19th November | 2018 | Monday | 1:44:16 PM

प्रधानमन्त्रीका लागि हाँक

  POSTED ON : Wednesday, 12 September, 2018 (2:52:30 PM)

प्रधानमन्त्रीका लागि हाँक

साढे एक महिनाअघि कञ्चनपुरमा भएको १३ वर्षे किशोरी निर्मला पन्तको बलात्कार र हत्याको घटनाको अनुसन्धान झन् जटिल बनेको छ । सरकारले गठन गरेको छानबिन समितिका एक सदस्यले ‘आफूले न्याय दिलाउने गरी काम गर्न नसक्ने, वास्तविक अपराधीहरू उम्किने’ जस्ता कारणहरू देखाएर समितिबाट राजीनामा गरेका छन् । उनले सरकारसँग सुरक्षा माग पनि गरेका छन् । गृहमन्त्रालयका सहसचिवको संयोजकत्वमा बनेको छानबिन समितिले अपराधी खोजी गर्ने होइन, घटनाको अनुसन्धानमा भएका त्रुटि र घटनापछिका घटनाहरूको छानबिन गर्ने हो । यो समितिले घटनाको अनुसन्धानमा त्रुटि भएको भन्ने प्रारम्भिक निष्कर्ष सुनाइसकेको छ । एक सदस्यको राजीनामा र सुरक्षा मागले परिस्थितिको गम्भीरता संकेत गरेको छ । 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुर पुगेरै प्रारम्भदेखि नै घटनाको अनुसन्धानमा त्रुटि भएको सार्वजनिक अभिव्यक्ति दिएका छन् । उनले अनुसन्धानमा प्रहरीबाट भएको त्रुटिले प्रहरी संगठनको प्रतिष्ठामा समेत असर पारेको पनि बताए । उनले ती प्रहरी अधिकृतमाथि कारबाही हुने, जागिरसमेत खोसिन सक्ने बताए अनि पीडित परिवारजनलाई भेटेर हत्यारा पत्ता लगाएरै छाड्ने आश्वासन दिए । प्रहरी महानिरीक्षकको उक्त सार्वजनिक अभिव्यक्तिले पनि परिस्थितिको गम्भीरतातर्फ संकेत गरेको छ । निकै ढिलो गरी पक्राउ गरिएका तर मानसिक सन्तुलन ठीक नभएका भनिएका व्यक्ति र निकै ठूलो दबाबपछि पक्राउ गरिएका बम दिदीबहिनी ‘पर्याप्त प्रमाणको अभावमा’ अदालतको आदेशले तारेखमा रिहा भएका छन् । प्रहरीको अहिलेसम्मको खोजी÷अनुसन्धान शून्य भएको छ ।  

घटनास्थलबाट अपराधीहरू भाग्न सक्छन्, कहिलेकाहीँ अपराधी फेला पार्न लामो समय लाग्न सक्छ । यसो भए पनि प्रहरी अपराधीको नजिक पुगेको हुन्छ । नेपाल प्रहरीले निकै रहस्यमय मानिएका र निकै पुराना घटनामा पनि सफलता हासिल गरेको छ । कञ्चनपुर घटनामा भने सुरुदेखि नै प्रहरीको भूमिकामा शंका गर्ने अवस्था सिर्जना भयो । एउटा सोझो प्रश्न के हो भने, प्रहरीले शव भेटिएको ठाउँ र घटनाको दिनसँग जोडिएका स्थानहरूबाट किन एउटै पनि प्रमाण सुरक्षित गर्न सकेन ? समातिएका तीनैजना रिहा भएपछि अर्को प्रश्न स्वाभाविक भएको छ– प्रहरी असफल भएको हो कि कञ्चनपुरका बासिन्दाले आरोप लगाएझैँ प्रहरीले नै अपराधी जोगाएको हो ? 

उपर्युक्त प्रश्नबाट प्रहरी संगठन उम्किने ठाउँ छैन किनभने महानिरीक्षकले नै अनुसन्धानमा गडबडी भएको स्वीकार गरिसकेका छन् । उक्त घटनामा कञ्चनपुरको तत्कालीन प्रहरी नेतृत्व त शंकाको घेरामा परेकै छ, प्रहरी मुख्यालय, गृहमन्त्रालय र सिंगो सरकार पनि चुकेका छन् । स्थानीयबासीको आन्दोलनमा राजनीतिक रङ देख्नु सरकारको सबैभन्दा ठूलो भुल थियो । अनुसन्धानमा प्रहरी गम्भीर छैन भन्ने थाहा पाउन तीन साता कुर्नुपर्ने थिएन । यो घटनाको अपराधी समात्नु अब कुनै प्रहरी अधिकारीका लागि मात्रै होइन, सिंगो सरकारका लागि हाँक भएको छ । अझ, प्रधानमन्त्री केपी शर्मा ओलीका लागि झन् ठूलो हाँक हो । प्रधानमन्त्रीले हस्तक्षेप गरून्, यो परीक्षा पनि हो । 


Views: 19

सम्बन्धित सामग्री:

निरीह निगम

: Sunday, 18 November, 2018 (6:11:15 PM)

कर्मचारी खटनको सकस

: Friday, 16 November, 2018 (2:46:28 PM)

स्वरोजगार कर्जा

: Thursday, 15 November, 2018 (1:30:08 PM)