19th November | 2018 | Monday | 3:13:49 AM

जिम्मेवार को ?

  POSTED ON : Friday, 02 November, 2018 (2:21:41 PM)

जिम्मेवार को ?

यसै साता राजधानी काठमाडौंमा सडक किनारामा ढकन खुला रहेको ढलमा खसेर एकजनाको मृत्यु भयो । मर्मतका लागि वा जुनसुकै कारणले होस्, ढलको ढकन खुला राख्नु लापरवाहीको पराकाष्ठा हो । जुन निकायले ढकन खोलेको हो उसले सम्भावित दुर्घटनाको ख्याल राख्नुपथ्र्यो । ढकन बन्द गर्नु पथ्र्यो वा प्रस्ट देखिने गरी खतराको चेतावनी दिने संकेत राख्नु पथ्र्यो, केही पनि छैन । सबैभन्दा अचम्मको कुरा के छ भने जिम्मेवारी लिने निकाय कुनै पनि छैन । एउटा नागरिक सडकमा हिँड्दा खुला राखिएको ढलमा खसेर मर्दा भने कोही न कोही त जिम्मेवार हुनुपर्ने हो । 

राजधानी शहरमै स्कुले विद्यार्थी ढलमा बग्छन्, सडकमा खाल्टामा सवारीसाधन फस्छन् । पानी पर्दा पिच सडक सबै हिलाम्मे हुन्छ र घाम लाग्दा खपिनसक्नु धुलो हुन्छ । मानवीय क्षतिको घटना हुँदा सडकका सबै खाल्डा परिसक्ने म्याद जारी गर्छ सरकार तर कहिल्यै पुरेर सकिँदैनन् । सडक र यससँग सम्बन्धित संरचनाहरू मर्मत सम्भार गरिरहनु पर्छ । यसो गर्दा सवारी साधन र पैदलयात्रुको आवागमनमा असर पर्न सक्छ । यस्तो अवस्थामा दुर्घटना हुन नदिन पर्याप्त सतर्कता अपनाउनु पर्छ । हो, रातारात काम सकिँदैन तर काम नसकिँदासम्म सम्भावित दुर्घटना रोक्ने उपाय अपनाउनै पर्छ । कोही न कोही जिम्मेवार हुनैपर्छ । 

सडकमा धेरै निकाय जोडिन्छन् । खानेपानी, ढल निकास, विद्युत, दूरञ्चार आदि निकायले आआफ्ना मर्मतसम्भारका क्रममा सडक खन्छन्, खोल्छन्, भत्काउँछन् । यस क्रममा सडकमा पुगेको क्षति हेर्ने र मर्मत गर्ने निकाय कुन हो भन्ने प्रस्ट छैन । एकीकृत प्रणाली छैन । जस लिन सबै अग्रसर हुने तर अपजसमा पन्छिने प्रवृत्ति हुन्छ । अपजस लिन कोही तयार हुने कुरै भएन किनभने जिम्मेवार को हुनुपर्ने हो भन्ने प्रस्ट छैन । यसो हुँदा एउटाले अर्कालाई देखाउन सजिलो भएको छ । त्यसैले कसैले मेरो जिम्मेवारी हो भन्दैन, कोही जिम्मेवार हुनु पर्दैन । यो अव्यवस्था हो । नागरिकप्रति राज्यको गैरजिम्मेवारी हो ।   

राज्यका निकायहरूका लापरवाहीका कारण कुनै क्षति हुन्छ भने त्यसको जिम्मेवारी राज्यले लिनुपर्छ । पीडितलाई क्षतिपूर्ति दिनुपर्छ । जबसम्म लापरवाहीको खोजी हुँदैन, कोही जिम्मेवार हुनु पर्दैन तबसम्म यस्ता घटनाहरू भइरहन्छन् । राज्यका निकायहरू नागरिकप्रति उत्तरदायी हुनुपर्छ । जिम्मेवारी लिनैपर्छ । पन्छिनु उत्तरदायी राज्य प्रणाली होइन । यति कुराको हेक्का राख्ने राज्यका निकायहरूले मात्रै आफ्नो उत्तरदायित्व बोध गर्न सक्छन् । 


Views: 49

सम्बन्धित सामग्री:

निरीह निगम

: Sunday, 18 November, 2018 (6:11:15 PM)

कर्मचारी खटनको सकस

: Friday, 16 November, 2018 (2:46:28 PM)

स्वरोजगार कर्जा

: Thursday, 15 November, 2018 (1:30:08 PM)