17th October | 2018 | Wednesday | 10:21:51 PM

हानीकारक मिसावट

  POSTED ON : Thursday, 04 October, 2018 (2:21:38 PM)

हानीकारक मिसावट

खाद्य वस्तुमा मिसावट निकै ठूलो समस्याका रूपमा छ तर चर्चा कम । तुलनात्मक रूपमा महँगो र गुणस्तरीय खाद्यमा उस्तै देखिने तर सस्तो र कम गुणस्तरको मिसावट गरेर महँगोमा बेच्ने प्रवृत्ति कतै छिपेको छैन । थाहै नहुने अखाद्य मिसावट त कति हुन्छ, त्यो बाहिर आउनै मुश्किल पर्छ । करिब दुई दशकअघि तोरीको तेलमा तोरीकै जस्तो देखिने अखाद्य तेल मिसावटले निकै खैलाबैला मच्चाएको थियो । अक्सर खाद्य वस्तुमा हुने फरक गुणस्तरको र अखाद्य मिसावाटको चर्चा ठूला चाड दशैँ–तिहारको सेरोफेरोमा बढी हुने गरेको छ । बढी व्यापार हुने समय भएकाले मिसावट पनि यही समयमा बढी हुने गरेको छ । 

मिसावटपछिको अर्को समस्या हो म्याद नाघेका वस्तुको बिक्री । म्याद नाघिसकेका धेरै पुराना खाद्यवस्तुमा म्यादको नयाँ लेबल टाँसेर बजारमा पठाएका घटनाहरू पनि भएका छन् । होटल, रेष्टुरेन्ट तथा मिठाई पसलहरूमा अखाद्य मिसावट र म्याद नाघेका वस्तुको प्रयोग हुने गरेको अनुगमनका क्रममा फेला पर्ने गरेको छ । सबैभन्दा पछिल्लो दृष्टान्त हो राजधानीको नयाँ वानेश्वरस्थित संगम स्वीट जहाँ अखाद्य मिसावट र म्याद नाघेका वस्तुको प्रयोग फेला परेको छ । मिठाई आकर्षक देखाउन प्रयोग हुने रङ अक्सर अखाद्य नै हुने गरेको छ । खाद्य रङ निकै महँगो हुन्छ, यसको सट्टा व्यवसायीहरूले सस्तो अखाद्य रङ प्रयोग गर्ने गरेका छन् ।

होटल तथा मिठाई पसलहरूको अर्को अस्वस्थकर प्रयोग हो तेल । तेलमा तारिने खानेकुरा बनाउन प्रयोग भएको तेल लामो समय निरन्तर तताइएको हुन्छ । एक–दुई पटक प्रयोग भएको तेल हटाइँदैन, त्यसमै थप्दै जाने चलन हुन्छ । लामो समयको प्रयोगले डढेर कालो भएको तेल थिगारे त¥याउने र प्रयोग गर्दै जाने हुन्छ । यस प्रकारको तेल अस्वस्थकर हुन्छ तर यसतर्फ व्यवसायीहरू गम्भीर देखिँदैनन् । अखाद्य मिसावट अनि देख्नमा अकर्षक तर अस्वस्थकर खानेकुरा तयार गर्नुको एउटै उद्देश्य हो अधिकतम नाफा । उपभोक्ताको स्वास्थ्य पूर्ण बेवास्ता गरेर नाफामा मात्र केन्द्रित हुनु बेइमानी हो, जनस्वास्थ्यमाथि खेलवाड हो र कानुनी रूपमा गम्भीर अपराध । 

कानुनले मिसावटलाई अपराध मानेको छ, दण्ड सजायको प्रावधान छ तर अनुगमन नियमित नहुँदा बेइमानी यथावत छ । नियमित अनुगमनका लागि दक्ष र पर्याप्त जनशक्ति आवश्यक पर्छ । नियामक निकायहरूले जनशक्तिको अभाव रहेको भन्ने गुनासो गर्ने गरेका छन् । अनुगमनको इमानदारीमा पनि प्रश्न उठ्ने गरेको छ । चाडवाडको समयमा हुने छड्केले मात्रै मिसावटको समस्या समाधान गर्दैन । बाँकी वर्षभरि त मनपरी भएकै हुन्छ । नाफाको लोभमा उपभोक्ताको स्वास्थ्यमा हुने खेलवाड रोक्न नियामक निकायहरू सक्रिय हुनुपर्छ । जनशक्ति र प्रविधिले युक्त हुुनुपर्छ । यससँगै उपभोक्ता पनि सचेत हुन आवश्यक छ । 

खाद्यान्न, मिठाई, मसला, तेल, फलफूल, तरकारी चौतर्फी कुनै न कुनैरूपमा अखाद्य हानीकार वस्तुको मिसावट हुनसक्छ । यस्तो मिसावट रोक्न सरकारले आफ्ना संयन्त्रहरू सक्रिय राख्नुपर्छ । जनशक्ति बढाउनु पर्छ । प्रदेश सरकार र स्थानीय तहहरूले पनि यसमा ध्यान दिन आवश्यक छ ।

Views: 46

सम्बन्धित सामग्री:

स्वस्थ मासुका लागि

: Monday, 15 October, 2018 (2:43:47 PM)