16th December | 2018 | Sunday | 10:46:56 PM

प्रतिज्ञा मनको कि मुखको !

  POSTED ON : Sunday, 07 October, 2018 (6:31:26 PM)

प्रतिज्ञा मनको कि मुखको !

देशमा किन विकास हुन सकेन ? विकास आयोजनाहरू निर्धारित समयमा पूरा नभएर किन वर्षौं तन्किन्छन् ? विकास निर्माणका काम किन गुणस्तरहीन हुन्छन् ? कर्मचारीहरू काम गरिदिएवापत किन अतिरिक्त रकम अर्थात घुस लिन्छन् ? यी केही प्रश्नहरू हुन् जसको जवाफ एउटै छ– भ्रष्टाचार । मन्त्रीले देशमा भ्रष्टाचार व्याप्त छ भनेका छन् । प्रधानन्यायाधीशले न्यायालयमा भ्रष्टाचार छ भनेका छन् । उच्च तहका कर्मचारीले पनि भ्रष्टाचार छ भन्ने गरेका छन् । सम्भवतः भ्रष्टाचार नहुने कुनै निकाय छैन । त्यसैले होला प्रधानमन्त्री केपी ओलीले ‘म भष्टाचार गर्दिनँ र भ्रष्टाचार हुन दिन्नँ’ भन्ने गरेका छन् । 

सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने एउटा नयाँ उपाय अघि सारेको छ– म भ्रष्टाचार गर्दिनँ भन्ने प्रतिज्ञा । अर्थात अब प्रत्येक राष्ट्रसेवकले कार्यालयमा प्रत्येक दिन ‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्नँ, म देश र जनताका लागि इमानदार भएर काम गर्ने प्रतिज्ञा गर्दछु’ भन्ने प्रतिज्ञा वाचन गरेर मात्र काम थाल्नु पर्नेछ । भ्रष्टाचारमा शून्य सहनशिलताको सरकारी नीति र प्रधानमन्त्रीको निर्देशनअनुसार यस्तो प्रतिज्ञा गर्न निर्देशन दिइएको जनाइएको छ । कार्यालयमा सबैले देख्ने गरी उक्त प्रतिज्ञा लेखिएका ब्यानर र स्टिकरहरू पनि राख्नुपर्नेछ । प्रतिज्ञा वाचन गर्ने तरिका के हो, त्यो प्रस्ट पारिएको छैन । यसको कुनै निर्देशिका पनि छैन । मनमनै सही, वाचनचाहिँ गर्नै पर्नेछ । 

प्रतिज्ञा गर्नु सामान्य काम होइन, प्रतिज्ञा गरेपछि पूरा गर्नुपर्छ भन्ने हाम्रो मान्यता रहिआएको छ । व्यक्तिले सोची विचारीकन आफ्नो अन्तस्करणले कुनै प्रतिज्ञा गर्छ । प्रतिज्ञामा आध्यात्मिक चेत बढी हुन्छ । त्यसैले व्यक्तिले आफूले पूरा गर्नसक्ने मात्रै प्रतिज्ञा गर्छ । अब राष्ट्रसेवक कर्मचारीलाई सरकारले हरेक दिन कुनै प्रतिज्ञा गर्न लगाउँछ भने त्यो उसको अन्तस्करणबाट नआएको हुन सक्छ । उसले स्वेच्छाले हृदयबाट नस्वीकारेको हुन सक्छ । अन्तस्करणबाट नस्वीकारेको प्रतिज्ञा उसले पूरा गर्न आवश्यक नठान्न सक्छ । ‘म भ्रष्टाचार गर्दिनँ’ भन्ने प्रतिज्ञालाई अन्तस्करणको यो पक्षबाट हेर्नुपर्छ । राष्ट्रसेवकले सेवा प्रवेशकै क्रममा भ्रष्टाचार नगर्ने र इमानदारीपूर्वक सेवा गर्ने शपथ गरेको हुन्छ । तर, भ्रष्टाचार भएकै छ । 

यति हुँदाहुँदै पनि सरकारको निर्देशनको सकारात्मक पाटो पनि छ । सबै राष्ट्रसेवक भ्रष्टाचारी अवश्य छैनन् । यस्तो प्रतिज्ञाले उनीहरूमा नैतिकबल अभिवृद्धि हुनेछ । जो भ्रष्टाचारी छ, उसले एकपटक आफ्नो प्रतिज्ञा अवश्य स्मरण गर्नेछ । अर्को अझ महŒवपूर्ण पक्ष छ– आमनागरिकले, सेवाग्राहीले राष्ट्रसेवकहरूलाई उसको आफ्नो प्रतिज्ञा र भित्तामा टाँसिएको स्टिकर सम्झाउन सक्नेछ । यसले दैनिकरूपमा हुने सानातिना भ्रष्टाचार नियन्त्रण गर्न मद्दत गर्न सक्छ । दैनिक प्रतिज्ञाका लागि सरकारको निर्देशनलाई अहिलेलाई यही सकारात्मक पाटोबाट हेर्न सकिन्छ । प्रतिज्ञा कति प्रभावकारी भयो, उद्देश्य पूरा गर्न सहयोगी भयो कि भएन भन्ने अनुगमन र मूल्यांकन कसरी हुन्छ त्यो भने निकट देखिनेछ । 

प्रतिज्ञा गर्न निर्देशन दिँदा भ्रष्टाचारका आयामहरू के के हुन्, भ्रष्टाचार गर्न सक्ने व्यक्तिहरू को को हुन सक्छन् भन्ने पाटो बिर्सन मिल्दैन । भ्रष्टाचारको कुरा उठ्दा राजनीतिक क्षेत्र सधैँ जोडिने गरेको छ । राष्ट्रसेवकलाई निर्देशन दिँदा राजनीतिक नेतृत्व अर्थात सरकारले यति कुरा सम्झिनु आवश्यक छ । 


Views: 67

सम्बन्धित सामग्री:

श्रीलंकाको शिक्षा

: Sunday, 16 December, 2018 (6:24:33 PM)

अस्थिर शेयर बजार

: Thursday, 13 December, 2018 (2:07:34 PM)