19th October | 2018 | Friday | 5:06:37 AM

आशा फैलाउने कि निराशा !

  POSTED ON : Tuesday, 02 October, 2018 (2:30:20 PM)

आशा फैलाउने कि निराशा !

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारका कामकारबाही आलोचना गरेपछि पार्टीमा हलचल पैदा भएको छ । नेता नेपालको आलोचना सरकारमा मात्रै सीमित छैन । उनले एउटा पार्टीको निर्णय प्रक्रियाका विषयमा पनि प्रश्न उठाएका छन् । नेपालको यो कदमको पक्ष र विपक्षमा नेताहरू खुलेरै अघि बढेका छन् । अर्को पक्षबाट नेता नेपालको अभिव्यक्तिको चर्को आलोचना भएपछि उनका पक्षधरहरू प्रतिरक्षामा जुटेका छन् । पार्टी एकीकरण र सरकारको कामका विषयमा भित्रै रुमलिएको धुवाँ बाहिर आएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाबाटै वरिष्ठ नेता नेपाललाई कटाक्षपूर्ण जवाफ दिएका छन् । उनको पक्षले नेता नेपालको पतनको सुरुआत भनेर खरो टिप्पणी गरेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल विदेशमा रहेका समयमा उनीहरूको फिर्तीसमेत नपर्खी सरकार र पार्टीका कामकारबाहीबारे खरो टिप्पणी र आलोचना गर्नु तथा नेता÷कार्यकर्ता भेलासमेत आयोजना गर्नुले परिस्थितिको गम्भीरता दर्शाउँछ । उनको अभिव्यक्तिलाई गृहमन्त्री रामहादुर थापाले सरकारलाई घेरा हालेर ढाल्ने षड्यन्त्रका रूपमा अर्थ लगाउनुले पनि परिस्थिति कति गम्भीर रहेछ भन्ने देखाउँछ । 

नेकपा सामान्य अवस्थाको सत्तारुढ दलमात्रै होइन । एउटा ठूलो राजनीतिक परिवर्तनपछिको शक्तिशाली सरकार बनाएको दल हो । राजनीतिक स्थिरता बनाउँदै मुलुकलाई विकास र समृद्धिको दिशामा अघि बढाउने दायित्व यो सरकारमा छ । लामो समयको राजनीतिक द्वन्द्व र अस्थिरताले हैरान जनताले यही दायित्व निर्वाहका लागि दुई तिहाइ मत दिएका हुन् । निश्चय नै छ–सात महिनामा सरकारले हालसम्म सबै समस्या समाधान गरेर ठीकठाक पारिसक्नु पथ्र्यो, धमाधम विकास हुन थाल्नुपथ्र्यो, समृद्धि देखिन थाल्नु पथ्र्यो भन्ने होइन तर नेता नेपालले भनेझैँ जनताले सकारात्मक परिणाम अनुभव भने गर्न थाल्नु पथ्र्यो ।

वरिष्ठ नेता नेपालले सरकारका कामकारबाहीमा त्रुटि देखे, पार्टीको निर्णय प्रक्रियामा त्रुटि देखे अनि उनले मुख खोले । आलोचना गरे । अर्को पक्षले यो आलोचनालाई असामान्यरूपमा लियो । परिणाम के भयो भने दुवै पक्ष आपसमा शत्रुवत देखापरे । यस्तो परिस्थितिले आमजनतामा भने निराशा पैदा गर्छ । पार्टी नेता÷कार्यकर्ताले चलाउने भए पनि त्यसका आमजनताको सरोकार हुन्छ । जनताप्रति सरकार र पार्टी दायित्व हुन्छ, जो निर्वाह गर्नै पर्छ । पार्टीभित्रको विग्रह कति महँगो पर्छ, त्यसको भुक्तभोगी नेताहरू अहिले सत्तामा छन् । 

सरकारको आलोचना हुन्छ, असन्तुष्टि प्रकट हुन्छ । विपक्षीबाट त हुन्छ नै, पार्टीभित्रै पनि हुन्छ । सत्तारुढ दलमा त मतभेद र विग्रह देखापर्छ । यस्तो अवस्थाको व्यवस्थापन गर्ने कुशलता नेतृत्वमा हुनुपर्छ । नेकपामा अहिले देखापरेको मेतभेद र विग्रह कुशल व्यवस्थापन अभावको परिणाम हो । पार्टीका आन्तरिक प्रतिस्पर्धा हुन्छ, गुट उपगुटहरू खडा हुन्छन्, आलोचना र विरोध हुन्छ । यी सबैको व्यवस्थापनका लागि नेकपाको नेतृत्वमा धैर्यको आवश्यकता छ । सत्ताको डाडु पन्यु हातमा हुनुको दम्भले विनाश गर्छ । नेताहरू भुक्तभोगी छन् । जनतामा निराशा नछरून् । 



Views: 48

सम्बन्धित सामग्री:

स्वस्थ मासुका लागि

: Monday, 15 October, 2018 (2:43:47 PM)