19th November | 2018 | Monday | 1:23:26 PM

पारवहनमा फड्को तर चुनौतीपूर्ण

  POSTED ON : Monday, 10 September, 2018 (7:38:41 PM)

पारवहनमा फड्को तर चुनौतीपूर्ण

उत्तरी छिमेकी चीनसँग पारवहन प्रोटोकलमा सहमति भएपछि समुद्रसम्मको पहुँचमा भारतीय बन्दरगाहमाथि रहेको एकल निर्भरता अन्य हुने पक्का भएको छ । नेपाल समुद्रबाट तेस्रो मुलुकसम्मको पहुँचका लागि भारतसँग भर पर्दै आएको हो । भारतसँग जस्तै चीनसँग पनि नेपालले पहिले नै पारवहन सम्झौता गर्न सक्थ्यो तर त्यसो हुन सकेको थिएन । संविधानका विषयमा नेपालले दक्षिणी छिमेकी भारतबाट नाकाबन्दी बेहोर्नु परेपछि भने नेपालले वैकल्पिक व्यवस्थाबारे सोच्नुपर्ने अवस्था आयो । समयको परिणाम नै भन्नुपर्छ, नेपालले समुद्रसम्म पहुँचका लागि चीनसँग पारवहन सम्झौता ग¥यो । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो कार्यकालमा उक्त सम्झौता गरेका थिए । 

दुई वर्षअघि भएको उक्त सम्झौता कार्यान्वयन हुन सकेको थिएन, पारवहन प्रोटोकल तयार नहुँदा । तीनवटा बैठकबाट दुवै देशका अधिकारीहरूले प्रोटोकलमा सहमति जुटाए । चीन नेपाललाई चारवटा बन्दरगाह उपलब्ध गराउन सहमत भएको छ । यो सहमतिसँगै भारतीय बन्दरगाहसँगको एकल निर्भरता अन्त्य हुने भएको छ । नेपालका लागि यो एउटा ठूलो फड्को हो । पारवहनमा वैकल्पिक व्यवस्था त हुँदै हो, सँगै तेस्रो मुलुकसँग पहुँच विस्तार पनि हो । चीन तथा तेस्रो मुलुकबाट आयात–निर्यात व्यापार विस्तारका लागि अवसर हो । भारतीय मार्गको सट्टा चिनियाँ मार्ग भन्नेचाहिँ होइन । नेपालले आफ्नो सुविधाअनुसार मार्ग प्रयोग गर्न सक्नेछ । 

चिनियाँ भूमिबाट पारवहन मार्ग प्रयोग गर्नु नेपालका लागि धेरै सहज छैन । भौगोलिक अवस्थिति र दुरी दुवै हिसाबले भारतीय मार्ग सहज छ, चीनको तुलनामा । नेपालले चीनसँगका नाकासम्म पुग्ने सडक र अन्य पूर्वाधारहरू निर्माण गर्नुपर्नेछ, स्तरोन्नति गर्नुपर्नेछ । यसमा लगानी गर्नुपर्नेछ । चीनतर्फको चार हजार किलोमिटरभन्दा लामो दुरी पार गरेर समुद्रसम्म पहुँच पु¥याउनु नेपालका लागि निकै चुनौतीपूर्ण छ । यो चुनौती पार गरेर पहुँच विस्तार गर्ने अवसर भने नेपाललाई प्राप्त भएको छ । पूर्वाधार निर्माणमा नेपालले जति छिटो काम गर्नेछ उति नै छिटो चिनियाँ मार्ग प्रयोग हुन सक्नेछ । 

चीनबाट समुद्रमा पहुँचको अर्थ हो चिनियाँ रेलको मार्गको प्रयोग । नेपालले चिनियाँ रेलमार्ग प्रयोग गर्न नेपाली सीमानासम्म रेल आउनु पर्छ । यसका लागि चीनले सक्रियता देखाएको छ । प्रधानमन्त्री ओलीको पछिल्लो चीन भ्रमणमा चिनियाँ राष्ट्रपतिकै चासो प्रकट भएको छ । अबको काम यातायात मार्ग, सुख्खा बन्दरगाह र अन्य आवश्यक भौतिक संरचना विकास नै हो । यसतर्फ अपेक्षित गतिमा काम हुन नसके चीसँगको पारवहन सम्झौताबाट उत्साहजनक उपलब्धि हासिल हुन सक्दैन । पारवहनमा यो फड्को निकै चुनौतीपूर्ण छ । अब अवसर सदुपयोगका लागि नेपालको सक्रियता आवश्यक पर्नेछ । 




Views: 20

सम्बन्धित सामग्री:

निरीह निगम

: Sunday, 18 November, 2018 (6:11:15 PM)

कर्मचारी खटनको सकस

: Friday, 16 November, 2018 (2:46:28 PM)

स्वरोजगार कर्जा

: Thursday, 15 November, 2018 (1:30:08 PM)