19th October | 2018 | Friday | 4:20:33 AM

विवादको भुमरीमा कांग्रेस

  POSTED ON : Friday, 12 October, 2018 (1:05:59 PM)

विवादको भुमरीमा कांग्रेस

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यसै साताको बैठकले सरकार असफल भएको निष्कर्ष निकाल्यो । कांग्रेसले खासगरी शान्तिसुरक्षा र महँगी नियन्त्रणमा सरकारको असफलता देखाएको छ । सरकारका कतिपय निर्णयहरूमा असन्तुष्टि जनाएको छ । अर्थात, सरकार सुशासन कायम गर्न असफल भएको कांग्रेसको ठहर छ । सरकार कतिपय मामलमा प्रभावकारी हुन नसकेको भन्दै विभिन्न कोणबाट आलोचना हुँदै आएको छ । सरकारको प्रभावकारिता नेताहरूले देखाएको सपनाअनुकूल हुन सकेन, दुई तिहाई बहुमतअनुसारको प्रभाव देखिएन भन्ने टिप्पणी हुँदै आएको छ । यस्तो अवस्थामा मुख्य विपक्षी दलका हैसियतमा रहेको कांग्रेसले सरकारको खोट देख्नु स्वाभाविकै हो । आखिर विपक्षीको धर्म सरकालाई खबरदारी गर्नु नै हो ।  

यहाँ विपक्षी दल कांग्रेस आफूचाहिँ कुन अवस्थामा छ भन्ने कुरा महŒवपूर्ण हुन्छ । संसदीय राजनीतिमा शक्ति सन्तुलनका हिसाबले विपक्षी दल अभूतपूर्व रूपमा कमजोर छ । यतिबेला कांग्रेस आफ्नो इतिहासमै सबैभन्दा कमजोर अवस्थामा छ । संसदमा विपक्षको उपस्थिति नगन्य देखियो । संसदीय व्यवस्थामा विपक्षी दल वैकल्पिक सरकार हो । ऊ सधैँ सरकारलाई हाँक दिने अवस्थामा हुनुपर्छ । यसो भएमात्र संसदीय व्यवस्था बलियो हुन्छ भन्ने मानिन्छ । मुख्य विपक्षी नेपाली कांग्रेसले यस्तो अनुभूति दिन सकेको छैन । आखिर किन त ? किनभने कांग्रेस आफ्नै भुमरीमा रुमलिएको छ । आन्तिरिक विवादहरूबाट बाहिर आउन सकेको छैन । वहस र छलफलमा होइन द्वन्द्वमा अल्झिने गरेको छ । 

कांग्रेस विधानको विवादमा छ । अधिकांश भ्रातृ संगठनहरू चर्को आन्तरिक विवादमा छन् । वर्तमान र भविष्य दुवैका लागि पार्टीको जग मानिने विद्यार्थी संगठन विवादबाट कहिल्यै बाहिर आउन सकेको छैन । न पार्टीले मिलाउन सक्छ न संगठन आफैँले । पार्टीमा वादविवाद, वहस र प्रतिस्पर्धा स्वाभाविक हुन्, मानव स्वभावका अंग हुन् । तर, समस्याहरू सुल्झिँदै जानुपर्छ । निर्धारित प्रणालीबाट विवादहरू टुंगो लाग्दै जानुपर्छ । यति कुरा कांग्रेस नेताहरूले नजानेका नबुझेका पनि होइनन् । विवादकै कारण केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । नेतृत्वले पार्टीलाई विवादको भुमरीबाट बाहिर ल्याउन सकेको छैन । 

संख्यात्मक मात्रै होइन आन्तरिक रूपमा बलियो विपक्षी दलले मात्रै सरकारलाई खबरदारी गर्न सक्छ । कांग्रेस यतिबेला पार्टी विधान बनाउने र परिवर्तित राजनीतिक संरचनाअनुसार संगठन पुनर्निर्माणको क्रममा छ । यस अवस्थामा नेतृत्वले उदारताका साथ छलफल चलाउनु पर्छ । अधिकतम छलफलबाट विवादहरू निरूपण गर्न सक्नुपर्छ । आफूमा विपक्षी आवाज सुन्न नसक्ने पार्टीका नेताहरूले सरकारलाई हाँक दिन सक्दैनन् । सरकार सञ्चालनको जिम्मेवारीमा नरहेको अवस्थामा पनि आन्तिरिक विवादहरू सुल्झाउँदै संगठन सुदृढ गर्न नसक्ने दलले आफ्नो पालामा सरकार पनि प्रभावकारी बनाउन सक्दैन । सत्तामा रहेको पार्टी कमजोर हुँदै गएको त नेताहरूले देखेभोगेकै छन् । कांग्रेसलाई अहिले एउटा अवसर पनि हो संगठन बनाएर तयार हुने । 






Views: 18

सम्बन्धित सामग्री:

स्वस्थ मासुका लागि

: Monday, 15 October, 2018 (2:43:47 PM)

जनमतको उपहास नगर

: Thursday, 11 October, 2018 (2:23:00 PM)