17th December | 2018 | Monday | 12:11:12 AM

प्रहरीको प्रतिष्ठा

  POSTED ON : Wednesday, 10 October, 2018 (3:27:01 PM)

प्रहरीको प्रतिष्ठा

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हालै संगठनकै एक कार्यक्रममा प्रहरी संगठनलाई थोरै गलत व्यक्तिले बद्नाम गराएको बताए । उनले संगठनभित्रका त्यस्ता व्यक्तिलाई ‘कीरा’ भने अनि तिनलाई टिपेर फाल्ने बताए । नेतालाई आफ्नो संगठनभित्रको कमी, कमजोरी, विकृति र विसंगति थाहा नहुने कुरै भएन । प्रहरी संगठनभित्रको नालीबेली महानिरीक्षकले जति अरूले थाहा पाउने पनि भएन । निर्मला पन्तको बलात्कार र हत्याको घटनापछि नेपाल प्रहरीको व्यासायिक प्रतिष्ठामा प्रश्न उठ्न थालेको छ । यसअघि ३३ किलो सुन प्रकरणमा वहालवाला र पूर्वप्रहरी अधिकृतहरू तानिनुले पनि प्रहरीमाथि शंकाको वातावरण बनेको हो । निर्मलाको घटनाले सघन बनायो । बद्नामी बढायो । प्रतिष्ठामा क्षति भयो । 

प्रहरी कर्मचारीमाथि पहिलोपटक प्रश्न उठेको होइन । व्यावसायिक÷पेशागत धर्मविपरीत काम गर्ने प्रहरी कर्मचारीहरू पक्राउ परेका, कारबाहीमा परेका दृष्टान्तहरू छन् । आफ्नो बर्दीको अधिकार दुरुपयोग गर्ने कुनै प्रहरी कर्मचारीमाथि कानुन, नियमअनुसार कारबाही हुँदै आएको छ । यस्ता घटनाहरू फाटफुट हुन्छन् तर थोरैले मात्रै सिंगो संगठनलाई छुन्छ । निर्मलाको घटनाले भने प्रहरी संगठनलाई नै हल्लाइदिएको छ । सडकमा गृहमन्त्रीको राजीनामा मागिएको छ, यसलाई राजनीतिक नेतृत्वले घटनाको राजनीतीकरण भनेर बचाउ गर्ला तर सत्तापक्षले प्रहरी महानिरीक्षकको राजीनामा मागेर ज्ञापनपत्र बुझाएको छ । यो सामान्य घटना होइन । निश्चय नै प्रहरी महानिरीक्षकले चिनेका ‘कीरा’ यसका कारक हुन् । 

महानिरीक्षक खनालले केही दिनअघि एउटा दाबी गरे– नेपाल प्रहरी विश्वकै उत्कृष्ट हुन सक्छ । उनको दाबी प्रतिरक्षा वा आत्मरतिको अभिव्यक्ति होइन । नेपाल प्रहरीले निकै ठूला र रहस्यमय मानिएका थुप्रै घटनामा सफलता हात पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भनेझैँ बाह्र वर्षमा पनि अपराधी पत्ता लगाएको छ । कति घटनाहरू रहस्यकै गर्भमा पनि छन् तर नेपाल प्रहरीले व्यावसायिक कुशलता प्रमाणित गरेको हो । नेपाल प्रहरीको इतिहास बद्नाम होइन । धेरै प्रहरी अधिकृतहरूले आफ्नो कुशलता प्रमाणित गरेर संगठनको प्रतिष्ठा बढाएका हुन् । फरक यति हो कोही सार्वजनिक प्रचारमा आए कोही आएनन् ।  

संगठन बलियो बनाउने त्यहाँभित्रको व्यक्तिको इच्छाशक्ति, इमानदारी र कार्य कौशलले नै हो । बद्नामी पनि ठिक विपरीत चरित्रका कारणले भित्रैबाट हुन्छ । भनिन्छ नि, वर्षौमा कमाएको इज्जत छिनभरमै नष्ट हुन्छ । दुर्नामी छिनभरमै व्यापक हुन्छ । नेपाल प्रहरी यतिबेला ठिक यस्तै अवस्थाबाट गुज्रिएको छ । महानिरीक्षक खनाल आफूले चिनेका ‘कीरा’ टिपेर फाल्न कति सफल होलान् त्यो चाँडै देखिने नै छ तर संगठनको प्रतिष्ठा जोगाउने जिम्मेवारीबाट उनी भाग्न पाउँदैनन् । उनी प्रहरी संगठन सिंगै बेइमान होइन, साह्रै थोरै व्यक्ति खराब हुन्, त्यो उसको व्यक्तिगत दोष हो, संगठनको होइन र उसले दोषबाट उन्मुक्ति पाउँदैन भन्ने प्रमाणित गर्नुपर्ने बिन्दुमा छन् ।   





Views: 82

सम्बन्धित सामग्री:

श्रीलंकाको शिक्षा

: Sunday, 16 December, 2018 (6:24:33 PM)

अस्थिर शेयर बजार

: Thursday, 13 December, 2018 (2:07:34 PM)