19th November | 2018 | Monday | 12:40:12 PM

राज्यको जवाफदेहिता

  POSTED ON : Friday, 07 September, 2018 (3:24:10 PM)

राज्यको जवाफदेहिता

यही भदौ ७ गते बर्दियाको गुलरियामा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव उनको पार्टी संघीय समाजवादी फोरमले आयोजना गरेको एक कार्यक्रममा सहभागी थिए । उक्त कार्यक्रममा एउटा समूहले उपप्रधानमन्त्री यादवलाई कालोझण्डा देखाउने प्रयास ग¥यो । यो विरोधी समूहका चारजनालाई प्रहरीले पक्राउ ग¥यो र राज्यविप्लवको आरोप लगायो ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये बाँकेका ३० वर्षीय राममनोहर यादव नामका एक व्यक्ति एक सातापछि बिरामी परे । प्रहरीले बर्दिया र नेपालगन्जमा उनको उपचार गरायो तर बिसेक भएन । उनलाई उपचारकै लागि काठमाडौं ल्याउने क्रममा बाटैमा मृत्यु भयो । प्रहरीले सार्वजनिक गरेको विवरण यति नै हो । 

यो मृत्युको विषयमा विपक्षी दल नेपाली कांग्रेस र सरकारलाई समर्थन गरेको राजपा नेपालले प्रतिनिधिसभा बैठकमा प्रश्न उठाएका छन् । उनीहरूले हिरासतमा प्रहरीको यातनाले राममनोहरको मृत्यु भएको आरोप लगाउँदै न्यायिक छानविनको माग गरेका छन् । उनीहरूले सरकारको जवाफ मागेका छन् । सरकारले यस घटनाका सम्बन्धमा संसदमा जवाफ दिएको छैन । छानविन गर्ने पनि भनेको छैन । 

बहुदलीय व्यवस्था पुनस्र्थापनापछि पहिलो आमनिर्वाचनबाट कांग्रेस नेता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । प्रधानमन्त्रीका हैसियतमा कोइराला राजधानीबाहिर कुनै कार्यक्रममा सहभागी हुँदै थिए । त्यतिबेलाको विपक्षी दल नेकपा एमालेका कार्यकर्ताहरूले कालोझण्डा देखाए । कोइरालाले आफ्नो भाषणमा आफ्नो पार्टी नेपाली कांग्रेसले बोल्न र विरोध गर्न पाउने व्यवस्थाका लागि संघर्ष गरेको र प्रधानमन्त्रीको विरोधमा कालो झण्डा देखाएकोमा खुसी लागेको बताए ।  

यता लोकतान्त्रिक गणतन्त्रमा कालोझण्डा देखाएको आरोपमा पक्राउ परेका व्यक्तिको प्रहरी नियन्त्रणमै ज्यान गएको छ । बिहीबारको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र राजपाका सांसदहरूले सोधे– लोकतान्त्रिक गणतन्त्रमा कालोझण्डा देखाएर विरोध गर्न पाइन्छ कि पाइँदैन ? कालोझण्डा देखाउनु शान्तिपूर्ण  विरोधको तरिका हो । शान्तिपूर्ण विरोध प्रदर्शनमा पक्राउ परेको व्यक्तिको प्रहरी नियन्त्रणमा रहेकै अवस्थामा मृत्यु भएको छ तर सरकार घटनाबारे मौन छ । 

राममनोहर र उनका सहकर्मीहरू कालोझण्डा देखाएकै कारणले पक्राउ परेका हुन् कि अन्य कुनै कारणले ? प्रहरी नियन्त्रणमा राममनोहरको मृत्यु भवितव्य हो कि यसमा प्रहरी संलग्न छ ? यी प्रश्नको जवाफ सरकारसँग हुनुपर्छ । उनीहरूलाई पक्राउ गर्नुपर्ने, मुद्दा चलाउनुपर्ने पर्याप्त कारण होला । त्यसो भए पक्राउ उचितै होला तर राज्यको नियन्त्रणमा रहेको व्यक्तिको मृत्यु सामान्य घटना होइन । यस्तो घटनामा राज्य मौन बस्नु गैरजिम्मेवारी हो । लोकतान्त्रिक राज्यप्रणालीको चरित्र अनुकूल होइन ।  

सरकारले राममनोहरको मृत्युको घटनाको विश्वसनीय छानविन गर्नुपर्छ । घटनामा कोही दोषी देखिन्छ भने कारबाही हुनुपर्छ । प्रहरी नियन्त्रणमा व्यक्तिको मृत्यु हुने÷मारिने र यस्तो घटनाप्रति सरकार मौन बस्ने हो भने राज्यप्रतिको विश्वास कमजोर हुन्छ । राज्यका निकायहरूमा गैरजिम्मेवारी बढ्छ । राज्यको जवाफदेहिताप्रति सरकारको ध्यान पुग्नु आवश्यक छ । राममनोहरको मृत्यु सामान्य घटना मान्नु गलत हुनेछ ।  



Views: 22

सम्बन्धित सामग्री:

निरीह निगम

: Sunday, 18 November, 2018 (6:11:15 PM)

कर्मचारी खटनको सकस

: Friday, 16 November, 2018 (2:46:28 PM)

स्वरोजगार कर्जा

: Thursday, 15 November, 2018 (1:30:08 PM)