । प्रहरीप्रति आमनागरिकको विश्वास अभिवृद्धिका लागि यसो गर्नु आवश्यक छ । 

चिनेका मानिसबाट हुने अपहरणका घटनामा हत्याको सम्भावना बढी हुने गरेको विगतका घटनाहरूले देखाएका छन् । प्रहरीले निकै सतर्कतापूर्वक कारबाही चलाएमात्रै सफलता पाउन सक्छ । निशान खड्का अपहरण र उनको हत्याको घटनामा प्रहरीले यसतर्फ पनि समीक्षा गर्न आवश्यक देखिएको छ । यस्तो जघन्य घटनामा पीडितको उद्धार, सुरक्षा र अपराधीलाई नियन्त्रण गरी कानुनी कारबाही सुनिश्चित गर्न प्रहरीले पर्याप्त सतर्कता अपनाउनु पर्ने हुन्छ । नेपाल प्रहरीले यस्ता घटनाहरूमा कुशलतापूर्वक कारबाही गरेर सफलता हात पारेका दृष्टान्तहरू छन् । यसो हुँदा हुँदै कहिलेकाहिँ सानोतिनो कमजोरी, मानवीय त्रुटि, समन्वयको अभावजस्ता कारणले असफलता निम्त्याउँछ । यसफतर्फ ध्यान जानु आवश्यक छ । 

 


Views: 23

सम्बन्धित सामग्री:

प्रदेश परिषद् बैठक

: Tuesday, 11 December, 2018 (2:07:22 PM)

विद्रोही बहिष्कार

: Monday, 10 December, 2018 (2:29:51 PM)

वहसको निम्तो पो !

: Sunday, 09 December, 2018 (6:03:58 PM)