19th October | 2018 | Friday | 3:52:25 AM

बाघ संरक्षण र चुनौती

  POSTED ON : Thursday, 27 September, 2018 (2:57:49 PM)

बाघ संरक्षण र चुनौती

नेपालले बाघ संरक्षणमा अपेक्षित सफलता हासिल गरेको छ ।  चितवन, बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज तथा शुक्लाफाँटा आरक्ष पाटे बाघका बासस्थान हुन् । यीमध्ये चितवन र बर्दिया मुख्य हुन् । अहिलेको वृद्धिदरले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने आठ वर्षअघिको प्रतिबद्धता नेपालले पूरा गर्नेछ । हालैको गणनामा डमरुबाहेक बाघको कुल संख्या २३५ रहेको जनाइएको छ । अब प्रतिबद्धता पूरा हुन १५ वटा बाघ थपिनु पर्छ । सन्तुलित पारिस्थितिक प्रणालीका लागि ठूला मांसाहारीको उच्च महŒव हुन्छ । हाम्रो देशमा बाघ यस्तो मुख्य जनावर हो । संसारमै बाघको संख्या करिब चार हजार रहेको अनुमान छ ।  

विश्वमा वन्यजन्तुको संख्या र प्रजातिमा, अझ बाघ, सिंह, चितुवाजस्ता ठूला मांसाहारीमा द्रुत गतिमा ह्रास आएको यो समयमा हामीले बाघको संख्या बढाउन सक्नु खुसीको कुरा हो । नेपालले वन्यजन्तु संरक्षणमा अन्तर्राष्ट्रियरूपमै सराहनीय प्रगति गर्दै आएको छ । बाघको संख्या वृद्धि यसकै निरन्तरता हो । वन्यजन्तु र वनस्पति संरक्षणमा नेपालले करिब पाँच दशकदेखि उच्च प्राथमिकता दिएको छ । नेपालले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, मध्यवर्ती क्षेत्र र संरक्षण क्षेत्रसमेत गरी कुल भूभागको करिब २५ प्रतिशत संरक्षित क्षेत्र कायम गरेको छ । प्राकृतिक पारिस्थितिक प्रणाली संरक्षणका लागि कानुनी प्रबन्ध गरेको छ । धेरै अन्तर्राष्ट्रिय प्रोटोकलहरूको पक्ष राष्ट्र भएको छ ।

यति उपलब्धि र खुसीका बीच पनि वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । ठूला मांसाहारीका लागि चाहिने ठूलो विचरणस्थल र पर्याप्त आहाराको उपलब्धता कम हुँदै गएको छ । बाघको बढ्दो संख्या व्यवस्थापनका लागि विचरण क्षेत्र पनि फैलिनु पर्छ । बढ्दो जनसंख्या, शहरीकरण, विकास गतिविधि, संरक्षित क्षेत्रको अतिक्रमण, जैविक मार्ग भंग आदि वन्यजन्तुको वासस्थान संरक्षणका लागि चुनौतीपूर्ण बन्दैछ । बढ्दो प्रदूषण अर्को समस्या हो । यी सबैको असर वन्यजन्तुको प्रजनन प्रक्रियामा पर्छ । गुप्त बजारमा व्यापारिक महŒव भएका जनावरको चोरी शिकारी अर्को ठूलो चुनौती हो । बाघ यस्तै चुनौतीभित्रको एक मुख्य जनावर हो । यसको संख्या वृद्धिसँगै उचित व्यवस्थापनका उपायहरू पनि कार्यान्वयन गर्न उत्तिकै आवश्यक छ । 

बढ्दो जनसंख्या र वन्यजन्तुको खुम्चँदो वासस्थानले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन पनि कठिन हुँदै जान्छ । मानिसले आफ्नो सुरक्षाका लागि वन्यजन्तुमाथि प्रतिशोधी कारबाही गर्छ । वन्यजन्तुको संख्याका हिसाबले प्रकृति संरक्षणमा सफलता हासिल हुँदै जाँदा संरक्षणको चुनौती पनि बढ्दै जान्छ । नेपाल अहिले ठीक यही अवस्थामा छ । संरक्षणकार्य अझै चुनौतीपूर्ण हुँदै जानेछ । तराईमा बाघको संख्या बढ्दै जाँदा हिमाली क्षेत्रमा हिउँचितुवा थप संकटमा पर्दै गएको छ । संरक्षणमा नेपालले हासिल गरेको उपलब्धि जोगाउन पनि नेपालले अहिलेको प्रयास अझ सुदृढ गर्दै जानुपर्नेछ । थप प्रगति हासिल गरेर उपलब्धि जोगाउन त थप प्रयास गर्नु पर्नेछ ।   

 


Views: 47

सम्बन्धित सामग्री:

स्वस्थ मासुका लागि

: Monday, 15 October, 2018 (2:43:47 PM)