17th December | 2018 | Monday | 1:00:02 AM

मुटुको रक्षा

  POSTED ON : Sunday, 30 September, 2018 (6:56:46 PM)

मुटुको रक्षा

चिकित्सकहरू भन्छन्– नसर्ने रोगमध्ये मुटुसम्बन्धी रोग प्रमुख स्वास्थ्य समस्याका रूपमा आउँदैछ । सामान्यतयाः जन्मजातबाहेक मुटुसम्बन्धी रोग उमेर ढल्किँदै जाँदाको रोग हो भन्ने धारणा छ तर पछिल्ला अनुसन्धानहरूले युवा अवस्थामै पनि मुटुको रोग बढ्न थालेको देखाएका छन् । खासगरी जीवनशैलीमा आएको परिवर्तन नै मुटुको रोगको मुख्य कारण हो । आधुनिक जीवनशैलीमा बढ्दो अस्वस्थकर खानपान र शारीरिक निष्क्रियता मुटुसम्बन्धी रोगको मुख्य कारण हो भन्छन् चिकित्सकहरू । विश्वमा वर्षेनी एक करोड ८० लाखभन्दा बढी मानिसको मृत्यु मुटुसम्बन्धी रोगका कारणले हुने गरेको छ र यो क्रम बढ्दो छ । 

फास्ट फुड मानिने तयारी खानेकुराको प्रयोग बढ्दै गएको छ । फास्ट फुडका अधिकांश खानेकुरा जंक फुड मानिन्छन् । घाममा सुकाएका, तेलमा तारिएका, अधिक मसला राखिएका, लामो समय टिकाउन प्रिजर्भेटिभ्स् रासायनिक वस्तु राखिएका, आकर्षक देखाउन अधिक र अखाद्य रङ प्रयोग गरिएका खानाको प्रयोग बढ्दो छ । यस्ता खानाको असर रक्तचाप र मुटुमा पर्ने चिकित्सहरूको भनाइ छ । रगतमा कोलस्टेरल बढाउने खानाको प्रयोग पनि बढ्दो छ जसको असर मुटुमै पर्छ । 

यसैगरी, बढ्दो शारीरिक निष्क्रियताका कारण मोटोपन बढ्दैछ । चिकित्सकहरूका अनुसार मोटोपनले रक्तचाप बढ्ने र मधुमेह देखापर्ने अनि यी दुवैको असर सोझै मुटुमा पर्ने भएकाले मुटुरोगको समस्या पनि बढ्न थालेको हो । यस्तो समस्या विकसित देशमा मात्रै होइन, विकासोन्मुख देशमा पनि चिन्ताजनकरूपमा देखापर्न थालेको छ । शहरी बासिन्दामा मोटोपनको समस्या बढी हुन्छ । त्यसैले मुटुरोग पनि शहरियाको रोगको रूपमा चित्रण हुनेगर्छ । चिकित्सकहरू शारीरिक सक्रियाता बढाउन दिनमा एक पटक पसिना आउने गरी एक घण्टासम्म हिँड्न सुझाव दिन्छन् । 

धुमपान र मद्यपान पनि मुटुरोगका कारण मानिएका छन् । थोरै मदिरापान अनुचित नहुने मान्यता रहिआएकोमा पछिल्लो अध्ययनले मदिरापान मुटुका लागि पूर्णरूपमा हानिकारक रहेको निष्कर्ष दिएको छ । यता आधुनिक शहरिया संस्कृतिमा मदिरा सेवन सामान्य बन्दै गएको छ । कुनै उत्सव विशेषको भोजमा मदिरा अनिवार्य मान्न थालिएको छ । मदिरा बिक्रीमा खास प्रकारको मापदण्ड छैन । बिक्री नियन्त्रणमा सरकारले प्रयास गरेको भए पनि सफल हुन सकेको छैन । यसतर्फ सरकारले ध्यान दिनु आवश्यक छ । 

सामान्यतयाः स्वास्थ्य रक्षा व्यक्तिगत विषय हो । सरकारको नीति र कानुनी मापदण्डले व्यक्तिलाई प्रभाव पार्छ । मुटुसम्बन्धी रोगको उपचारमा बालबालिका र ज्येष्ठ नागरिकहरूका लागि निःशुल्क उपचारलगायत सहुलियतहरू दिएको छ । यो सराहनीय छ । यससँगै मुटुसम्बन्धी रोग र मुख्य स्वास्थ्य समस्याहरूमा सरकारले मापदण्ड बनाउनु र कार्यान्वयन गर्नु आवश्यक छ । धुमपान र मद्यपान निरुत्साहित गर्ने सरकारी कार्यक्रम कर्मकाण्डीयमात्रै छ । मुटुसम्बन्धी, मधुमेह, क्यान्सरजस्ता नसर्ने रोगहरू भयावह हुन नदिन नियन्त्रणका लागि सरकारले अधिकतम प्रयास गर्नुपर्छ ।

स्वस्थकर जीवनशैली अपनाऔँ । नियमित स्वास्थ्य परीक्षण गरौँ । मुटुको रक्षा गरौँ । मुटु रहे न जीवन रहने हो !


 




Views: 86

सम्बन्धित सामग्री:

श्रीलंकाको शिक्षा

: Sunday, 16 December, 2018 (6:24:33 PM)

अस्थिर शेयर बजार

: Thursday, 13 December, 2018 (2:07:34 PM)