21st November | 2018 | Wednesday | 9:11:22 AM

खोसुवापछिको बाटो के !

  POSTED ON : Sunday, 28 October, 2018 (6:07:16 PM)

खोसुवापछिको बाटो के !

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसएसपी डिल्लीराज विष्ट र इलाका इन्चार्ज इन्स्पेक्टर जगदीश भट्ट बर्खास्तीमा परे । यो कारबाहीपछि अपराध अनुसन्धान कुन दिशातर्फ जाला भन्ने जिज्ञासा उत्पन्न भएको छ । घटनाको प्रारम्भिक अनुसन्धानमै शंका भएपछि सरकारद्वारा गठित छानबिन समिति र प्रहरीका अन्य अनुसन्धान टोलीहरूको साझा निष्कर्ष थियो– घटनाको प्रारम्भिक अनुसन्धानमा गम्भीर लापरबाही भयो, प्रमाण नष्ट गरियो । यही आधारमा दुई प्रहरी अधिकृतलाई गृहमन्त्रालयले बर्खास्त ग¥यो । अबको मुख्य प्रश्न हो– यी दुई प्रहरीले किन प्रमाण नष्ट गरे ? उनीहरू अपराधी जोगाउन संलग्न छन् कि छैनन् ? 

घटनास्थलमा खटिएका प्रहरी अधिकृतलाई प्रमाणको रक्षा कसरी गर्नुपर्छ भन्ने कुरामा सामान्य ज्ञान नहुने होइन । घटनास्थलको सुरक्षा गर्न नसक्दा प्रमाण नष्ट हुने सम्भावना धेरै हुन्छ । निर्मलाको घटनामा यसो भएको होइन भन्ने तथ्यहरू सार्वजनिक भइसकेका छन् । अनुसन्धानमा पर्याप्त सतर्कता नअपनाएर प्रमाण नष्ट गरेको भए उनीहरूमा व्यावसायिक दक्षता अभाव रहेको मान्नुपर्छ । अपराधी जोगाउन प्रमाण नष्ट गरेको हो भने त्यस्ता प्रहरी अधिकृतलाई नै अपराधी मान्नुपर्छ । अपराधीबारे जानकारी भएकै कारणले प्रमाण नष्ट गरेको भन्ने मान्नुपर्छ । यी दुवै अवस्थामा उनीहरू कारबाहीको कानुनी दायरामा आउनै पर्ने थियो । बर्खास्ती भएको छ । अर्को प्रश्न हो– उनीहरूलाई नियन्त्रणमा लिएर थप खोजी÷अनुसन्धान हुन्छ कि यतिकैमा टुंगिन्छ ?

बलात्कार र हत्याको यो घटनामा सरकार निरीह सावित भएको छ । सरकारलाई प्रारम्भिक अनुसन्धानदेखि नै स्थानीय प्रहरी अधिकारीले गुमराहमा राखेको प्रस्ट भइसकेको छ । एसएसपी विष्ट र इन्स्पेक्टर भट्ट बर्खास्तीमा पर्नुले घटनाको अनुसन्धान निष्कर्षतिर अघि बढ्छ, अपराधीहरू फेला पर्छन् भन्ने आशा पनि जगाएको छ । यससँगै दुईजना प्रहरीको खोसुवा खास अपराधी जोगाउने प्रपञ्च त होइन भनेर शंका पनि प्रकट भएको छ । यस्तो शंका निवारण गरेर अनुसन्धान टुंगोमा पु¥याउन सरकारले कुनै कसर बाँकी राख्नु हुन्न । स्थानीय प्रहरी अधिकारीले किन अपराधी पत्ता लगाउने प्रमाण नष्ट गरे ? आफूले चिनेका अपराधी जोगाउन कि आफूभन्दा माथिल्लो निकाय वा राजनीतिक दबाबमा गरे ?

अबको अनुसन्धान यिनै प्रश्नहरूमा केन्द्रित हुनुपर्छ । यसो नभए यो खोसुवा खास अपराधी जोगाउने प्रपञ्च पो हो कि भन्ने शंकामा बल पुग्नेछ । 


Views: 67

सम्बन्धित सामग्री:

कपडा उद्योग संरक्षण

: Tuesday, 20 November, 2018 (2:55:25 PM)

कता जाँदैछ कांग्रेस !

: Monday, 19 November, 2018 (1:59:43 PM)

निरीह निगम

: Sunday, 18 November, 2018 (6:11:15 PM)