17th December | 2018 | Monday | 2:40:43 AM

राजनीतीकरणको राग

  POSTED ON : Monday, 01 October, 2018 (3:02:01 PM)

राजनीतीकरणको राग

सरकार उसका काम कारबाहीका विषयमा आलोचनामा परिरहन्छ । विपक्षीले त दोष केलाएर सरकारको आलोचना गर्नुलाई आफ्नो धर्म नै मान्छ । विपक्षले संसद्मा आवाज उठाउँछ, कहिलेकाहीँ बैठकै अवरुद्ध गर्छ, सडकमा विरोध प्रदर्शन गर्छ, नाराजुलुस गर्छ । कहिलेकाहीँ खास विषयहरूमा स्वतस्फूर्त रूपमा नागरिकहरू विरोधमा उत्रिन्छन् । पेसागत र व्यावसायिक संघ संगठनहरू आफ्नो हित प्रबद्र्धनका लागि सरकारको विपक्षमा उभिन्छन् । बृहत्तर सरोकारका विषयहरूमा सरकारमाथि दबाब पर्छ, विरोध हुन्छ । कहिलेकाहीँ त सत्ता पक्षभित्रै पनि विरोध र समर्थनको अवस्था देखापर्छ । राजनीतिमा विरोध–समर्थन सिक्काका दुई पाटाका रूपमा रहन्छन् । 

सरकार हरेक विरोधमा राजनीतीकरणको दृश्य देख्छ, षड्यन्त्रको गन्ध अनुभव गर्छ । विरोधमा अलिक बलियो मत देखाप¥यो भने सरकार ढाल्ने षड्यन्त्रको दृश्य देख्छ । यतिबेला हाम्रो सरकारको दृष्टिमा यस्तै राजनीतीकरण र षड्यन्त्र गोचर हुन थालेको छ । केही दिनअघि सत्तारुढ नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहालले बलात्कार र हत्याका घटनाहरूमा सरकारविरुद्ध षड्यन्त्रको दृश्य देखे । संसद् बैठकमा सत्ता पक्षका केही सांसदहरूले दाहालले देखेकै जस्तो दृश्यको चर्चा गरे । केही दिनयता गृहमन्त्री रामबहादुर थापा सरकार ढाल्ने षड्यन्त्र भएको देख्न थालेका छन् । समग्रमा दुई तिहाइ बहुमतको सरकार नागरिकका आवाजमा राजनीतीकरण र षड्यन्त्र देख्न थालेको छ ।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याको घटना छानबिनमा लापरबाही भयो भनेर स्थानीयवासीले गरेको विरोधमा राजनीतीकरण र षड्यन्त्र नदेखेको भए सम्भवतः स्थिति यति पेचिलो हुने थिएन । सम्भवतः गृहमन्त्रीले संसदीय समितिमा उपस्थित भएर ‘घटना अनुसन्धान गर्ने मेरो प्रहरीले मृतकका बाबुको औँठाछाप नै किर्ते गरेछ’ भन्नुपर्ने थिएन । प्रधानमन्त्रीले आफ्ना कार्यकर्तालाई अरिङ्गाल बन्न निर्देशन पनि दिनुपर्ने अवस्था आउने थिएन होला । त्यसअघि डा. गोविन्द केसीको सत्याग्रहमा सरकारविरुद्धको षड्यन्त्र खोज्नतिर नलागेको भए उनी २७ दिनसम्म अनशन बस्नुपर्ने थिएन, आखिर सरकारले सहमति त गर्नैै प¥यो । 

दुई तिहाइ बहुमतको यति बलियो सरकार प्रत्येक घटनामा, आफ्नो काममा व्यक्त असन्तुष्टिको प्रत्येक आवाजमा राजनीतीकरणको षड्यन्त्रमात्रै देखिरहेको छ । र, पार्टीका नेताहरू, प्रधानमन्त्री र मन्त्रीहरू आफ्ना प्रत्येक मन्तव्य, भाषण र अन्तर्वार्ताहरूमा राजनीतीकरणको राग अलाप्न थालेका छन् । सरकारको कुनै खास कामको आलोचना गर्नु, असन्तोष प्रकट गर्नु, विरोध गर्नु त स्वाभाविक प्रक्रिया हो । यी सबैमा राजनीतीकरण र सरकार ढाल्ने षड्यन्त्र हुँदैन । सरकार कतै नचुक, परिणाम देऊ भन्ने आग्रह हुन्छ । तर किन सत्तामा बस्नेहरू पलपलमा आफ्नाविरुद्ध षड्यन्त्रमात्रै देख्छन् ? प्रत्येक घटनामा राजनीतीकरणमात्रै किन देख्छन् ? सम्भवतः सत्तामा बसेकाहरूलाई आफ्नो जयगानमात्रै मन पर्छ । र, विरोधको आवाजमा राजनीतीकरण र षड्यन्त्र मात्रै गोचर हुन्छ । अनि, बचाउको ‘राजनीतीकरण भयो, षड्यन्त्र भयो’ भन्नु अनिवार्य बन्न जान्छ । 


Views: 72

सम्बन्धित सामग्री:

श्रीलंकाको शिक्षा

: Sunday, 16 December, 2018 (6:24:33 PM)

अस्थिर शेयर बजार

: Thursday, 13 December, 2018 (2:07:34 PM)