19th November | 2018 | Monday | 3:10:38 AM

काल पल्किने डर

  POSTED ON : Thursday, 01 November, 2018 (2:00:27 PM)

काल पल्किने डर

सर्लाही जिल्लाको रामनगर गाउँपालिकामा सत्तारुढ नेकपा र मुख्य विपक्षी नेपाली कांग्रेसका कार्यकर्ताबीच हिंसात्मक झडप भयो । नागरिकता सिफारिसका विषयमा वडा अध्यक्षसँग भएको विवादले उग्ररूप लिएपछि भएको झडपमा मंगलबार एक कांग्रेस कार्यकर्ताको ज्यान गयो । सत्तारुढ नेकपाका कार्यकर्ताले गोली चलाएको कांग्रेसको आरोप छ । यो सबैभन्दा पछिल्लो हिंसात्मक घटना हो । गत असोज पहिलो साता सुनसरीको हरिनगर गाउँपालिकामा नेकपाका स्थानीय नेता खुर्सिद अन्सारीको गोली हानी हत्या भयो । आक्रमणकारीहरू भारततर्फ भाग्न सफल भए । भदौ अन्तिम साता रोल्पा सदरमुकाम लिवाङमा स्थानीय कांग्रेस कार्यकर्ता रोहित पुन मारिए । उनलाई पनि सत्तारुढ दलका कार्यकर्ताले गोली हानेको आरोप छ ।  

ससाना विवादमा ज्यानै जाने यस्ता घटना महिनैपिच्छे कतै न कतै भएकै छन् । बालात्कार हत्याका घटनामात्रै होइन, राजनीतिक रङका देखिने यस्ता घटनाले शान्ति सुरक्षाको अवस्थाबारे प्रश्न खडा गर्छन् । यस्ता घटना फाटफुट जस्ता लागे पनि काल पल्कने डर बढ्छ । सत्तारुढ र विपक्षी दलका मानिसबीचका झडपले अनायसै उग्ररूप लिने सम्भावना बढी हुन्छ । सत्ताको दम्भ देखिने र विपक्षीमा ‘के कम’ भन्ने प्रतिशोध उत्पन्न हुने अवस्थामा घटना उग्र बन्छ । संयमको अभाव अर्को एउटा कारण हो । कुनै विवाद हिंसामा परिणत हुनुअगावै समाधान गर्नेतर्फ दुवै पक्ष गम्भीर नभइदिँदा परिणाम अप्रिय हुन्छ । सर्लाहीको घटना यस्तै प्रकृतिको हो । 

उपयुक्त तीनवटै घटनामा गोली चलेको छ । ससाना घटनामा पनि गोली चलेर ज्यानै जाने अवस्था आउनु लुकाउन सजिला साना हतियारको सहज उपलब्धता नै हो । साना हतियार नियन्त्रण सुरक्षा व्यवस्था चुनौतीपूर्ण बन्दै गएको छ । यस्ता हतियार नियन्त्रण कठिन हुनुमा भारतसँगको खुला सिमाना पनि एक कारण हो । साना हतियार पूर्णतः नियमन र नियन्त्रण नभएसम्म यस्ता घटना भइरहन्छन् । 

सुरक्षा व्यवस्थामा प्रदेश सरकारले काम गर्न पाएको छैन । केन्द्रीय प्रहरीसँगै प्रदेशको छुट्टै प्रहरी हुने संवैधानिक व्यवस्था रहे पनि यससम्बन्धी संघीय कानुन नबन्दा कार्यान्वयन हुन सकेको छैन । प्रदेश २ ले प्रदेश प्रहरीसम्बन्धी कानुन पारित गरेपछि संघ र प्रदेशबीच विवाद उत्पन्न भएको छ । प्रदेशमा भएको घटनामा प्रदेश सरकारले जिम्मेवारी लिन सक्ने अवस्था छैन । किनभने नागरिक सुरक्षाको जिम्मेवारी लिएको प्रहरी उसको नियन्त्रणमा छैन । कञ्चनपुरमा निर्मला पन्तको बलात्कार र हत्याको घटनामा प्रदेश सरकार कतैबाट पनि जोडिन आएन । कसैले पनि प्रदेश सरकारसँग सुरक्षा मागेन ।  

फरक पार्टीका राजनीतिक कार्यकर्ताबीच हिंसात्मक झडप हुन नदिन स्थानीय नेतृत्व सजग र संयमी बन्न आवश्यक छ । केन्द्रीय नेतृत्वले यस प्रकारले स्थानीय नेता–कार्यकर्तालाई प्रशिक्षित गर्नु जरुरी छ । अनि, कुनै राजनीतिक रङबिना घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुनुपर्छ । राजनीतिक आधारमा दोषीले संरक्षण र उन्मुक्ति पायो भने शान्तिसुरक्षा कठिन हुँदै जान्छ । 


Views: 57

सम्बन्धित सामग्री:

निरीह निगम

: Sunday, 18 November, 2018 (6:11:15 PM)

कर्मचारी खटनको सकस

: Friday, 16 November, 2018 (2:46:28 PM)

स्वरोजगार कर्जा

: Thursday, 15 November, 2018 (1:30:08 PM)