21st November | 2018 | Wednesday | 9:18:55 AM

बढ्दो आयातको खतरा

  POSTED ON : Monday, 29 October, 2018 (1:54:48 PM)

बढ्दो आयातको खतरा

हाम्रो मुलुक नेपालमा ७० प्रतिशतभन्दा बढी मानिस प्रत्यक्षरूपमा कृषि पेसामा छन् । उत्पादन नहुने अन्न, तरकारी, फलफूल केही पनि छैन भन्दा अत्युक्ति हुँदैन । सिंगै तराई अन्नको भण्डार मानिएको छ । पहाडी क्षेत्रमा पनि अन्न उत्पादन हुन्छ । तरकारी उत्पादन नहुने कुनै ठाउँ छैन । पहाडी क्षेत्र फलफूलमा प्रख्यात छ । पशुपालनमा यहाँको हावापानी उत्कृष्ट छ । जनसंख्याको यति ठूलो हिस्सा कृषिमा रहँदा र उत्पादनको भारी सम्भावना रहँदा पनि नेपालले ठूलो परिमाणमा कृषि उत्पादन आयात गर्नुपरेको छ । 

चालु आर्थिक वर्ष २०७५÷०७६ को पहिलो तीन महिनामा कृषि उत्पादनमात्रै ३६ अर्ब २० करोड रुपैयाँभन्दा बढीको आयात भएको छ । चामलमात्रै ७ अर्ब ३६ करोडको आयात भएको छ, तरकारी झन्डै ७ अर्बको । फलफूल, दुग्ध पदार्थ र माछा–मासु पनि निकै ठूलो परिमाणमा आयात भएको छ । यी सबैमा हाम्रो मुलुक आत्मनिर्भर हुनुपर्ने हो, आफूलाई पुगेर निर्यात हुनुपर्ने हो । यहाँ त उल्टै आयात गर्नुपरेको छ र वर्षेनी बढ्दो छ । कृषिबस्तुको आयात बढ्नुले समग्रमा मुलुकमा उत्पादन घटेको देखाउँछ । 

यस वर्ष धान उत्पादन बढ्ने अनुमान गरिए पनि पुग्ने गरी हुने छैन । फेरि पनि चामल आयात गर्नै पर्नेछ । पाँच वर्षभित्र कृषि उत्पादनमा आत्मनिर्भर बन्ने सरकारको निकै महŒवाकांक्षी लक्ष्य छ तर लक्ष्य पूरा हुन्छ भनेर विश्वास गर्ने आधार खडा हुन सकेको छैन । एकातिर तराईमा अव्यवस्थित शहरीकरणले खेतीयोग्य जमिनको क्षेत्रफल घट्दैछ भने अर्र्कातिर पहाडमा खेतीको जमिन बाँझिन थालेको छ । खेतीको जमिन घट्ने तर उत्पादकत्व नबढ्ने भएपछि बढ्दो जनसंख्यालाई अभाव हुने नै भयो । यस्तो अवस्थामा आयात नगरी धरै छैन । 

यता उत्पादन नहुने औद्योगिक वस्तु र पेट्रोलियमको आयात त बाध्यता नै हो । यो आयात पनि बढ्दो क्रममा छ । यसैको परिणाम हो बढ्दो व्यापारघाटा । यतिबेला झन्डै एक वर्षको राष्ट्रिय बजेट जतिको परिमाणमा व्यापारघाटा छ । सन्तुलनको उपाय निर्यात वृद्धि हो । निर्यात बढाउन उत्पादन बढाउनु पर्छ । हामीले बढाउन सक्ने उत्पादन कृषि नै हो तर कृषिमै उत्पादन घट्दै गएको छ । अन्तर्राष्ट्रिय मुद्रा अमेरिकी डलरको निरन्तरको अधिमूल्यनले व्यापारघाटामा झन् बढोत्तरी गरेको छ । आयात वृद्धिको हाम्रो अवस्था निकै भयावह छ ।

यस्तो अवस्थाबाट पार नपाए समृद्धि सम्भव छैन । समृद्धिका लागि उत्पादन बढ्नु पर्छ । यसमै रोजगारी सिर्जना हुन्छ । कृषिबाट पलायन हुनेको संख्या बढ्दो छ । कृषिमा आश्रित हाम्रो जनसंख्या आवश्यकता भन्दा निकै ठूलो हो तर औद्योगिक विकास हुन नसक्दा कृषिबाट पलायन भएको जनशक्ति या त बेरोजगार भयो या विदेश गयो । कृषिमा परम्परागत प्रणालीको बाहुल्य, सिँचाइ र उन्नत बीउको अभाव जस्ता कारणले कृषिमा आकर्षण घट्दो छ । यस्तो अवस्थाको बेलैमा सम्बोधन हुन नसके हाम्रो देश कृषि उत्पादन झन् बढी आयात गर्नुपर्ने बाध्यतामा पुग्नेछ । सुधार गर्ने ठाउँ छ । सरकारले बेलैमा ध्यान देओस् । 


Views: 53

सम्बन्धित सामग्री:

कपडा उद्योग संरक्षण

: Tuesday, 20 November, 2018 (2:55:25 PM)

कता जाँदैछ कांग्रेस !

: Monday, 19 November, 2018 (1:59:43 PM)

निरीह निगम

: Sunday, 18 November, 2018 (6:11:15 PM)