21st November | 2018 | Wednesday | 10:20:30 AM

नेकपाको अनपेक्षित अलमल

  POSTED ON : Thursday, 25 October, 2018 (6:03:38 PM)

नेकपाको अनपेक्षित अलमल

सत्तारुढ नेकपा केन्द्रीय तहमुनिका निकायहरूको एकीकरणमा अल्झिँदै जाँदा आन्तरिक विवाद पनि गाढा हुँदै गएको छ । पार्टी र सरकारबीचको सीमारेखा लोप हुन थालेको छ । पार्टीको क्रियाशील निकायका नाममा केन्द्रीय सचिवालय एक्लै सक्रिय छ । सातवटा प्रदेश कमिटीमा चारजना पदाधिकारी तोकिएका छन् तर वरिष्ठ नेता माधवकुमार नेपालले उक्त निर्णयमा असहमति प्रकट गरेका छन् । प्रदेश कमिटी पूर्ण नहुँदा क्रियाशील हुन सकेको छैन । प्रदेशमुनिका निकायहरूको एकीकरणको केही टुंगो लागेको छैन । सचिवालय बैठक ठोस निर्णयमा नपुग्ने र सर्दै जाने क्रम चलेको छ । 

दुई ठूला पार्टीको एकीकरण प्रक्रिया लामो हुनु र यसले केही बढी समय लिनु धेरै अनौठो र अस्वाभाविक होइन तर यस्तो समय पनि सीमाहीन अवश्य हुँदैन । केन्द्रमा एकीकरण घोषणा भएको पाँच महिना पूरा भएको छ । त्यसयताको तीन महिनामा तल्ला कमिटीहरूको एकीकरण पूरा गर्ने भनिएको थियो । पूरा त के सुरुसमेत हुन सकेको छैन । केन्द्रमा आएका धेरैजसो सिफारिसहरू विवादमा परेका छन् । एकीकरण टुंगो नलाग्दा पार्टी कार्यकर्ताहरू अलमलमा परेका देखिन्छन् । निकै व्यवस्थित, सुसंगठित र क्रियाशील मानिएको एकीकरणअघिको एमालेमा नेता–कार्यकर्ताहरू एकीकरणमा भएको अलमलले अधीर देखिन्छन् । 

यो अलमलको असर पार्टी संगठन र क्रियाशीलतामा त परेकै छ सरकारमा पनि उत्तिकै देखिएको छ । हाम्रो प्रणालीमा सरकार पार्टीको मानिन्छ । यतिबेला सरकार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को हो । पार्टी भनेको सबैभन्दा तल्लो तह वडादेखि केन्द्रसम्मका निकायहरू र तिनमा संगठित नेता–कार्यकर्ताहरू हुन् । यसरी संगठित पार्टी निकायहरूले सरकारका कामको प्रचार गर्छन्, आवश्यकताअनुसार सरकारको प्रतिरक्षा र निगरानी पनि गर्छन् । संगठन छरपस्ट हुँदा सरकारको पार्टीको निगरानी र नियन्त्रण कमजोर भएको छ । केन्द्रीय सचिवालय क्रियाशील छ तर पार्टीका एक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली एक्ला र अन्तिम निर्णायक देखिएका छन् । 

यस्तो अवस्थाको असर सरकारको काममा परेको छ । सत्तारुढहरूमा दुई तिहाइ बहुमतको शक्ति छ र यसको प्रयोगमा प्रधानमन्त्री पार्टी संगठनको सहयोगबाट बाहिर छन् । यसकै परिणाम हो प्रधानमन्त्री ओलीले कहिले सरकारको पक्षमा लेख्न–बोल्न, कहिले विपक्षीविरुद्ध अरिंगाल जस्तो खनिन त कहिले मौरीजस्तो हुन आहृवान गर्नु परेको छ । यस्तो अवस्थाले प्रधानमन्त्रीलाई एक्लै अघि बढ्न केही सजिलो त भएको होला तर पार्टी नेता–कार्यकर्ताहरू सरकारका कामको स्वामित्व लिन उत्साहित देखिएका छैनन् । यसले अन्ततः सरकारकै लागि असहज अवस्था सिर्जना गर्छ । यसको नकारात्मक प्रभाव पार्टीमा पर्छ । 

नेकपाको केन्द्रीय सचिवालयका नेताहरू यस्तो अवस्थाबारे जानकार छैनन् भन्ने होइन । एकीकरणमा लामो अलमल किन भइरहेको छ त ? समयको अपेक्षित सीमाभित्र विवादहरूले निकास नपाउँदा चुनावको जनमत जति बलियो छ सरकार त्यति नै प्रभावी नहुन सक्छ । यस्ता लक्षणहरू देखा पर्न थालेका छन् । 


Views: 33

सम्बन्धित सामग्री:

कपडा उद्योग संरक्षण

: Tuesday, 20 November, 2018 (2:55:25 PM)

कता जाँदैछ कांग्रेस !

: Monday, 19 November, 2018 (1:59:43 PM)

निरीह निगम

: Sunday, 18 November, 2018 (6:11:15 PM)