17th December | 2018 | Monday | 12:04:22 AM

प्रधानमन्त्रीको महासभा यात्रा

हिमालय टाइम्स   POSTED ON : Friday, 05 October, 2018 (3:34:56 PM)

प्रधानमन्त्रीको महासभा यात्रा

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको त्रिहत्तरौँ महासभालाई सम्बोधन गरेर स्वदेश फर्केका छन् । न्युयोर्कमा रहँदा उनले विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूलाई भेटे । आफ्नो देशबारे जानकारी गराए । यही क्रममा उनले अर्को अमेरिकी मुलुक कोस्टारिकाको भ्रमण गरे । त्यहाँको राजनीति, शान्ति प्रक्रिया, विकास निर्माण र प्राकृतिक वातावरणबारे जानकारी हासिल गरे । करिब दुई सातामा स्वदेश फर्किंदा प्रधानमन्त्री ओलीले आफ्नो भ्रमण सफल भएको र विश्वसमुदायमा नेपालको शिर उचो भएको बताए । नेपालको राजनीतिक, आर्थिक अवस्था र विश्वसमुदायमा नेपालको भूमिकाका विषयमा प्रस्ट पार्न सकेको बताए । 

राष्ट्र संघ महासभामा राष्ट्रप्रमुख वा सरकार प्रमुखको सहभागिता अनिवार्य होइन, स्वेच्छिक हो । सबै देशबाट यस तहको प्रतिनिधित्व नभए पनि हाम्रा प्रधानमन्त्रीको सहभागितालाई सकारात्मक मान्नुपर्छ । नयाँ संविधानअनुसार तीनवटै तहको निर्वाचन सम्पन्न भएर जनप्रतिनिधि संस्था र सरकारहरू गठन भएको, शान्ति प्रक्रियापछिको संक्रमणकालीन अवस्था करिब समाप्त भएको र मुलुक राजनीतिक स्थायित्वतिर अघि बढेको अवस्थामा प्रधानमन्त्रीले विश्वसमुदायमा नेपालको प्रभावकारी उपस्थिति आवश्यक ठह¥याएका हुन सक्छन् । महासभामा प्रधानमन्त्रीको सम्बोधन र भेटवार्ताहरू निष्फल छैनन् । अन्तर्राष्ट्रिय समुदायमा प्रधानमन्त्रीले नेपालको सन्देश प्रवाह गरेका छन् । यस अर्थमा प्रधानमन्त्रीको यो यात्रा फलदायी मान्नुपर्छ । 

यति हुँदाहुँदै पनि न्युयोर्क र कोस्टारिकामा प्रधानमन्त्री ओलीले फर्सदिलो समय बिताएको प्रतीत भयो । कोस्टारिकाको भ्रमण पनि लामो नै मान्नुपर्छ । दुई तिहाइ बहुमतले बलियो रहे पनि सरकारको प्रभावकारितामा प्रश्न उठिरहेको, पार्टी तल्ला संगठनहरूको एकीकरण प्रक्रिया अल्मलिइरहेको र पार्टीको आन्तरिक विवाद चर्किंदै गएको अवस्थामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष विदेशमा ढुक्क र फुर्सदिला देखिए । प्रधानमन्त्रीको भ्रमणदलको आकार पनि निकै ठूलो मान्नुपर्छ । भ्रमणदल आवश्यक भन्दा ठूलो हुँदा राज्यको बजेटको दुरुपयोग हुन्छ । प्रधानमन्त्री आफैँले मुलुकको ढुकुटी रित्तिएको बताएका छन् । यस दृष्टिले प्रधानमन्त्रीको बोली र व्यवहारमा तादात्म्य देखिएन ।

राष्ट्र संघ महासभामा प्रधानमन्त्रीको सहभागिताले विश्वसमुदायमा नेपालको उपस्थिति निश्चय नै बलियो बनाएको छ । नेपालको शान्ति प्रक्रियाको शिक्षा नेपालजस्तै द्वन्द्वग्रस्त मुलुकका लागि उपयोगी हुनसक्छ भन्नेमा प्रधानमन्त्रीले जोड दिएका छन् । कोस्टारिका भ्रमणको एउटा पाटो यो पनि हो । अब प्रधानमन्त्रीले सरकारप्रति आमनागरिकका आशा जागृत गर्ने र पार्टीको असन्तुष्टि सम्बोधन गर्दै सरकारको प्रभावकारिता अभिवृद्धि गर्न ध्यान दिने नै छन् । 


Views: 105

सम्बन्धित सामग्री:

श्रीलंकाको शिक्षा

: Sunday, 16 December, 2018 (6:24:33 PM)

अस्थिर शेयर बजार

: Thursday, 13 December, 2018 (2:07:34 PM)